0
पोखरा उपमहानगरपालिका– १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक गाईबाट वाषर््िाक सात लाख २३ हजार रुपैयाँ आम्दानी भएको छ । गुफाको सौन्दर्य कायम गर्न २०६४ सालमा एक लाख ८० हजार रुपैयाँमा निर्मित यान्त्रिक गाईलाई एक दाना खुवाएपछि दूध र गहुँत दिने व्यवस्था मिलाइएको छ । यान्त्रिक गाईको दर्शनका लागि १० रुपैयाँको गुच्चा प्राप्त हुने र उक्त गुच्चा गाईको नजिकै रहेको प्वालमा राखिदिएपछि दूध तथा गहुँत दिने गर्छ । शिवको मन्दिरमा गाईको दूध तथा गहुँतको विशेष महत्व हुने भएकोले त्यस्तो व्यवस्था गरिएको गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल बताउछन् । 
वार्षिक सात लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुनेगरेको छ । गहुँतबाट आफूलाई शुिद्धकरण गरी दर्शनार्थी गाईले दिएको दूधले गुफाभित्रको शिवको मूर्तिमा चढाउँछन् । विसं २०५० मा आश्चर्यजनक गुफा पत्ता लागेपछि देशका विभिन्न ठाउँबाट सो गुफामा महादेवको दर्शनका लागि दर्शनार्थी आउने गरेका छन् । जमिनको सतहबाट लगभग १०० मिटर तल रहेको महादेवको प्राकृतिक मूर्तिमा दर्शन गरेमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वास रहेको छ । मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष खगराज आचार्यका अनुसार कामधेनु गाईको मूर्ति सुर्खेतका मूर्तिकार तिलक सेञ्चुरीले निर्माण गरेका हुन् । 
गुफा बाहिर १०८ किलोको शालिग्राम स्थापना गरिएको छ । त्यसलाई व्यवस्थित गर्न करिब रु एक करोड १५ लाखको लागतमा भवन निर्माणको योजना अघि सारिएको छ । मुस्ताङबाट ल्याइएको शालिग्राम रहेको परिसरलाई विश्व दर्शन धामको रुपमा विकास गर्ने लक्ष्य राखिएको आचार्यको भनाइ छ । गुफा प्रवेशका लागि विद्यार्थीबाट पाँच, सर्वसाधारणबाट १० र विदेशीबाट ३० रुपैयाँ शुल्क लिने गरिएको छ । हिउँदको समयमा मन्दिरसहित गुफा भित्रबाट मनोरम पातले छाँगोसमेत हेर्नका लागि विद्यार्थीबाट ३५ रुपैयाँ, सर्वसाधारणबाट ५० र विदेशीबाट १०० रुपैयाँ शुल्क लिने गरिएको छ । गुफाले यस आवमा कामधेनु गाईको टिकट बिक्री बाहेक अन्यबाट दुई करोड पाँच लाख ७३ हजार रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै दानपत्रबाट आठ लाख ३१ हजार, सदस्यता शुल्कबाट दुई लाख १३ हजार, बैंक ब्याजबाट चार लाख १५ हजार र सहयोग रसिदबाट १२ हजार रुपैयाँ आम्दानी गरेको समितिका कोषाध्यक्ष ऋषिराम बरालले जानकारी दिए ।  सो आम्दानीलाई गुफा व्यवस्थापनका साथै गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालनका लागि उपयोग गरिँदै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष तिलक आचार्यका अनुसार क्याम्पसमा हाल २६८ विद्यार्थी रहेका छन् । गुफा व्यवस्थापन समितिले यसवर्ष ६२ लाख रुपैयाँ क्याम्पस सञ्चालनका लागि छुट्ट्याएको छ । रासस



Post a Comment

 
Top