0
गोल्डेन न्यूज संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद रमेश लेखकले कांग्रेसका नेता कार्यकर्ताहरु जनतासमक्ष जोडिनुपर्नेमा जोड दिएका छन् । जनतासंग जोडिनका लागि सम्पर्क बलियो बनाउनुपर्ने, सम्बन्ध कायम गर्नुपर्ने र सेवा दिनुपर्ने खाँचो रहेको बताउँदै उनले कांग्रेस जनतासंग नजोडिए जनता र राष्ट्रको हितका लागि रचनात्मक काम गर्न समेत नसक्ने स्पष्ट पारे । नेपाली कांग्रेस कास्की क्षेत्र नं. ३ ले पोखरामा आयोजना गरेको ‘कांग्रेसले के गर्नुपर्छ ?’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता लेखकले पार्टीका नेताहरु कार्यकर्ता समक्ष र कार्यकर्ताहरु जनता समक्ष जाने बातावरण तयार गर्न सबै इकाइहरु लाग्नुपर्नेमा जोड दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको ६ महिना बितेको र ओली नेतृत्वको सरकार आफैमात्र असफल नभएर देशलाई नै असफलतातर्फ लैजाँदै गरेको भन्दै उनले मुलुकमा विभिन्न क्षेत्रबाट उत्पन्न असन्तुष्टिलाई सम्वोधन गर्न र संविधान कार्यान्वयन गर्न गर्नतर्फ कुनै काम गर्न नसकेको आरोप लगाए । कांग्रेस नेता लेखकले ओली नेतृत्वको सरकारले कालोबजारी गर्नेहरुलाई सजायँ घटाउने गरि ऐन संशोधन गरेको भन्दै विगतमा कालोबजारी गर्नेले १० वर्ष जेल सजायँ पाउने व्यवस्था रहेकोमा अहिले त्यसलाई घटाएर १ वर्ष कायम गरिएको भन्दै आपत्ति जनाए । पछिल्लो पटक एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेससामु आएर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं भनेपछि उनीसंग वार्ता भएको प्रसङ्ग उल्लेख गर्दै उनले भने–‘कांग्रेसले भूकम्प पीडितलाई तत्काल राहतको प्याकेज ल्याउने, संविधान कार्यान्वयन गर्ने, कालोबजारी नियन्त्रण गर्ने जस्ता एजेण्डालाई प्राथमिकता दिएपछि प्रचण्ड पुनः ओलीकै सरकारलाई समर्थन दिने भनि फर्केका हुन्, यसलाई कांग्रेसको असफलताको रुपमा कसैले पनि लिनु हुँदैन । कार्यक्रममा नेपाली कांग्रेसको संगठन सुदृढिकरण र विस्तारका लागि कास्की क्षेत्र नं. ३ मा घर–घरमा कांग्रेस, टोलटोलमा संगठनका लागि गाउँ नगर जागरण अभियान संचालन गर्ने जानकारी दिइएको थियो । यस सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै क्षेत्रीय सभापति विजयराज आचार्यले इकाई समितिहरुलाई तत्काल पूर्णता दिने, कार्यकर्ताको अभिलेख र बैंक खाता संचालन गर्न लगाउने, पार्टीको महाधिवेशनबाट पारित नीति र कार्यक्रम बारे जानकारी गराउने, सामाजिक तथा आर्थिक समस्याहरुको समाधानका लागि पार्टी पंक्तिलाई सक्रिय तुल्याउने, पार्टीका नेता कार्यकर्तालाई सम्मान गर्ने परम्परा शुरु गर्ने र सरकारले गरेका भ्रष्टाचार र कालोबजारी जस्ता जनविरोधी कामको बारेमा आम जनतालाई जानकारी गराउने लगायतका बुँदाहरु उल्लेख छन् । यसैगरी भातृसंस्थाहरुलाई चुस्तदुरुस्त बनाउने, ज्येष्ठ राजनीतिज्ञ सभा बनाउने, पूर्व कर्मचारी संघ बनाउने, कार्यकर्ताहरुका लागि शिपमूलक तथा आयमूलक कार्यक्रम संचालन गरिने र कांग्रेसलाई अन्य पार्टी भन्दा किन उत्तम छ ? भन्ने विषयमा जनतालाई सुसूचित गराउने लगायतका बुँदा कार्यपत्रमा सभापति आचार्यले उल्लेख गरेका छन् ।  विभिन्न शिपमूलक तालिम तथा प्रशिक्षण र गोष्ठीका लागि देवराज चालिसे संयोजक तथा नम्रता बराल, सुवास सिग्देल, जनपुकार मुनाकर्मी र पशुपति शर्मा सदस्य रहेको स्कूल विभाग तथा विभिन्न विकास निर्माणका आयोजना छनौट र सिफारिसका लागि केशर निर्दोषी संयोजक र रामजी कोइराला संयोजक रहेको विकास समिति गठन गरिएको सभापति आचार्यले बताए । कार्यक्रममा पार्टीका पूर्व क्षेत्रीय सभापतिहरु विश्व सिग्देल, निर्मल कर्माचार्य, रामजी कुँवर, विरेन्द्रनारायण विजुक्छे, शोभाचन्द्र बराल र कृष्ण प्रसाद पराजुली (मरणोपरान्त) सम्मान गरिएको थियो । उक्त अवसरमा सांसद सारदा पौडेल, पार्टीका क्षेत्रीय उपसभापति ध्रुवबहादुर रायमाझी र पूर्व सभापतिकोतर्फबाट विश्व सिग्देल र सचिव दीपेन्द्र मर्सानी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा नेविसंघका सुवास कोइराला, महाधिवेशन प्रतिनिधिहरु रामजी कुँवर, डा. राचन्द्र पोखरेल, शोभियतबहादुर अधिकारी, दुर्गाबहादुर सुनारका साथै नविन बराल, दिनेश आचार्य, गोपाल पौडेल, डार्विन लम्साल, गोविन्द अधिकारी, रघु अधिकारी, सरोज अधिकारी र होमबहादुर लामिछाने लगायतले संगठन विस्तारका लागि विभिन्न सुझाव दिएका थिए ।









Post a Comment

 
Top