0
गोल्डेन न्यूज संवाददाता
पोखरा नयाँगाउँ निवासी विष्णु न्यौपाने नागढुंगामा रहेको सरस्वती उच्च माविको कक्षा २ मा पढ्छिन् । नयाँ गाउँदेखि नागढुंगासम्म कक्षा २ मा पढ्ने उनी स्कूलको सुरुवात देखिनै बसमा उभिएर स्कुल आउन बाध्य छिन् । विष्णु जस्ता सयौं बालबालिका छन् जो स्कुल जान्छन् तर स्कुल नपुग्दै बसको बसाईले शिथिल हुन बाध्य छन् कारण बसमा खुट्टासम्म राख्ने ठाउँ हँुदैन । घरबाट निस्कँदा अनेकौं सपना बोकेर स्कुल हिंडेका विद्यार्थी बसमा पाईने सास्तीले आफै शिथिल भएको महसूस गर्छन । बसमा एक विद्यार्थीको काँखमा अर्को विद्यार्थी बस्नुपर्ने बाध्यता हुन्छ । बालबालिकालाई बोज पर्ने गरी काखमा बालबालिका राखिदिने र साना–साना बच्चाहरुलाई पनि बसमा उठेर स्कुल आउन बाध्य बनाउने गरेको छ स्कूलहरुले । हरेक परिवारमा २÷३ जना बच्चाहरु एउटै स्कुलमा पढ्न आउने र अभिभावकको चाहनाले पनि बढी विद्यार्थी बोक्नुपरेको सरस्वती उच्च माविका संस्थापक प्रिन्सिपल दुर्गाबहादुर थापा बताउँछन् । उनी भन्छन्–‘बच्चाहरु धेरै छन् अनि अभिभावकलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले पनि बसमा बढी विद्यार्थी बोक्नुपरेको हो ।’ ‘सबै अभिभावक को चाहना पनि बच्चाहरुको स्कुल फि वा बस फि कम होस् वा फ्रि होस भन्ने हुन्छ र आवश्यक नभएका विद्यार्थीले पनि बीचमा बस रोकेर चढ्ने हुँदा बसमा क्षमता भन्दा बढी बिद्यार्थी हुने गरेको हो’–थापाले भने । यो समस्या समाधान हुन केही महिना लाग्ने उनी बताउँछन् । जो पहिला आउँछन्, वा जसको घरमा पहिला स्कुल बस आउँछ उही सिटमा बस्छ, स्कुलको प्राङ्गणमा बस पुग्दा आफू बसेको सिटमा साथीमात्र होईन काखमा समेत २÷४ जना विद्यार्थीले उसलाई किचिसकेका हुन्छन् । जिल्ला शिक्षा कार्यालय कास्कीले स्कुलहरुमा निगरानी गर्न थाले पछि पनि स्कुलबसहरुले विद्यार्थी खाद्न र बसको रंग परिवर्तन गर्न अटेर गरिरहेका छन् । डिजिल्याण्ड एकेडमीले लामो समयदेखि सेतो रंगको स्कूल बस प्रयोग गरिरहेको छ । बसमा २ जना र ३ जना क्षमताका गरि दुई तर्फी सिट छन् तर २ जनाको सिटमा ४ जना र ३ जनाको सिट क्षमतामा ७ जनासम्म विद्यार्थी राख्ने गरिएको छ । विद्यालयले प्रयोगमा ल्याउने बस पहेंलो सुन्तला रंग हुनु पर्ने सबै जानकार भएपनि स्कुल बिदा गर्न नमिल्ने र रंग लगाउन लाई समय लाग्ने हँुदा बिदाको समय कुरेर बसेको बसका सह–चालक गोबिन्द चौधरी बताउँछन् । विगत १६ बर्ष देखि आफूले गाडी चलाए पनि स्कुल बस भने एक बर्ष अघिमात्र चलाएका चालक रामबहादुर कँुवर आफूहरु अरुको आदेशमा मात्र चल्ने हँुदा सम्बन्धित ठाउँमा गएर कुरा गर्न आग्रह गर्छन् । आफूहरु स्कुल बसको नियम र रंगबारे थाहा नपाएको र पछि मात्र ट्राफिकले बोलाएर प्रशिक्षण दिएपछि थाहा हुन आएको उनले बताए । विद्यालयमा ३०० जना विद्यार्थी रहेपनि आफ्नो बसमा धेरै नहुने उनले जिकिर गरे । तर उनले चलाएको बसमा सिट क्षमता भन्दा बढी विद्यार्थी थिए। अर्को चालकले भने बसको ब्ल्यू बुकमा नै निलो रंगको स्कुल बस स्पष्ट लेखिएकाले आफूहरु गलत नभएको उनको दाबी थियो । आफूले स्कुलले जे भन्यो त्यही गर्ने गरेको र यसरी बच्चाहरुलाई खादेर स्कुल लाँदा नरमाईलो लाग्ने लनर्स एकेडमीका बस चालक रञ्जन सुनारले बताए । उनले भने–‘देशमा लोकतन्त्र आयो के–के भो’, भन्छन्,–खै अझै हामी यस्तै साना कुरामा अल्झिएका छौं ।’ आफूहरुले बसमा विद्यार्थी धेरै राखेको स्वीकार गर्दै, सधैं यस्तो नहुने र आउँदा दिनमा नियम पालना गर्ने लनर्स एकेडमीका संस्थापक इश्वरबन्धु गौतमले प्रतिबद्धता जनाए । अमरज्योति बोडिङ स्कुल सिमलचौरका निर्देशक शिब गौतमले भने आर्थिक अभावमा तत्काल त्यस्तो काम गर्न कठिन भएको दुखेसो पोखे । स्कुलसंग पर्याप्त रकम नुहुने हँुदा अब छलफल गरेरमात्र काम गर्ने गौतमको भनाई थियो । कतिपय स्कुलले भने संचारमाध्यमले देख्छ र देखाउँछ भन्ने डरमा स्कुल बस नै नरोक्ने गरेका छन् । स्कूलको यस्तै रबैया बढेपछि पोखराको फेवा टेलिभिजनले गरेको ‘स्कुल बस निगरानी’ कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रमबाट त्रसित बनेका केही स्कुल संचालकहरु संचारमाध्यमले बस रोक्न खोज्दा नरोकी जाने गरेको फेवा टेलिभिजन का स्टेशन म्यानेजर हेमराज अधिकारीले जानकारी दिए । उनले भने ‘हाम्रो निगरानी स्कुलतिर भन्दा पनि प्रवृत्ति तिर हो। जिल्ला शिक्षा कार्यालय र जिल्ला ट्राफिक कार्यालयको सहयोगमा स्कुलबसको निगरानी कार्यक्रमलाई निरन्तरता दिईने फेवा टेलिभिजनले जनाएको छ ।









Post a Comment

 
Top