0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाका विद्यालय तथा कलेजहरुमा लागूऔषध र ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । जिल्ला शिक्षा कार्यालय, शिक्षक संघ संगठन तथा सम्बन्धित विद्यालयको सहयोगमा प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको हो । विद्यार्थीहरु लागूऔषध दुब्र्यशनीमा फस्ने गरेको र सवारी दुर्घटनामा पनि युवा वर्ग बढी पर्ने भएकाले विद्यालयका विद्यार्थीलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कार्यक्रम सञ्चालनको वारेमा शुक्रवार जिल्ला प्रहरी कार्यालयमा सरोकारवाला निकाय सहितको बैंठक समेत सम्पन्न भएको छ । बैंठकमा सहभागीले कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र शहरी क्षेत्रमा केन्द्रित गर्न सुझाव दिएका छन् । विशेष गरी पोखरा उपमहानगर पालिका भित्रका बिद्यालय तथा कलेजमा पहिलो चरणको सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको जोड छ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सचेतना कार्यक्रमका लागि कार्यालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्कीका सचिव षडानन्द गौतम, अभिभावक संघका अध्यक्ष हेमराज वरालले विद्यार्थीलाई प्रभाव पार्ने गरी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औल्याए ।
शिक्षक संघ संगठनका प्रमुख एबं प्रतिनिधिहरुले कार्यक्रमको लागि शिक्षककोतर्फबाट पूर्ण सहयोग रहने बताए । सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भट्टराईले विद्यालय वरपर एक सय मिटर क्षेत्रमा धुम्रपान र मध्यपानको बिक्री गर्न नपाइने नियम भएपनि सो विपरित भैरहेको बताए । नियमनकारी निकायले समयमै ध्यान दिनुपर्ने उनको सुझाव छ । विद्यार्थीलाई कुलतमा लाग्नबाट जोगाउनको लागि पनि विद्यालय स्तरिय सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको प्रहरी उपरीक्षक घनश्याम अर्यालले बताए ।


















Post a Comment

 
Top