0
गोल्डेन न्यूज संवाददाता
पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा नाच्नेहरुले यो पटक ‘बम्पर उपहार’ पाउने भएका छन् । मेला आयोजक पोखरा उद्योग वाणिज्य संघले मेलाको साँस्कृतिक कार्यक्रम अन्तर्गत लोकदोहोरी प्रतियोगितामा उत्कृष्ट नृत्य गर्नेलाई गृहलक्ष्मी ग्याँस नै उपहार दिन लागेको हो । ‘हामीले यसपटक गृहलक्ष्मी ग्याँससँगको सहकार्यमा मेला अन्तर्गत फागुन २२,२५,२८ र ३० गतेका दिन उत्कृष्ट नाच्ने एकजनालाई गृहलक्ष्मी ग्याँसको भरिएको ग्याँस सहितको सिलिण्डर उपहार दिने भएका छौँ’, मेला साँस्कृतिक उपसमिति संयोजक मोहनबाबु खड्काले भने,–‘पुरस्कार पाउनेले मेला प्रवेशको लागि काटेको टिकटको अर्धकट्टी भने देखाउनु पर्नेछ । बजारमा खाना पकाउने एलपी ग्याँसको अभाव भएकै बेला सामाजिक उत्तरदायित्व बहन गर्दै संघले यस्तो उपहार योजना अगाडि सारेको उनले बताए । पोखराको नयाँबजारमा फागुन २१ गतेदेखि चैत १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुँदैछ ।

मेलाको उद्घाटन नजिकिँदै गर्दा साँस्कृतिक उप–समितिले तयारीलाई समेत अन्तिम रुप दिन लागेको छ । सो समितिको संयोजकमा कार्यसमिति सदस्य समेत रहेका खड्का र सदस्यहरुमा कार्यसमिति सदस्य अर्जुन पोखरेल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष माधवप्रसाद पौडेल, मेनकाजी गुरुङ, मिलन सुवेदी, पुरुषोत्तम पराजुली, परमेश्वर बराल, सुरेश श्रेष्ठ, डिआर पोखरेल, काशी सुवदी सदस्य रहेका छन् । समितिको सल्लाहकारमा संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य नारायण कोइराला, गृहलक्ष्मी ग्याँस कम्पनीका अध्यक्ष धर्म बर्तौला,  लोकदोहोरी प्रतिष्ठानका संरक्षक प्रजापति पराजुली र लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सदस्य चोलेन्द्र पौडेल सदस्य रहेका छन् । मेलाको अवसरमा फागुन २४ गते सातवटा विभिन्न देशका समूहले साँस्कृतिक प्रस्तुति समेत दिनेछन् । स्टोनिया, मेक्सिको, श्रीलंका, इण्डोनेसिया, बंगलादेश र भारतको पञ्जाव र गुजरातको साँस्कृतिक टोलीको प्रस्तुति बेजोड हुने आयोजकको अपेक्षा रहेको छ । जिल्ला उद्योग वाणिज्य संघ स्तरीय लोकदोहोरी प्रतियोगिता अन्तर्गत पाल्पा, धादिङ, बाग्लुङ, पर्वत, म्याग्दी, गोर्खा, तनहुँ, कास्की र लेखनाथको टोली रहने साँस्कृतिक उप–समिति संयोजक खड्काले जनाए । यता, मेलाअन्तर्गतको यातायात व्यवस्थापन उपसमितिले समेत आफ्नो तयारीलाई अन्तिम अवस्थामा पु¥याएको छ । यातायात व्यवस्थापन उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य सुनिल गुरुङका अनुसार मेला अवलोकन गर्न आउने दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै जिल्लाका विभिन्न ठाउँबाट छुट्ने बसहरुलाई नयाँबजारको रुटमा ल्याउने निर्णय गरिएको छ। यसैगरी मेलाको प्रचारप्रसारको लागि नगर बसहरुमा मेलाबारेको जानकारी दिने प्रचार सामाग्री समेत राखिएको छ । मेलाको बेला रातीसम्म पनि सार्वजनिक बसहरु संचालनको तयारी गरिएको संयोजक गुरु«ले जनाए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुको उपस्थितिमा भएको सो समितिको बैठकले मेलामा आउने दर्शकलाई यातायातमा सास्ती भोग्न नपरोस् भन्नेमा सचेत रहने निर्णय समेत गरेको छ । संघका कार्यसमिति सदस्य सुनिल गुरुङ संयोजक रहेको यातायात व्यवस्थापन उपसमितिमा  जीतबहादुर गुरुङ, ओम बस्नेत, क्षेत्रबहादुर राना, रामकृण भण्डारी सदस्य रहेका छन् भने पोखरा बस व्यवसायी समितिका अध्यक्ष रमेश गिरी, बेगनासताल बस व्यवसायी समितिका अध्यक्ष खेमबहादुर गुरुङ, स्थानीय श्रृंग बस व्यवसायी समितिका अध्यक्ष  केदार पौडेल र ट्याक्सी व्यवसायी समितिका अध्यक्ष गान्धीराज गिरि सल्ल्लाहकार रहेका छन् । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ मेलाको आयोजना हुन लागेको हो ।


Post a Comment

 
Top