0
गोल्डेन न्यूज संवाददाता
शुक्रवारदेखि पोखराको नयाँबजारमा सुरु हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले बिहीवार मेला स्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी दिएको हो । चैत्र १ गतेसम्म संचालन हुने मेलाको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । संघका अध्यक्ष बिन्दुकुमार थापाले मेलाका लागि गठन गरिएको मूल आयोजक समिति र अन्य विभिन्न उप–समितिले आ आफ्नो तयारी पुरा गरेको जानकारी दिए । मेलामा जम्मा तीन सय ६ स्टल रहने आयोजकले जनाएको छ । यो बर्ष ब्यापार मेला सँगै सूचना प्रविधि मेला पनि संचालन हुने भएको छ । मेला स्थलमा रहेको डोमभित्र ७८ स्टल सूचना प्रविधि मेलाको लागि छुट्याईएको छ । अन्य स्टल मध्य मध्य मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, कृषि १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहने छन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र एक करोड ११ लाख रुपैयाँ आम्दानी गर्ने आयोजकको लक्ष्य छ । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च लाग्ने र २७ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ । क्यान कास्कीसँगको सहकार्यमा सूचना प्रविधि मेला पनि सँगै गर्न लागिएकाले यसपटक अनलाइन टिकट बुकिङ गर्नेलाई ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ । टिकट काटेर मेला प्रवेश गर्ने र सांगीतिक कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक जनालाई गृहलक्ष्मी ग्यास समेत प्रदान गरिने भएको छ । मेला अन्तर्गत २२, २५, २८ र ३० गते उत्कृष्ट नाच्ने एक जनालाई भरिएको सिलिण्डर ग्यास उपहार प्रदान गरिनेछ । मेलाबाट बचत भएको रकम क्षेत्रीय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने संघले जनाएको छ । टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि चार रुपैयाँ र संघद्वारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई एक रुपैयाँ छुट्याइएको महासचिव रविन्द्रबहादुर प्रजुले जानकारी दिए । मेलालाई अर्घाखाँची सिमेण्टले मुख्य प्रायोजन गरेको छ । महोत्सवका बेला पोखरा आउने पाहुनालाई होटलमा २० प्रतिशत छुटको समेत ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।



Post a Comment

 
Top