साढे चार दशकअघि पोखराका झलक थापा इंग्ल्यान्डमा चराहरुको अध्ययन गर्न गएका थिए । अध्ययनको शिलशिलामा त्यहाँ उनले हल्का वाइन देख्ने मौका पाए । त्यतिबेला नेपालमा वाइन शब्द भित्रिएको थियो, तर वाइन चाहिँ भित्रिसकेको थिएन । विकशित मुलुकमा भने वाइनको उपयोग बढिसकेको थियो । इंग्ल्यान्डमा वाइन देखेपछि थापाले नेपालमा पनि उत्पादन गर्ने सोच बनाइहाले । वाइन त उत्पादन गर्ने, तर कसरी ? यसका लागि उनले इंग्ल्याण्डबाट अमेरिकन, ब्रिटिस, फ्रेञ्च, साउथ अफ्रिकन, इटालियन, अष्ट्रेलियन वाइनका बारेमा लेखिएका किताबहरु किनेर नेपाल फर्किए । नेपालमा वाइन पिउने चलन थिएन । तत्कालै वाइन उत्पादन सुरु गर्ने अवस्था भएन । त्यसपछि थापाले वाइनका कितावहरु अध्ययन गर्न थाले । विभिन्न टेष्टका वाइनहरु बनाएर परीक्षण गरे । नेपालमा वाइन उत्पादन गर्न बजार तथा कानुनी मान्यताको खोजी गर्दै हिँड्दा उनको संघर्षले बल्ल ०६३ सालमा मूर्त रुप लियो । ‘सुन्दर पोखराको, सुन्दर कोशेली, सुन्दर मनहरुका लागि’ भन्ने नारासहित थापाले ‘डाँडाघरे वाइन’ बजारमा ल्याए । नेपाली कच्चा पदार्थमा आधारित मौलिक स्वादको डाँडाघरे वाइन सुरुमै लोकिप्रय बन्यो । जहाँबाट नेपालमा वाइन आयात गरिन्थ्यो, त्यही देशहरुमा डाँडाघरे वाइन निर्यात समेत हुन थाल्यो ।
डाँडाघरे वाइन बजारमा आएको छोटो अवधिमै लोकप्रिय हुनुको पछाडि यसको मौलिक नाम नै प्रमुख कारण रहेको थापा बताउँछन् । अहिले बजारमा डाँडाघरे वाइन लोकप्रिय छ । यो पूर्णतः रसायनमुक्त, नेपाली स्वाद र सुवासयुक्त रहेको उनको भनाइ छ । थापाले वाइनमा मह, फलफूल, जडिबुटी लगायत राखेर उत्पादन गर्दै आएका छन् । अहिले नेपालमा ६० हजार रुपैयाँसम्मका विदेशी वाइनहरु पाइन्छन्, तर डाँडाघरे वाइनको लोकप्रियता उत्तिकै छ । डाँडाघरे वाइन अहिले ब्रान्डका रुपमा स्थापित हुँदैछ । ‘मुटुभित्र नेपाल हुनेहरुले डाँडाघरे वाइनलाई मायाँ गरिदिन्छन्’ थापाले भने–‘मैले देश सम्झाउनका लागि वाइनको नाम डाँडाघरे राखेको हुँ, विदेशमा भएकाले आफ्नो देश सम्झिउन् भन्ने मेरो अपेक्षा हो ।’ डाँडाघरे वाइन आँगन, पिँढी, मझेरी, र आँटी गरी चारवटा भेराइटीमा उपलब्ध छ । उनले प्राविधिक कारण देखाउँदै तगारो उत्पादन गर्न छाडेका छन् । अहिले बजारमा आँगनको मूल्य ३९०, पिँढीको ३९०, मझेरीको ४७५ र आँटीको ६ सय रुपैयाँ पर्छ । यो वाइनको नाम सुन्नेवित्तिकै नेपालीपन महसुस हुन्छ । डाँडाघरे वाइन नेपालमा मात्र नभएर विदेशमा समेत लोकप्रिय छ । विदेश जाने नेपालीहरुले डाँडाघरे वाइन लिएर जाने गर्छन् । विदेशबाट पनि डाँडाघरे वाइन कोशेली ल्याइदिन भन्नेहरु धेरै रहेको थापा बताउँछन् । विदेशमा डाँडाघरे वाइन खाँदा नेपालको सम्झना आउने धेरैले उनलाई सुनाउँछन् ।
