0
गोल्डेन न्यूज संवाददाता
पोखरामा जारी १७ औं खुल्ला प्याराग्लाईडिङ तथा प्रि–वर्डकपको क्रममा फेवातालमा खसेका ७ प्याराग्लाईडिङ पाइलटको सकुशल उद्धार गरिएको छ । उडानको क्रममा तालमा खसेका चार रशियन, एक चिनियाँ, एक युक्रेनी र काजकिस्तानका एक जनाको सकुसल उद्धार गरिएको हो । विभिन्न स्थानमा अबतरण गरेका अन्य पाईलट पनि सकुशल छन् । फेवातालको किनारमा रहेको सशस्त्र प्रहरीको रेस्क्यु टावरमा रहेका सुरक्षाकर्मीले ग्लाईडर तालमा खस्दै गरेको देखेपछि मोटरवोट लिएर उद्धारमा खटिएका थिए । त्यस्तै स्थानीय डुङ्गा चालकपनि तत्काल उद्धारमा खटिएका थिए । उनीहरुलाई तालमा खसेको २० मिनेटभित्र उद्धार गरिएको थियो । उद्धारमा खटिएका सशस्त्र प्रहरीका अनुसार तालमा खसेका सबै पाईलट पौडी खेल्न जान्ने भएकाले बाच्न सफल भएका हुन् । प्रतियोगिताको लागि तोकिएको टास्क पुरा गर्ने क्रममा एक्कासी मौसम बिग्रिएपछि आकस्मिक अवतरण गर्नुपरेको हो । टास्क कमिटीले टास्क रोकेर अबतरणको लागि भनेपछि तोकिएको स्थानमा अवतरण गर्ने क्रममा हावाको तीब्र गतिका कारण उनीहरु तालमा खसेका थिए । तालमा खसेका उनीहरु ग्याईडर छोडेर पानीमा पौडिरहेका वेला उद्धार टोलीले वाहिर निकालेको हो । तालमा खसेका एक रसियन पाईलटले एक्कासी मौसम बिग्रिएकाले तोकिएको स्थानमा अबतरण गर्न नसकेको बताए । टास्क कमिटीको निर्देशनपछि कतिपयले आफूलाई अनुकुल पर्ने स्थानमा अबतरण गरेका थिए । शनिवारबाट सुरु भएको प्रतियोगिता अन्तर्गत मंगलवार सराङकोटबाट तोरीपानी, मान्द्रेढुङ्गा, कास्कीकोट , नौडाडा, पम्दीभुम्दी हुदै फेवा किनार सम्मको टास्क तोकिएको थियो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालका अनुसार बेगसित चलेको हावाले उडिरहेका ग्लाइडर एकैपटक तालमा खसालेको थियो। खसेका सबैको उद्धार भएको उनले बताए।
अन्तिम टास्क पुम्दीभुम्दी माथि पुगेपछि एक्कासी मौषम बिग्रिएको थियो । टास्क कमिटीले टास्क रोक्दा प्रतियोगितामा सहभागी कुल ९६ मध्ये अधिकांश प्रतियोगी आकाशमै थिए । प्रतियोगिता आयोजक नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगश भट्टराईले मौषम खरावीको कारण आकस्मिक अवतरण गर्नुपरेपनि सबै पाईलट सकुशल रहेको बताए । ताल किनारमा रहेको अबतरण स्थलमा कतिपयले तत्काल सफल अवतरण गरे भने कतिपय पुम्दीभुम्दी, चाउथे, छिनेडाडा, अर्मला लगायतका स्थानमा अबतरण गर्न पुगेका थिए । ४ जना रसियन, दुईजना युक्रेनी, एक÷एक जना चाइनिज र काजकास्तनका पाइलटहरु खसेको प्रहरीले जनाएको छ । खस्नेहरु मध्ये ७ जना पुरुष र एक जना महिला पाइलटहरु छन् । खसेका सबै पाइलटको अवस्था सामान्य छ । पोखरामा गत शनिबारदेखि प्रतियोगिता जारी छ । आगामी वर्ष नेपालमा प्याराग्लाइडिङ खेलको विश्वकप हुने तयारी स्वरुप प्रि–वल्र्ड कप आयोजना गरिएको हो । २२ गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल सहित करिब ३५ राष्ट्रका एक सय ५० प्याराग्लाइडिङका पाइलटहरु सहभागी छन् । यसअघि सोमबार र आइतबार पनि असिनापानी परेका कारण प्रतियोगात्मक उडान भएको थिएन ।

यसैबीच आयोजक नेपाल हवाई खेलकुद संस्थाले विज्ञप्ति प्रकाशित गरी तोकिएको टास्क पुरा गरेर अवतरणको क्रममा एक्कासी मौसम बिग्रदा सम्बन्धित स्थानमा सबै पाइलटले अबतरण गर्न नसकेको जनाएको छ । आकस्मिक अवतरणको क्रममा केहि फेवातालमा खसेपनि सकुशल रहेको र अन्य स्थानमा अवतरण गरेकाहरुपनि सकुशल रहेको आयोजकले जनाएको छ । नाका अध्यक्ष योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको क्षेत्र भन्दा बाहिर यस प्रतियोगितामा भाग लिएका प्रतियोगीहरु नगएको समेत प्रेस विज्ञेप्ति मार्फत सम्पूर्णमा जानकारी गराउदछौं । साथै यस बिषयलाई केहि संचार माध्यमहरुले भ्रामक ढंगले सम्प्रेषण तथा प्रसारण गरेकोेमा हाम्रो गम्भीर ध्यानाकषर्ण भएको छ । सत्य र तथ्यका आधारमा मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दछौं ।’





Post a Comment

 
Top