0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिका कार्यालयले मापदण्ड विपरित घरको छतबाट बर्षातको पानी बाहिर फाल्नेगरि जडान गरिएका पाइपहरु काट्न शुरु गरेको छ । बर्षातको समय घरको छतबाट झरेको पानीले पैदलयात्रुलाई सास्ती हुने भएकाले उप–महानगरपालिका ले बर्षात शुरु नहुँदै पाइप काट्न शुरु गरेको हो । पोउमनपाले यसअघि पनि उक्त अभियान संचालन नगरेको होइन, तर नपाकै कर्मचारीको वेवस्ताका कारण केही वर्ष अघि शुरु भएको यो अभियानले मूर्तरुप पाउन सकेको थिएन । उप–महानगरपालिकाले बुधवार पहिलो चरणमा पोखरा–४, सर्वेश्वर मार्ग र सिद्धार्थ मार्गस्थित नारायण पराजुलीको घरका ४ वटा, ध्रुव कोइरालाको घरका २ वटा, दुर्गामान बुद्धाचार्यको घरका २ वटा लगायत महेन्द्र पराजुली, बसन्त पराजुली, मदन गुरुङ्, बच्कुरा मिया, देवी पराजुली, कृष्ण प्रसाद पराजुली, हरि प्रसाद पराजुली, भद्र कुमारी शेरचन, रामचन्द्र खुस्वु, उत्तमराज घिमिरे, पुरुषोत्तम घिमिरे, झलकलाल कायस्थको १५ वटा घरको कुल ४४ वटा पाइप काटेको जनाएको छ । 
साथै, बर्षातको समय घरको छतबाट झरेको पानीले पैदलयात्रु बटुवालाई सास्ती हुने भएकाले तत्काल त्यस्ता पाइपहरु घरधनी आफैले हटाउन उप–महानगर पालिकाले अनुरोध समेत गरेको छ । अन्यथा, स्थानीय स्वायत्त शासन ऐन अनुरुप कार्वाही प्रक्रिया अगाडि बढाउने सुरक्षा तथा निरीक्षण महाशाखा प्रमुख बसन्त चालिसेले बताए । उप–महानगरपालिकाले छतका पाइप काट्ने कार्य निरन्तर जारी रहने बताएको छ । पहिलो चरण अन्तर्गत शहरका मुख्य मार्ग एवम् चोकहरुमा पाइप काटिनेछन् । पोखराको महेन्द्रपुल, नयाँबजार, न्यूरोड, सिदार्थचोक, पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, नाकढुङ्गा लगायतका स्थानमा मापदण्ड विपरित छतमा जडान गरिएका पाइप उप–महानगरपालिकाले काट्नेछ । अन्य भित्री गल्लीहरुमा समेत अनुगमन र गुनासोको आधारमा प्राप्त सूचना अनुसार पाइप काटिने निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले जानकारी दिए ।








Post a Comment

 
Top