0
गोल्डेन न्यूज संवाददाता
पोखराको व्यस्त बजार चिप्लेढुङ्गामा बिहीबार जेब्रा क्रसिङमा पैदल यात्रुलाई मोटरसाइकलले ठक्कर दिन्छ । पैदल यात्रु घाइते भई सडकमा लड्छन् । मेरुदण्ड र टाउकोमा चोट लाग्छ र बेहोस हुन पुग्छन् । मोटरसाइकल चालक पनि सामान्य घाइते हुन्छन् । यो दृश्यपछि सडकबीचमा भिडभाड बढ्छ । ट्राफिक प्रहरी आइपुग्छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाबाट एम्बुलेन्स लिएर प्राथमिक उपचारक आइपुग्छन् र प्राथमिक उपचार गर्नतर्फ लाग्छन् । स्थानीयहरु बचाउ–बचाउ भन्दै कराउछन् । एक महिला त ट्याक्सी ट्याक्सी भन्दै ट्याक्सी खोज्न तिर लाग्छिन् । घाइतेका आफन्तको रुवावासीले त्यहाँ साच्चिकै भएको दुर्घटना जस्तै देखिन्थ्यो । अर्कोतर्फ ट्राफिक प्रहरीलाई भिडलाई हटाउन हम्मे–हम्मे परेको थियो । यो कृत्रिम अभ्यास थियो । 
टाउको र मेरुदण्डमा चोट लागेका घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने भन्ने सम्बन्धमा अभ्यास केन्द्रित थियो । जिल्ला ट्राफिक कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले आयोजना गरेको सडक सुरक्षा सप्ताह अन्तर्गत यो अभ्यास केन्द्रित गरिएको थियो । बिरामी वा घाइतेलाई दक्ष चिकित्सक कहाँ नपु¥याउन्जेलसम्म गरिने उपचार नै प्राथमिक उपचार हो । दुर्घटनामा परि टाउको र मेरुदण्डमा चोट लागेमा सुरक्षित तरिका नअपनाई अस्पताल लगेमा घाइतेको अवस्था झन बिग्रन सक्छ । शरीरका अंगहरु नचल्न पनि सक्छ । प्राथमिक उपचारकले सर्भिकल कलर लगाएर तख्ताबोर्डमा राखि एम्बुलेन्स वा कुनै सवारी साधनमा लैजानाले घाइतेको अवस्था थप जटिल हुनबाट जोगाउन सकिन्छ । यहि सन्देशका लागि कृत्रिम अभ्यास गरिएको रेडक्रस कास्कीका सदस्य सूर्यप्रसाद ढकालले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक विश्वराज अधिकारीले सवारी साधनको चाप बढि भएका स्थानहरुमा दुर्घटनाको जोखिम पनि उच्च रहेकाले नियम उल्लंघन नगर्न सडक प्रयोगकर्तालाई आग्रह गरे । रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमिल्सिनाले सडक दुर्घटना बढेसँगै प्राथमिक उपचारको महत्व पनि बढ्दै गएको उल्लेख गरे । रेडक्रस कास्कीका उप–निर्देशक खेमराज सापकोटाले सडक दुर्घटनाका कारण नेपालमा दैनिक ५ जनाले ज्यान गुमाउनुपरेको बताउँदै न्युनिकरणका लागि सबैको साथ आवश्यक पर्नेमा जोड दिए ।
पोखरामा सडक सुरक्षा सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम जारी छ । सप्ताह अन्तर्गत शुक्रवार जनप्रकाश उच्च माविका विद्यार्थी तथा पोखरा १४ उपशाखा अन्तर्गतका समुदायलाई ट्राफिक कक्षा सञ्चालन गरियो । अन्तिम दिन शनिवार गते पोखरा ८ उप–शाखामा ट्राफिक कक्षा सञ्चालन गर्ने र सप्ताह समापन गर्ने रेडक्रस कास्कीका उप–सभापति दण्डराज शर्माले जानकारी दिए ।



Post a Comment

 
Top