0
मिजुरेडाँडा गाउँविकास समितिमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि  अपाङ्गता अधिकार विषयक अभिमुखीकरण कार्यक्रम आयोजना गरियो । अपाङ्गता उत्थान समिति मिजुरेडाँडाको आयोजना तथा मिजुरेडाँडा गाउँ विकास समितिको आर्थिक सहयोगमा शुक्रबार आयोजित कार्यक्रम संस्थाका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षता सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् तथा दृष्टिविहिन अधिवक्ता श्रीकान्त सापकोटा दुर्गम इलाकामा रहेका अपाङ्गता भएका व्यक्तिहरु आफ्नो अधिकारबाट बञ्चित रहेको सकारात्मक, सामाजिक व्यवहार र सामाजिक अविश्वासका कारण बञ्चितीकरणमा परिरहेको र बनेका नीति नियमहरुको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । उनले सकारात्मक सोचका साथ एक आपसमा सहयोग आदान–प्रदान गर्दै वर्गीय उत्थानमा लाग्नुपर्नेमा जोड दिए । 
संस्थाका अध्यक्ष शिवराज अधिकारीले आफ्नो गाउँ कास्की जिल्लाको कर्णाली क्षेत्रका रुपमा रहेको यहाँका झण्डै ७३ जना अपाङ्गता भएका व्यक्तिहरु परिचय पत्रबाट बञ्चित रहेको तथ्यांक प्रस्तुत गरे । कार्यक्रममा गा.वि.स. सचिव ऋषिराम सुवेदी, संस्थाका सचिव रुकी अधिकारी, दलित प्रतिनिधि सुलबहादुर परियार, जनजाति प्रतिनिधि सन्तमाया गुरुङ्ग, वडा संयोजकहरुको तर्फबाट बाबुराम अधिकारी लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले आफूहरुलाई ग्रामीण क्षेत्रमै सिपमूलक तथा व्यावसायिक तालिमहरु सञ्चालन गरिनुपर्ने, जिल्ला विकास समितिको अपाङ्गता क्षेत्रअन्तर्गतको बजेटबाट आफूहरु पनि लाभान्वित हुनुपर्ने र यातायात क्षेत्रमा ४५ प्रतिशत सहुलियत भएपनि कच्चीबाटोमा सहुलियत नपाएको पक्की बाटोमा पनि २५ प्रतिशतभन्दा बढी प्राप्त हुन कठिन भएको तथा बसमा अपाङ्ग आरक्षण सिट समेत आफूहरुले सहज रुपमा पाउन नसकेको गुनासो गरेका थिए ।



Post a Comment

 
Top