0
गोल्डेन न्यूज संवाददाता
नेपाल आयल निगमले कास्कीको गगनगौंडामा रहेको गृहलक्ष्मी ग्याँस कम्पनीसँग अनियमितता गरेको भन्दै स्पष्टिकरण माग गरेको छ । नेपाल आयल निगमले यही वैशाख २७ गते पठाएको पत्रमा गृहलक्ष्मी ग्याँस कम्पनीलाई कम्पनीले बिक्री गरेको ग्याँसको सूची, डिलर तथा सब डिलरको ठेगाना तथा नयाँ थपिएका डिलर र सब डिलरको तथ्याङ्क पठाउन निर्देशन जारी गरिएको छ । निगमकोतर्फबाट प्रवन्धक प्रलयङ्कर आचार्यले हस्ताक्षर गरेको सो पत्रको वोधार्थ नेपाल आयल निगमको गगनगौंडा शाखालाई पनि पठाइएको छ । एलपी ग्याँस बिक्रेता संघ कास्कीले वैशाख २० गते गृहलक्ष्मी ग्याँस कम्पनीले नयाँ डिलर र सब डिलर नियुक्त गर्दै अनधिकृत रुपले ग्याँसको सिलिण्डरको डिपोजिट भन्दै पेस्की लिएको, बजारमा यस अघि नै पठाइएका खाली सिलिण्डर भर्नेतिर चासो नदिएको लगायतका विषयहरु समेटेर नेपाल आयल निगममा गुनासो गरेको थियो ।
पछिल्लो समय गृहलक्ष्मी ग्याँस कम्पनीले बजारमा पठाएका पुराना सिलिन्डरमा ग्याँस नभरी नयाँ सिलिण्डरहरु प्रयोगमा ल्याएको एलपी ग्याँस बिक्रेता संघले दावी गरेको छ । संघका अध्यक्ष नारायण पौडेलका अनुसार गृहलक्ष्मी ग्याँस कम्पनीका अहिले पोखरामा मात्रै हजारौँ सिलिण्डरहरु खाली रहेका छन् । यस अगाडि नियुक्त गरिएका डिलर र सब डिलरकहाँ तथा उनीहरु मार्फत उपभोक्ताकहाँ पुगेका ती सिलिण्डर भर्नुको सट्टा गृहलक्ष्मी ग्याँस कम्पनीले नयाँ डिलर र सबडिलर नियुक्त गरी बजारमा नयाँ ग्याँस सिलिण्डरहरुको बिक्री गर्दै आएको छ । ती सिलिण्डरको मूल्य समेत चर्को रहेको उपभोक्ता तथा ग्याँस बिक्रेताहरुको गुनासो छ । ‘उपभोक्तालाई बाध्य बनाएर ३ हजा ९ सयदेखि ४ हजार १ सयसम्ममा ग्याँस बेचिएको छ, अभावको बेला बजार बिस्तार गर्ने र नाफा कमाउने गृहलक्ष्म्मी कम्पनीको मनसाय देखिएको छ’, अध्यक्ष पौेडेलले भने,–‘बजारमा नयाँ सिलिण्डर दिन्छु भन्दै पेस्की उठाएको रकम मात्र पनि लाखौँ भएको हाम्रो अनुमान छ ।’ बजारमा बिल बिना नै गृहलक्ष्मीले ग्याँस सिलिण्डर बेच्दै आएको समेत उनको आरोप छ । अहिले पोखराको बजारमा करिब १० हजार गृहलक्ष्मी ग्याँसका सिलिण्डर खाली छन् । ती सिलिण्डर भरेर पठाउनको लागि नेपाल आयल निगमले गृहलक्ष्मी ग्याँस कम्पनीलाई मासिक ७ सय ७० मेट्रिक टन ग्याँस दिने गर्छ । तर, कम्पनीले पुराना सिलिण्डर भर्नुको सट्टा नयाँ सिलिण्डर बजारमा पठाउनु अभाव सृजना गराउनु भएको ग्याँस बिक्रेता संघको दावी छ । बजारमा मनोमानी हुँदा समेत स्थानीय प्रशासन र उपभोक्तावादी संघ÷संस्था चुप बसेृकोमा संघले आश्चर्य व्यक्त गरेको छ । कास्कीमै रहेको शक्ति ग्याँस कम्पनीले भने त्यस्तो कार्य नगरेको अध्यक्ष पौडेलले प्रष्ट पारे । गृहलक्ष्मीले अहिले डिलर र सब डिलर गरी ६५ वटा नयाँ बिक्री केन्द्र बिस्तार गरेको छ । एलपी ग्याँस बिक्रेता संघ कास्कीले यो विषयमा कास्की प्रशासनलाई पनि जानकारी दिएको छ । पैसा र पहुँचवालाले मात्र ग्याँस पाउने र सर्वसाधारणले ग्याँस नपाउने प्रवृत्ति तत्काल अन्त्य हुनुपर्ने संघको माग छ ।








Post a Comment

 
Top