0
प्रधानमन्त्री ओली ः प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई सुरक्षित, सुदृढ तथा संस्थागत विकास गर्न राजनीतिक दलबीच थप सहकार्य, सहमति आवश्यक भएकामा जोड दिएका छन् । 
नेपाली काँग्रेसको १३आँै महाधिवेशनको उद्घाटन सत्रलाई आज खुलामञ्चमा सम्बोधन गर्दै उनले विकास निर्माण र राष्ट्रिय एकता कायम गर्न आफ्नो पार्टी सबै शक्तिसँग मिलेर अगाडि बढ्न चाहन्छ भने । “लोकतान्त्रिक संविधान मार्फत जनताका हकअधिकार संस्थागत र सुदृढ गरिएका छन्, जनता आर्थिक उन्नतिको नयाँ चरणमा प्रवेश गरेका छन्, अब विगतका तरिका र शैली परिवर्तन गर्नुपर्छ”, अध्यक्ष ओलीले भने । देशको आर्थिक विकास तथा समृद्धिका लागि राजनीतिक दलहरूले ध्यान दिनुपर्छ भन्दै उनले यसका लागि नेपाली काँग्रेस र एमाले मुख्यरूपमा हातेमालो गर्दै अगाडि बढ्नुपनैृमा जोड दिए । अध्यक्ष ओलीले नेपाल हिमाल, पहाड, तराई, १२५ जनजाति, १२३ भन्दा बढी भाषाभाषी भएको देश, पूर्वदेखि पश्चिमसम्म विभिन्न व्यापार, व्यवसाय र संस्कृति अपनाएको देश भएको चर्चा गर्दै सबै भाषा, जाति र पेसालाई सम्मान गर्न जरुरी छ भने । उनले लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनको इतिहासमा काँग्रेसले असाधारण योगदान दिएको चर्चा गर्दै नेपाली समाजलाई राणा शासनको अन्धकार युगबाट आधुनिक युगसम्म ल्याउन काँग्रेसले धेरै मिहिनेत, पसिना बगाएको, धेरै जुक्ति खियाएको र बलिदान गरेको बताए ।  लोकतन्त्र प्राप्तिको आन्दोलन तथा जनताको जीवनस्तरमा परिवर्तन ल्याउन काँग्रेसको  योगदान उच्च रहेको  उनले स्पष्ट पारे । उनले भने–“काँग्रेसको यो महाधिवेशन कर्मकाण्डी र नियमित संवैधानिक प्रक्रिया मात्र हुनु हुँदैन,   नीतिगत, व्यावहारिक र नेतृत्वगत रूपमा आफूलाई तयार राख्नुपर्छ ।” प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका २२ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गरी उच्च सम्मान दिएको बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डः 
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको कार्यान्वयन, राष्टूलाई एकताबद्ध र जनतालाई समृद्धि बनाउने नेतृत्व नेपाली काँग्रेसले चयन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको शान्ति र संविधानको यात्रा एउटा चरणमा पुगेकाले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न सक्ने र अरु राजनीतिक दलसँग सहकार्य गर्नसक्ने नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गरे । 
अध्यक्ष दाहालले भने–“काँग्रेस मुलुकको सबैभन्दा ठूलो र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टीको राष्ट्रिय समस्या समाधान गर्ने महत्वपूर्ण जिम्मेवारी छ, सो भूमिकालाई आत्मसात् गरोस् र सोहीअनुसारको नीति तथा कार्यक्रम पारित गरोस् ।”  राजनीतिक नेतृत्वमा हिम्मत र जोखिम उठाउन सक्ने क्षमता चाहिने उल्लेख गर्दै उहाँले शान्ति प्रक्रिया सुरु गर्दा गिरिजाप्रसाद कोइरालाले उठाउनुभएको जस्तै हिम्मत सुशील कोइराला र आफूले नगरेको भए संविधान जारी हुन नसक्ने स्पष्ट पारे । राष्ट्रिय एकताको मजबुत आधार बनाउनुपर्ने बताउँदै अध्यक्ष दाहालले अझै पनि मुलुक सहज अवस्थामा प्रवेश नगरिसकेकाले संविधान कार्यान्वयन गरेर भूकम्पपछिको पुनःनिर्माणमा लाग्नुपर्ने बताए ।  फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भने–“हामीले नाकाबन्दी नै खेप्नुपर्ने के गल्ती ग¥यौँ ? नेपालको राजनीतिक परिवर्तनमा छिमेकीको सहयोग र सद्भाव जरुरी छ । भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई गहिरोसँग सम्मान गरोस् । हामी सबैसँग समान व्यवहार चाहन्छाँै ।” उनले नेपालको समृद्धिका लागि सबै दल मिलेर जानुपर्ने र त्यसका लागि काँग्रेसले पनि फराकिलो छाती बनाउनुपने बताए । उनले भने– “सबै काँग्रेसले गरेको हो, अरु केही होइनन् भनियो भने त्यो पूर्णत गलत हुनेछ । मलाई त्यसले पीडा दिनेछ । 
