0
शिशिर रेग्मी
सनातन अर्थात् पूर्वीय संस्कृति अन्तर्गत रहेका सबैजसो धर्मशास्त्रहरु, जसको यदि सतही व्याख्या मात्र गर्ने हो भने मानव जीवनका लागि त्यति व्यवहारिक र वैज्ञानिक सावित हुँदैनन् । त्यी शास्त्रहरु मानव जीवनका लागि उपयोगी बन्न सकून् त्यसका लागि तिनीहरुको आध्यात्मिक व्याख्या हुनुुपर्दछ । जीवनमा सर्वपक्षीय उन्नतिका लागि आध्यात्मिक रहस्यले भरिएका त्यी शास्त्रहरुको ज्ञानलाई चिन्तन, मनन र प्रयोग गरिनुपर्दछ । शास्त्रमा वर्णित ज्ञानलाई दैनिक व्यवहार, आचरण र सम्बन्धमा प्रयोग गर्नु र फलस्वरुप जीवनमा सच्चा सुख, शान्ति, आनन्द र खुशीको अनुभूति गर्नु नै यसको वैज्ञानिकता र व्यवहारिकता पनि हो । श्रीमद् भगवद्गीतामा वर्णित प्रत्येक महावाक्यहरुले हामीभित्र रहेको नकारात्मकतालाई समाप्त गरी सकारात्मक जीवन जिउन प्रेरित गर्नुका साथै मनोविकारमाथि सम्पूर्ण विजय प्राप्त गर्ने हौसला प्रदान गर्छन् । यस गीता ज्ञानलाई यज्ञसँग पनि तुलना गर्न सकिन्छ, जुन यज्ञमा संसारका समस्त मानवआत्माहरुले आफ्ना कमी कमजोरीहरु, समस्याहरु र नकारात्मकताहरुलाई आहुति दिएर जीवनमा सच्चा सुख, शान्ति एवं आनन्दको अनुभूति गर्न सक्दछन् । संसारको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको तनावलाई सही व्यवस्थापन गरी व्यक्तिगत, पारिवारिक र व्यवसायिक सफलता प्राप्त गराउने महत्वपूर्ण विधि र सूत्रहरु गीतामा उल्लेख गरिएको छ । अर्जुनको विषाद योग नै वास्तवमा आजको मानवको तनाव एवं चिन्ता हो, जसको समाधानको लागि परमात्माले ज्ञान एवं योगको विधि बताउनुभएको छ । यसका साथै हरेक व्यक्तिलाई आ–आफ्नो क्षेत्रमा विशिष्टता हाँसिल गर्ने शिक्षा पनि यही शास्त्रमा स्पष्टसँग वर्णित छ । स्व–परिवर्तनद्वारा नै विश्व परिवर्तन गर्न सकिने महामन्त्र यही शास्त्रले सिकाउँछ । स्वयं नै स्वयंको मित्र वा शत्रु भएको तथ्य उजागर गर्दै गीताले मन र कर्मेन्द्रियहरुमाथि पूर्ण नियन्त्रण गरी आत्मालाई स्वतन्त्र, शक्तिशाली र रचनात्मक बनाउनुपर्ने आवश्यकतालाई निर्दिष्ट गर्दछ । सम्पूर्ण मनुष्यात्माहरुको कल्याण गरी सारा सृष्टिको परिवर्तन गर्ने उद्येश्यले स्वयं भगवानले त्यो ज्ञान दिनुभएको थियो । त्यति मात्र होइन, त्यसले हरेक मानव मनरुपी कुरुक्षेत्रमा चलिरहेको द्वन्द्धलाई समाधान गरी मानवको मन–बुद्धि–संस्कारलाई दिव्यीकरण गर्ने भएकाले यो एक युद्धशास्त्र नभई योगशास्त्र भएको र कुनै धर्मविशेषको मात्र नभई सम्पूर्ण मानवमात्रको लागि भएकाले यसलाई सर्वशास्त्र शिरोमणि पनि भनिन्छ । गीतामा आत्मा, परमात्मा, दैवी गुण, आसुरी गुण, कर्म, शुद्ध भोजन, उच्च जीवन आदि विषयहरुको वर्णन छ । कमजोरी र विकारलाई जितेर जीवनमा दैवी गुणको धारणाको लागि प्रोत्साहित गरिएको छ । मन–बुद्धि–संस्कारको दिव्यीकरणको लागि आसुरीपनबाट मुख मोड्ने ईशारा दिइएको छ । यस जीवन संग्राममा सत्ज्ञानलाई तीक्ष्ण वाणको उपमा दिइन्छ । यी वाणलाई सदा सम्भालेर राख्ने र उचित समयमा प्रयोग गर्ने बुद्धि तरकश हो । शरीर नै रथ हो । यस शरीरुपी रथको रथी आत्मा हो । शब्द–स्पर्श–रुप–रस–गन्ध रुपी पाँचै विषयपथमा भाग्ने मन नै चञ्चल घोडा समान छ । ईश्वरीय यादमा मग्न रहनु नै मनरुपी घोडालाई काबुमा राख्ने लगाम हो । ज्ञानी योगी जीवनद्वारा प्रभु स्मृति बनाइराख्नु भगवान्लाई साथी र सारथी बनाएर चल्नु हो । हाम्रो कार्य–व्यवहार र सम्बन्ध–सम्पर्क नै कुरुक्षेत्र (कर्मक्षेत्र) रुपी युद्धस्थल हो । सच्चा गीताको सच्चा भावमा स्थित भएर रहनु नै जीवन संग्राममा विजयश्री पाउनु हो । जीवनका यिनै मूलभूत तथ्यहरुलाई समेटिएको शास्त्र श्रीमद् भगवद्गीताको आध्यात्मिक रहस्योद्घाटन गरी यस क्षेत्रमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई ज्ञान–योगले सिंचित गर्ने उद्दश्यले यही मिति २०७२ फागुन २७ गते बिहीबारदेखि चैत्र ३ गते बुधबारसम्म आयोजना गर्न लागिएको श्रीमद् भगवद्गीता ज्ञान महायज्ञमा राजयोगिनी ब्रह्माकुमारी अप्सरा दिदीले प्रशिक्षण दिनेछिन् । उनी विगत करिब २० वर्षदेखि यस ईश्वरीय विश्व विद्यालयमा समर्पित भई संस्थाका विभिन्न शाखाहरुमा सेवारत रही हाल पार्दी शाखाको सञ्चालिकाको रुपमा सेवारत छन् । उनले भारतको अन्नामलाई विश्वविद्यालयबाट मूल्य शिक्षा एवं आध्यात्मिकता अन्तर्गत आध्यात्मिक विज्ञानमा स्नातकोत्तर गरेकी छन् । करीब १० वर्षदेखि उनले नेपालका विभिन्न जिल्लाहरुमा विभिन्न वर्गहरुका लागि तनाव व्यवस्थापन, राजयोग शिविर, नेतृत्व विकास, सकारात्मक सोचको कला लगायतका प्रशिक्षण दिँदै आएकी छन् । साथै श्रीमद् भगवद्गीताको मानव जीवनमा महत्व र आवश्यकतामाथि विशेष अध्ययन र अनुसन्धान गरी करीब ४ वर्षदेखि यसै विषयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएकी छन् ।




Post a Comment

 
Top