0
उपप्रधानमन्त्री विजयकुमार गच्छदार नेपाली कांग्रेसमा लामो योगदान गरेका पूर्वकांग्रेस नेता हुन् । कांग्रेस छाडेर मधेसी जनअधिकार फोरममा लागेपछि गच्छदारले ‘जय नेपाल’ भन्न छाडेको धेरै वर्ष भइसकेको छ । तर, विहीबार उनले निकै महंगो मूल्य तिरेर खुल्लामञ्चबाट दुईपटक ‘जय नेपाल’ उच्चारण गरे । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा शुभकामना दिन मञ्चमा उभिनासाथ उनले सहभागीहरुलाई ‘जय नेपाल’ शब्दले सम्बोधन गरे । सम्बोधनका क्रममा उनी निकै भावुकजस्तो देखिएका थिए । सम्बोधनको अन्त्यमा पनि उनले ‘जय नेपाल’ भन्न छुटाएनन् । गच्छदार विहीबार बिहानसम्म बिराटनगरमा थिए । आफ्नो मातृपार्टीको अधिवेशनमा पाहुनाकारुपमा निम्त्याइएपछि गच्छदार विहीबारै बिराटनगरका विमान चढेर काठमाडौं आएका हुन् । उनी खुल्लामञ्चमा पुग्दा कांग्रेस नेताहरु आइसकेका थिएनन् । गच्छदारले केहीवेर मञ्चमा चित्रबहादुर केसीसँगै बसेर राधिका हमालको दोहोरी सुनेपछि बल्ल रामचन्द्र पौडेल, कृष्ण सिटौला र शेरबहादुर देउवाहरु मञ्चमा आइपुगे । ‘म आजै बिराटनगरबाट आएको हुँ, र अहिले फेरि बिराटनगरतिरै र्फकँदैछु,’ करिब पाँच मिनेट बोलेका गच्छदारले भने–‘म यत्तिका लागि आज बिराटनगरबाट काठमाडौं आएको हुँ ।’ उपप्रधानमन्त्री गच्छदारले बिरानगरबाट विमानमा ओहोर–दोहोर गरेका कारणले मात्रै उनको ‘जय नेपाल’ महंगो भएको होइन, बरु आफूले दशकौं रगत र पसीना बगाएको पार्टीबाट आज अलग हुनुपर्दाको पीडा पनि उनको अनुहारमा प्रष्ट झल्किएको देखिन्थ्यो । आफूले छाडेको घरमा फर्किँदा यस्तो हुनु स्वाभाविकै पनि हो । शायद यही भएर हुनुपर्छ, गच्छदारले आफ्नो मन्तव्यमा आफ्ना ‘आदर्श पुरुष’ वीपी, सुवर्णसमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला सबैको एक–एक गरेर प्रशंशा गरे । साथै गच्छदारले नेपाली कांग्रेसको इतिहासको मुक्तकण्ठले प्रशंसा गरे । अनि नेपाली कांग्रेसको काँधमा अझै पनि संविधान कार्यान्वयनको जिम्मेवारी रहेको बताए । आफ्नो जीवनको महत्वपूर्ण हिस्सा खर्च गरेको पार्टीको अधिवेशनमा प्लेनबाट आहोर–दोहोर गरेर पाँच मिनेट शुभकामना दिएका गच्छदारलाई अब कांग्रेसमै फर्कौं–फर्कौं जस्तो पो लाग्यो कि ? रिजर्भमा बस्न रुचाउने गच्छदारको मनको बात उनैले जानून् ।
यता, नेपाली कांग्रेस छाडेर मधेसी जनअधिकार फोरम हुँदै क्षेत्रीय दलमा खुम्चिएका पूर्वकांग्रेस नेता शरतसिंह भण्डारीले आफू नभएको भए नेपाली कांग्रेस सिद्धिने दाबी गरेका छन् । भण्डारीले अब महाधिवेशन सकिनासाथ केपी ओली नेतृत्वको सरकार ढाल्न समेत कांग्रेसलाई सल्लाह दिएका छन् ।  जातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका खेलेको कांग्रेस महाधिवेशनमा अहिले सबैको चासो छ । मेरो त झन् चासो हुने नै भयो । किनकि मैले यही पार्टीमा आफ्नो राजनीतिक जीवनको लामो कालखण्ड व्यतीत गरेँ । कांग्रेसको यो महाधिवेशन अत्यन्त महत्वपूर्ण समयमा हुन गइरहेको छ ।

Post a Comment

 
Top