नेका वरिष्ठ नेता देउवा ः नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नयाँ संविधान जारी भएपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि मुलुक र काँग्रेसलाई पनि अझ समावेशी बनाउनुपर्ने बताएका छन् । उनले यो मुलुक सबैको हो भन्ने भावना जगाउन राज्यका हरेक अङ्गलाई समावेशी बनाउनुपर्ने  आवश्यकता रहेको बताए । सभापति सुशील कोइरालाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको र यसको पूर्ति गर्न चुनौती रहेको बताउँदै उनले महाधिवशेनका अघि मुलुकका चुनौती र अवसर दुवै रहेको बताए । काँग्रेसको महाधिवेशनले कस्तो मार्गनिर्देशन गर्छ र कस्ता नेतृत्व चयन गर्छ भन्ने उत्सुकताका साथ राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा हेरिएको बताउँदै उनले भने–“महाधिवेशनका सामु अवसर र चुनौती दुवै छन् ।” महाधिवेशनले मुलुकमा हाल देखिएका चुनौतीलाई समाधान गर्ने बाटो पहिल्याउने नेता देउवाले बताए । संविधान जारी भएपछि काँग्रेसका संस्थापक तथा अग्रज नेताले झन्डै सात दशकअघि देखेको सपना पूरा भएको बताउँदै उनले तराई–मधेसमा उत्पन्न समस्यालाई सम्बोधन गर्न प्रदेश सीमाङ्कनलाई मिलाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए । 
विनाशकारी भूकम्पपछिको पुनःनिर्माण समयमै हुन नसक्दा सर्वसाधारण जनताले अझै पनि दुःखकष्ट भोग्नु परेको बताउँदै नेता देउवाले यस चुनौतीको सामाना गर्न काँग्रेस तयार रहेको उल्लेख गरे । महाधिवेशनले मुलुकका सबै चुनौतीका बारेमा छलफल गरी मार्गदर्शन गर्ने उनले बताए । 
फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदार ः मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा नेपाली काँग्रेसको ठूलो योगदान रहेको बताएका छन्। उनले काँग्रेसले राणा शासन, पञ्चायत व्यवस्था र निरङ्कुश राजतन्त्रविरुद्धको लडाइँमा परिणामुखी नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गरे । अध्यक्ष गच्छदारले महामानव बिपी कोइराला, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुर्वण शमसेर, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई आफूले आर्दश व्यक्तिका रुपमा लिएको स्मरण गर्दै महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरे ।
नेकपा माले महासचिव मैनाली 
नेकपा (माले)का महासचिव एवम् उप्रधानमन्त्री चन्द्रप्रकाश मैनाली संविधानससभाबाट सङ्घीय गणतन्त्र नेपालको समावेशी सविधान जारी गराउन नेकाले अत्यन्त  अद्वितीय भूमिका निर्वाह गरेको बताउँदै महाधिवेशन सफलताको कामना गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसीले देशमा जारी नयाँ संविधानलाई कार्यान्वयन गर्न फेरि पनि सबैपाटीबीच एकताको खाँचो रहेको बताउँदै प्रजातान्त्रिक आन्दोलनमा नेकाको ठूलो योगदान रहेको उल्लेख गरे । 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष राजीव पराजुलीले महाधिवेशनले समग्र मुलुकमा देखिएका सबैखाले परिस्थितिलाई सुधारेर अघि बढ्ने नेतृत्व चयन गर्ने छ भनी शुभकामना गर । नेपाली काँग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादवले महाधिवेशनले चयन गर्ने नेतृत्वले मुलुकमा देखिएका कालोबजारी र भ्रष्टाचारलाई अन्त्य गरेर आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउनुका साथै एकताको महाधिवेशनको रुपमा स्थापित हुने विश्वास व्यक्त गरिन् ।
