0
गोल्डेन न्यूज संवाददाता
व्यवस्थापिका संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुँदै थियो । सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेश हुन भयो । नीति तथा कार्यक्रममा पोखराको दीर्घकालीन महत्वको योजना भने सरकारको प्राथमिकतामै परेन । आर्थिक बर्ष २०७३÷७४ का लागि बनेको योजनामा कास्कीका महत्वपूर्ण योजना नपरेपछि पेट पोलेछ नेपाली कांग्रेसका नेता तथा कास्कीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद यज्ञबहादुर थापाको । उनले ३० गतेको छलफलमै पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन हल र क्षेत्रीय बसपार्कलाई महत्व दिन सरकारलाई सुझाए । तर, सरकारले सुनेन । त्यो दिन उनको पेट पोलोस् वा रिसको पारो चढोस्, उनले थप विषय राख्न पाएनन् । यद्यपि, उनले अर्को दिनको समय कुरे । भोलिपल्ट अर्थात् ३१ गते शुक्रबार उनले सदनमा आफ्नो कुरा राख्न समय मागे । उनले जंगिदै प्रश्न गरे प्रधानमन्त्री ओलीलाई–‘पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन हल र क्षेत्रीय बसपार्कको योजना खै?’ संघीयतामा गएपछि पोखरा प्रदेश नम्बर ४ को निर्विवाद राजधानी बन्ने भन्दै उनले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन हल र क्षेत्रीय बसपार्कको खाँचोलाई सदनमै दर्ज गरे । सोको लागि पूर्वाधार समेत बनिसकेको थापाले दावी गरे । उनको मागप्रति प्रधानमन्त्रीले पनि मुन्टो हल्लाउँदै समर्थन जनाए र सरकारको ध्यान गएको बताए । नेता थापाले अन्तर्राष्ट्रिय सम्मेलन हलका लागि लेखनाथ–५ को सिलिङ्गे बगैँचामा पाँच सय पचास रोपनी जग्गा उपलव्ध भइसकेको समेत जानकारी दिए । सोका लागि सम्भाव्यता अध्ययन भएर फाइल शहरी विकास मन्त्रालय अन्तिम चरणमा पुगेको उनको भनाई छ । थापाका अनुसार सरकारले थोरै मात्र पहल गर्दा योजना सजिलै र छिटै नै पुरा गर्न सकिन्छ । क्षेत्रीय बसपार्क निर्माणका लागि पनि सम्भाव्यता अध्ययन भएर पोखरा नगर उपत्यका विकास समितिबाट प्रक्रिया अगाडि बढिसकेको छ । लेखनाथ–१३, लामेआहालमा दुईसय ६१ रोपनी जग्गामा बसपार्क निर्माण गर्न थापाले सरकारसँग आग्रह गरे । ३० गतेको बैठकमा प्रधानमन्त्रीले थापाले राखेका मागलाई सम्बोधन नगरेपछि शुक्रबार बसेको व्यवस्थापिकाको बैठकमा पुनः पुरक प्रश्न राख्दै थापाले स्पष्टीकरण माग गरेका थिए । सदनमा थापाको दवावपूर्ण मागपछि योजना सफल हुने आशा जनताले व्यक्त गरेका छन् । थापाको कदमको पनि कस्केली समुदायले खुलेर प्रशंसा गरेका छन् ।





Post a Comment

 
Top