0
महाधिवेशनको अघिल्लो दिनमा बुधबार कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालय ‘रामचन्द्रमय’ बन्यो । कार्यवाहक सभापति एवं सभापतिका उम्मेदवार रामचन्द्र पौडेल समर्थक कार्यकर्ताहरु भरिभराऊ रहेको केन्द्रीय कार्यालय परिसरभरि उनकै मात्र प्रचार सामग्री देखिए । उम्मेदवारी घोषणा कार्यक्रममा करिब दुई हजार कार्यकर्ता कार्यालयमा भेला भएका थिए । कार्यालयभित्रको हलमा गरिएको उम्मेदवारी घोषणा कार्यक्रम थामिनसक्नु भिडले गर्दा अस्तव्यस्त र कोलाहलमय बन्यो । कांग्रेस कार्यकर्ताहरु यस्तो मुडमा थिए, कि रामचन्द्रले कुम हल्लाउँला पनि ताली बजाउँथे र हुटिङ गर्थे । महामन्त्रीका उम्मेदवार शशांक कोइरालाको क्रेज झन बढी देखियो । सभापति र महामन्त्रीबाहेक कोषाध्यक्ष लगायतका अरु उम्मेदवारी घोषणा नहुँदा ती कार्यकर्ताहरु अलि खिन्न भए । कार्यकर्ताको हुटिङका बीच प्रफुल्ल मुद्रामा रामचन्द्र ड्यासमा आए । २० मिनेटको भाषणमा उनले आफ्नै बखान गर्न लामो समय खर्चिएः
आप्mनै बारेमा रामचन्द्रले यसो भने
‘२०१७ सालमा जब यो देशमा नेपाली कांग्रेसमाथि र नेपालको प्रजातन्त्रमाथि सांघातिक प्रहार भयो, त्यतिबेला म कांग्रेसमा प्रवेश गरेको हुँ । कांग्रेस दुःख र कष्टमा भएका बेला प्रवेश गरेको मैले आजका मितिसम्म कुनै दिन नथाकिकन, विश्राम नलिइकन निरन्तर लडिरहेँ । जस्तोसुकै दुखकष्ट सामना गरेर पनि प्रजातन्त्रको दियोलाई निभ्न दिइनँ ।
दुःखका दिनमा कतिपय साथीहरु पार्टी छाडेर आफ्नो बाटो लागे । तर, म निरन्तर पार्टीमै समर्पित रहेँ । अनेक आँधिहुरी र बतासले निभाउन खोज्दा पनि मैले यो लोकतन्त्रको दियो जोगाएर राखेको छु ।’ ‘म जीवनभर पार्टीलाई एकतावद्ध गरेर लैजान लड्दै आएको मान्छे हुँ । मैले प्रत्येकचोटि पार्टीमा विवाद र विभाजन आउँदा नेताहरुको बीचमा एकता कायम गर्न भूमिका खेलेको छु । बनारसमा वीपी र कोलकातामा सुवर्णसमशेर हुनुहुन्थ्यो । उहाँहरुबीच संवाद स्थापित गराउने काम मैले नै गरेँ । पछि गणेशमान, गिरिजाबाबु र किशुनजीबीच सामञ्जस्यता कायम गर्न पनि मेरो अथक प्रयत्न रह्यो ।’
सुशीलको सपना साकार पार्ने उदघोष ः सुशील कोइराला जीवित हुँदासम्म कांग्रेसको आसन्न महाधिवेशनमा उनीसँगै भिड्न तम्तयार थिए तत्कालीन उपसभापति रामचन्द्र । सुशीलको अवसानपछि कार्यवाहक सभापति बनेका उनै पौडेलले ‘सुशीलको सपना साकार पार्ने भाषण गरे । पौडेलले पूर्वसभापति सुशीलको नाम लिएर भाषण सुरु गरेका थिए भने सुशीलकै नाम लिएर अन्त्य गरे । बीचमा पनि पटक–पटक सुशीलको नाम लिए । पौडेलले सुशीललाई त्याग र निष्ठाका प्रतिमूर्ति तथा कांग्रेसका तपस्वीको संज्ञा दिँदै उनको निधनका कारणले पार्टीमा नयाँ नेतृत्व चयन गर्नुपर्ने आवश्यकता आइपरेको बताए । सुशीलको प्रेरणा र पदचिन्हलाई अनुशरण गर्दै आफू अगाडि बढ्ने उनले उदघोष गरे । ‘सुशीलजीको एउटा सपना थियो,’ पौडेलले भने,–‘पार्टी जोगाउने । उहाँ सँधै भन्ने गर्नुहुन्थ्यो, पार्टी जोगाउनुपर्छ है । आज उहाँको निधनपछि उहाँको सपनालाई हामीले साकार बनाउनुपरेको छ ।’ पौडेलले संविधान निर्माणमा नेतृत्वदायी भूमिका निभाएको र संविधान निर्माणपछि उत्पन्न परिस्थिति समाधान गर्न पनि अग्रसरता लिएको भन्दै सुशीलको प्रशंसा गरे ।
पौडेलले महामन्त्रीका उम्मेदवार वीपी पुत्र शशांक आफ्ना उपयुक्त सहयोगी भएको बताए । शशांकसित आफ्नो जोडीले कांग्रेस र देशलाई नयाँ उचाइमा पु¥याउने दाबीसमेत गरे । ‘महामन्त्रीमा वीपीपुत्रको प्रस्तावले मेरो उम्मेदवारीलाई ठूलो शक्ति मिलेको छ,’ उनले भने । पौडेलले ‘केही साथीहरु आज अनुपस्थित रहेको’ भन्दै उनीहरुलाई पनि समेटेर जान आफू तत्पर रहेको उल्लेख गरे । उनले यसमा कसैको नाम भने लिएनन् ।
कांग्रेसकै पहलमा नाकाबन्दी खुलेको दाबी ः पौडेलले कांग्रेसको नेतृत्वमा नाकाबन्दी खुलेको र आपूर्ति सहज भएको दाबी गरेका छन् । स्वर्गीय सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएको र त्यसमा असन्तुष्टि जनाउँदै आन्दोलन तथा नाकाबन्दी भएको चर्चा गर्दै पौडेलले भने, ‘कांग्रेसकै अग्रसरतामा संविधान संशोधन भयो, कांग्रेसकै पहलमा नाकाबन्दी खुलेको छ र आपूर्ति सहज भएको छ । बाँकी मुद्दाहरु पनि कांग्रेसकै नेतृत्वमा समाधान हुनेछन् ।’
भाषणको अन्त्यमा रामचन्द्रले भने, ‘सुशीलजीले सधैँ भाषण अन्त्य गर्दा एउटा नारा भन्ने गर्नुहुन्थ्यो, म नेपाली कांग्रेस भन्छु तपाईंहरु जिन्दावाद भन्नुहोस् । आज म त्यही शैलीको सिको गर्दैछु, म नेपाली कांग्रेस भन्छु, तपाईंहरु जिन्दावाद भन्नुहोस् । नेपाली कांग्रेस‘.।’ कार्यकर्ताले जिन्दावाद भने । त्यसपछि एकाएक सुरु भयो रामचन्द्र पौडेल जिन्दावाद !
हलबाट निस्कने क्रममा रामचन्द्र र शशांकको पक्षमा लामो हुटिङ र नाराबाजी भयो । शशांकलाई त कार्यकर्ताले जुरुक्कै बोकेर उचाले ।
यस्ता छन् रामचन्द्रका नारा
–नेपालीको श्रम नेपालको समृद्धिका लागि
–हिंसा द्वेष र विखण्डनमाथि प्रहार, बलियो राष्ट्रिय एकताको आधार
–सुन्दर गाउँ व्यवस्थित सहर, हामी सबै नेपालीको रहर
–कांग्रेस किसानको पार्टी, श्रमिकको साथी
–मेरो नेतृत्वले ६०÷४० को अन्त्य गर्नेछ
कोको थिए रामचन्द्रको भेलामा ?
प्रकाशमान सिंह, डा. रामशरण महत
डा. मिनेन्द्र रिजाल, नविन्द्रराज जोशी, बलबहादुर केसी, मीना पाण्डे
गुरुराज घिमिरे, अमोदप्रसाद उपाध्याय, मोहम्मद आफताब आलम, दिलबहादुर घर्ति, कमला पन्त, महेश आचार्य, दिलेन्द्र बडु
जीवन परियार, आनन्द ढुंगाना, महेश आचार्य।, बद्री पाण्डे, धनराज गुरुङ ।



Post a Comment

 
Top