विदेशी अतिथिहरु ः नेपाली काँग्रेसको आजदेखि सुरु भएको १३औँ महाधिवेशनमा विभिन्न देशका विभिन्न पार्टीबाट आएका प्रतिनिधिले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् । भारत विहारका मुख्यमन्त्री नितीशकुमारले केही समयअघि निधन हुनुभएका नेपाली काँग्रेसका नेता सुशील कोइरालासँग विहारको जेलमा भेट भएको, पञ्चायतकालमा बिपी कोइरालालाई नेपाल फर्कंदा बिदाइ गरेकोजस्ता घटनाको स्मरण गर्दै काँग्रेस पार्टी र यसका नेतासँग आफ्नो पुरानो सम्बन्ध रहेको धारणा राखे । उनले नेपाल आफ्नो समस्या समाधान गर्न आफैँ सक्षम रहेको विश्वास व्यक्त गर्दै नेपाल र भारतबीच अटुट सम्बन्ध रहेको बताए । नेपालमा एउटा पार्टीको महाधिवेशनमा अरु सबै पार्टीका शीर्ष नेताको सहभागिता हुने अद्भूत वातावरण आफूले देखेको भन्दै नितीशकुमारले यो संस्कृतिलाई निरन्तता दिन आग्रह गरे । भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारीले आफू छ वर्षअघि पनि काँग्रेसको १२औँ महाधिवेशनमा आएको स्मरण गर्दै त्यसबेला नेपालले छिटो संविधान पाउओस् भनी दिएको शुभेच्छा अहिले आउँदा पूरा भएको देख्न पाएको बताए । उनले बुद्धको जन्मथलो र सगरमाथाको देश नेपाललले पूरै विश्वलाई फेरि ज्ञान र विज्ञान दिने विश्वास व्यक्त गरे ।
आफ्नो देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टीका अध्यक्ष अमित साहले महाधिवेशन सफलताको शुभकामनाका लागि आफूसँग सन्देश पठाउनुभएको उनले जानकारी दिए ।
बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनुले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै व्यापार, यातायातको विस्तार  र विद्युत् विकासको क्षेत्रमा आफ्नो मुलुकले नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताए । सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपालले संविधान लेखनालाई सफलतामा पु¥याउन तत्कालीन प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइरालाले खेलेको भूमिकाको प्रशङ्सा गरे ।  भारतीय राष्ट्रिय काँग्रेसका महासचिव बिके हरिप्रसादले बलियो एजेन्डा र विचारको विकास गर्न महाधिवेशन सफल हुने बताए ।   इन्टरनेसनल रिलेसन कम्बोडियाका अध्यक्ष युसुनची, भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले काँग्रेसको महाधिवेशन नेपालको लागि मात्रै नभई दक्षिण एसियाकै लागी महत्वपूर्ण रहेको धारणा राखेका थिए । 
भारतीय नेताले गरे भारतीय नाकाबन्दीको विरोध
महाधिवेशनको सफलताको शुभकामना दिन आएका भारतीय नेताले भारतले केही समयअघि नेपाल माथि गरेको अघोषित नकाबन्दीको विरोध गरेका छन् । भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता जोगेन्द्र शर्माले भारतले गरेको आर्थिक नाकाबन्दीको कारण नेपाली जनता कठिनाइ र यातानाबाट गुज्रिनुपरेको दुखेसो पोखे । उनले भारतले नेपालमा धार्मिक अतिवाद लाद्न खोजेको आरोप लगाउँदै  नाकाबन्दीका कारण नेपालीले भोग्नुपरेको दुःखमा भारतीय जनता साथमा रहेको टिप्पणी गरे । लोकतान्त्रिक समाजवादी पार्टीका उपाध्यक्ष विजयप्रतापले भारतले केही समयअघि नेपालमा गरेको नाकाबन्दीका लागि आफू दुखित भएको बताउँदै नेपाली जनतासँग क्षमा माग्छु भने । उनले भारतमा समाजवादी आन्दोलनलाई बलियो बनाउन नसकेकै कारण नेपालले भारतीय थिचोमिचो सहनुपरेको बताए । भारतीय कम्युनिस्ट पार्टीका नेता पल्लभसिंह गुप्ताले नेपालको नयाँ संविधान प्रगतिशील भएको भन्दै त्यसको स्वागत गरे ।



Post a Comment

 
Top