0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) र हिमालय क्लब बाटुलेचौरको संयुक्त आयोजनामा शनिबार भएको मधुमेह तथा मृगौला सम्बन्धी निःशुल्क रक्त तथा पिसाब परीक्षणमा सात सय तीन जनानको निःशुल्क परीक्षण गरिएको छ। पोखराको न्यूरोड गिरी कम्प्लेक्समा रहेको युआरएलले २०७३ साललाई ‘मृगौला वर्ष’ घोषणा गरी वर्षैभरि विभिन्न संस्थासँगको सहकार्यमा निःशुल्क शिविर आयोजना गर्ने क्रममा शिविर गरेको हो। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ फिजिसियन डा मुकुन्दप्रसाद आचार्यले रक्त परीक्षणलगायतबाट जटिल रोगहरूको पहिचान गरेरमात्र औषधि सेवन गर्न आग्रह गरे। उनले पोखरामै युआरएलजस्तो अध्याधुनिक ल्याब सञ्चालन हुँदा जटिल रोगहरूको उपचारमा सहजता थपिएको बताए। युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले नेपालमै नभएका परीक्षणसमेत पोखरामै उपलब्ध गराएर यो क्षेत्रलाई प्रयोगशाला क्षेत्रमा आत्मनिर्भर बनाउने प्रयास गरिएको बताए। उनले ह्दयघातसम्बन्धी रक्त परीक्षण एन्टीप्रो बिएनपी, फोक्सोको क्यान्सर सम्बन्धी परीक्षण साइप्रा २१.१ र थाइराइडको विशेष प्रकारको परीक्षण एन्टीटी एसएचआर नेपालमा युआरएलमा मात्र हुने जानकारी दिए। कार्यक्रममा गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसी, हिमालय क्लबका अध्यक्ष जीवनारायण श्रेष्ठ, सचिव मोहन बहादुर थापालगायतले बोलेका थिए। क्लबका स्वास्थ्य संयोजक दुर्गा केसी थापाको अध्यक्षतामा भएको शिविरमा रक्त परीक्षणका लागि २२ प्रविधिकले सहयोग गरेका थिए। परीक्षणको रिपोट मंगलबार हिमालय क्लब परिसरमै उपलब्ध गराइने बताइएको छ।

Post a Comment

 
Top