0
गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका संसद विकास समितिका सभापति एवं सभासद् अधिकारीले महिला र पुरुष सँग–सँगै भन्ने सिद्धान्तलाई लिएर कुनै पनि काम सफलपार्नका लागि महिलाहरुलाई अगाडि बढाएर लैजानुपर्नेमा जोड दिएका छन् । अनन्ता सामुदायिक सेवा समिति पोखरा २ ले प्रकाशन गरेको अनन्ता सामुदायिक स्मारिका २०७३ को शनिबार लोकार्पण गर्दै सभासद् अधिकारीले अबको संसारमा अगाडि बढ्नका लागि महिलाहरुको भूमिका अपरिहार्य रहेको बताउँदै अनन्ता सामुदायिक संस्थाका महिलाहरुलाई प्रसंसाको पात्र रहेको बताए । कार्यक्रममा सभासद् शारदा पौडेलले संस्थाको अग्रगामी सोंच भएको र यसले राष्ट्रिय क्षेत्रमा समेत चिनारी दिन सफल भएको बताउँदै अनन्ता एउटा नामले मात्र नभएर सबै यसमा आवद्ध महिलाहरुले गरेको काम स्मरणीय रहेको बताइन । उनले अन्य टोल, समाज, संघ–संस्थाका महिलाहरुले पनि संस्थाको सिको गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय उच्च माविका प्राचार्य कृष्ण उदासीले स्मारिकाको बारेमा चर्चा परिचर्चा गर्दै संस्थाका महिला दिदीबहिनीहरुको योगदान, क्षमता र सिपको उदाहरण देखाउन खोजिएका लेख, कविता, रचना, अनुभूतिहरुलाई स्मरण गर्दा अबको संसार रहस्यमय होइन बुझिने हुनुपर्ने बताए । उनले यसमा समेटिएका कुराहरु आमाको महिमा, नारीको महिमा, सामाजिक विसंगति, सरल, सहज र सुगम विषयवस्तुको ज्ञान दिंदै महिलाहरु अहोरात्र खटिएको बताउँदैै स्मारिकाको चर्चा गरेका थिए । संस्थाकी अध्यक्ष विजया चञ्चला रेग्मीले अनन्ता समुदायिक सेवा समितिले महिलाहरुको हक हितको लागि २०५४ सालदेखि संस्था गठन गरी निरन्तरता दिंदै आएको र यसको भूमिका महिलाहरु मात्र नभई पुरुषहरुको पनि सहयोग रहेको बताइन । कार्यक्रममा प्रधान सम्पादक संस्थापक अध्यक्ष सुशीला पराजुली, साहित्यकार तेजनाथ घिमिरे, पूर्व उपप्राध्यापक चुडामणि खनाल लगायतका वक्ताहरुले संस्थाका महिलाहरुको योगदानको बारेमा चर्चा गरेका थिए । संस्थाका उपाध्यक्ष शर्मिला रेग्मीले स्वागत, सचिव रंगीता सुवेदीले कार्यक्रम संचालन गरेकी थिइन ।

Post a Comment

 
Top