डाँडाघरे वाइनको बोटलहरुमा लेखिएको पाइन्छ–‘जब–जब तपाई डाँडाघरे वाइन सम्झनुहुन्छ, असल साथी खोजिदिनुस, असल वातावरण बनाइदिनुस, असल विषय रोजिदिनुस ।’ यतिमात्र नभई ‘एकपटक आफैंलाई हेर्नुस’, ‘तपाईको मन दरिलो छ, भरिलो छ, रसिलो छ, अनि मलिलो छ’, ‘अब तपाईले पिउने हरेक घुड्कीले सुन्दर नेपाल अनि सुन्दर पोखरा देख्छ’, ‘यो सुन्दर, अति सुन्दर प्यारो पोखरा, सधैंलाई सबैलाई भइदिओस, पुगिरहोस’ लगायतका सुन्दर वाणीहरुको ट्याग बोतलमा लगाएको पाइन्छ । ‘डाँडाघरे वाइन पोखराको मात्र होइन, नेपालकै कोशेली बनेको छ’ थापाले भने– ‘मेरो उत्पादन कोशेलीका रुपमा लैजाँदा आत्मसन्तुष्टि हुन्छ ।’ डाँडाघरे वाइन जापान, अमेरिका, जर्मन र फिनल्यान्डमासमेत निर्यात हुन्थ्यो । तर, अहिले रोकिएको उनले बताए । डाँडाघरे वाइन आयात गर्न एउटा अमेरिकी कम्पनी इच्छुक देखिएको थापाले बताए । त्यो कम्पनीले वाइनको नमूना लगेर गुणस्तर परीक्षण गर्दा सकारात्मक देखिएको छ । उसले वाषिर्क १५÷२० करोड रुपैयाँको वाइन किन्ने कुरो गरिरहेका कारण उत्पादन दैनिक हजार लिटर बढी बनाउनुपर्ने देखिएको छ ।
नेपालमै २५÷३० कम्पनी
अहिले नेपालमा वाइन उत्पादन गर्ने कम्पनी २५र३० वटा पुगिसकेका छन् । बजारमा प्रतिस्पर्धा बढेको छ । अन्य कम्पनीले सस्तो मूल्यमा राम्रो भन्दै वाइन बेच्न थालेपछि डाँडाघरेलाई दबाव बढेको छ । ‘मैले गुणस्तरमा सम्झौता गर्दिँन, जति बिक्री हुन्छ, त्यसैमा सन्तुष्ट भएर ब्रान्डलाई स्थापित गर्छु’ थापा बताउँछन् । थापाले कुनै समय दैनिक ७ सय लिटरसम्म वाइन उत्पादन गर्थे । तर, अहिले पाँच सय लिटरमा झरेको छ । बजारमा बढेको प्रतिस्पर्धा र विदेशी निर्यात हुन छाडेपछि उत्पादन घटेको उनले बताए । अमेरिकाको कम्पनीले वाइन किनेमा उत्पादन दोब्बर बढाउनुपर्ने उनको भनाइ छ । डाँडाघरे वाइन विदेश निर्यात हुन छाडे पनि पारखीहरुले आफै किनेर विदेशमा कोशेली लगिरहेका छन् । ‘विमानस्थलका मानिसहरुले कहिलेकाहीँ सबैले डाँडाघरे वाइन किनेर लगिरहेको देख्दा मलाई खुशी लाग्छ’ थापाले सुनाए ।
विदेशबाट किन वाइनको अर्डर आउन छाड्यो, उनले अहिलेसम्म थाहा पाउन सकेका छैनन् । ‘मेरो उत्पादनमा नेपाली नाम, नेपाली कच्चा पदार्थ, नेपाली मन, नेपाली स्वाद, नेपाली सोच छ’ थापाले भने– ‘मुटुमा नेपाली हुनेहरुले मेरो वाइन खोजी खोजी किनेर खान्छन् ।’ उनले हिमाली मह, जडिबुटीहरु बेलको दाना र पात, तुलसी र धोविनीका जराहरु राखेर रसायनमुक्त वाइन बनाउँदै आएको बताए । अहिले थापा ७३ वर्ष पुगे । उनका एक छोरी र श्रीमती छन् । छोरी यशोधरा थापा बुद्ध एयरको बरिष्ठ पाइलट हुन् । थापाको वाइनमा साझेदार बन्न धेरै लगानीकर्ता आए । तर, सबैको आँखामा व्यावसायमात्र देखेपछि उनले साझेदार बनाउन चाहेनन् । ‘मसँग साझेदार बन्न आउनेहरु पैसामात्रै चाहन्छन्, पैसाका लागि उनीहरु भोलि जे पनि गर्न सक्छन्, मैले दुःख गरेर सिर्जना गरेको ब्रान्ड मारिदिन सक्छन्’ उनले भने–‘त्यही भएर कसैमाथि पनि विश्वास लाग्दैन ।’
Post a Comment