0
गोल्डेन न्यूज संवाददाता
नयाँ नेतृत्वको लागि कांग्रेसका तीन नेताले दाबेदारी प्रस्तुत गर्दै आज उम्मेद्वारी घोषणा गरेका छन् । आज बिहीबारदेखि पार्टीको १३ औं महाधिवेशन सुरु हुन लागिरहेको सन्दर्भमा पार्टी कार्यवहाक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । यस्तै वरिष्ठ नेता शेरबहादुर देउवा पनि उम्मेद्वारी घोषणा गर्ने तयारीमा छन् । बुधबार उम्मेद्वारी घोषणा गर्ने पौडेल , सिटौला र कोइराला १२ महाधिवेशनमा एउटै खेमामा रहेको भएपनि हाल आएर भने छुट्टाछुट्टै टिमसहितको उम्मेद्वारी घोषणा गरेका हुन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सभापति पदका आकांक्षी पौडेलले आफूलाई सभापतिको दाबेदारको रुपमा उभ्याउँदै प्यानल घोषणा गरे । उनलाई प्रकाशमान सिंहले प्रस्ताव गरेका थिए भने रामशरण महतले समर्थन गरेका थिए । पौडेलले आफ्नो प्यानलबाट महामन्त्रीमा डा शंशाक कोइरालालाई उभ्याएका छन् । यस्तै सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाइएको छ । यसअघि सिटौला संस्थापन समूहका भरपर्दा नेता थिए । उनको उम्मेद्वारीसँगै सभापतिको उम्मेदारी घोषणा गर्ने तयारीमा रहेका रामचन्द्र पौडेललाई धक्का पुग्ने देखिएको छ । यस्तै सुजता कोइरालाले १३ औं महाधिवेशनमा पार्टी सभापतिका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिन् । मण्डिखाटारस्थित आफ्नो निवासमा बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर उनले उम्मेद्वारी घोषणा गरेकी हुन् । उनले आफूसँग प्यानल नहुने र एक्लै लड्ने बताइन् । सभापतिमा नउठे कांग्रेसको इतिहास सकिने अवस्था आएको दाबी गर्दै उनले उम्मेद्वारीको औचित्य पुष्टि गर्न खोजिन् । यसअघि काँग्रेस केन्द्रीय कार्यलयमा प्रचार समितिको आयोजनामा संयुक्त पत्रकार सम्मेलन भयो सो अवसरमा कार्यवाहक सभापति पौडेल, वरिष्ठ नेता देउवा तथा महामन्त्रीद्धय सिटौला र प्रकाशमान सिंहले सम्बोधन गरे । उनीहरुले आफ्नो कार्यकालको कामवारे विफ्रिङ गरेका थिए । नेताहरुले भावी काँग्रेसको नीति र कार्यक्रमवारे सामन्य विफ्रिङ पनि गरेका थिए ।











Post a Comment

 
Top