0
गोल्डेन न्यूज संवाददाता
सत्ता साझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस महाधिवेशन लगत्तै सरकार परिवर्तन हुने बताएका छन् । उनले नेतृत्वबारे भने खुलाएनन् । अगुवा कार्यकर्तालाई गोप्य प्रशिक्षण दिन दाप्चा काशिखण्ड स्थित भकुण्डेवेशी आएका उनले सरकारको काम कार्वाहीबारे असन्तुष्टी जनाए । जनचाहना अनुसार काम गर्न नसकेको भन्दै उनले आफ्ना पार्टीका मन्त्रीलाई २ महिनाको अल्टिमेटम दिएको प्रशिक्षणमा बताए । ‘जनताको चाहना अनुसार सरकारले काम गर्न सकेको छैन,’ उनले भने–‘२ महिनामा प्रगति देखिने गरी काम नगरे आउने परिणामको सामना गर्न मन्त्रीहरुलाई चेतावनी नै दिएको छु ।’ प्रमुख सत्तासाझेदार एमाओवादी अध्यक्ष दाहालले सार्वजनिक रुपमा पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले पनि उपलव्धी दिन नसकेको भन्दै आलोचना गरेका थिए ।
उनले आगामी निर्वाचनमा एमालेसँग ५०÷५० प्रतिशतमा तालमेल हुने दाबी गरे । उनले अघिल्लो संविधानसभामा पहिलो पार्टी बनेको एनेकपा माओवादीको नियतीमा नेपाली कांग्रेस पुगेको भन्दै तेस्रो दल भएर पनि पार्टीले राष्ट्रिय राजनीतिमा भूमिका कायम राखेको तर्क गरे । सहभागी एमाओवादी कार्यकर्ताका  अनुसार, हालै पार्टी परित्याग गरेका नेता डा. बाबुराम भट्टराई र नयाँ शक्तिका बारेमा उनले केही उच्चारण गरेनन् । गोप्य भनिएको प्रशिक्षणमा जिल्लाका सञ्चारकर्मीलाई प्रवेश दिइएको थिएन ।
यसैबीच जिल्लास्तरीय अगुवा कार्यकर्तालाई गोप्य प्रशिक्षण दिन एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल काभ्रे आएका छन् । दाप्चा काशिखण्ड नगरपालिकाको हलमा उनले ४ वटै निर्वाचन क्षेत्रका कार्यकर्तालाई समसामयिक राजनीतिबारे प्रशिक्षण दिएका छन् । सञ्चारकर्मीलाई प्रवेश नदिइएको प्रशिक्षणमा पार्टीको आगामी कार्यदिशा, रणनीति लगायतका विषयमा प्रशिक्षण हुने जिल्ला अध्यक्ष दिनानाथ गौतमले जानकारी दिए । ‘पार्टीको आन्तरिक प्रशिक्षण हो, बिषयवस्तु अध्यक्षले नै तय गर्ने हो,’ उनले भने,–‘पार्टीको आगामी कार्य्दिशा र रणनीतिका बारेमा प्रशिक्षण हुन्छ ।’ पार्टीबाट हालै अलग भएका नेता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति कसरी ‘फेस गर्ने’ भन्नेबारे पनि अध्यक्ष दाहालले प्रशिक्षण दिने पार्टी श्रोतले बतायो । काभ्रे जिल्ला उपाध्यक्ष अक्कल बहादुर थिङसहित ५६ जनाले हालै पार्टी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा समाहित भएको घोषणा गरेका थिए ।



Post a Comment

 
Top