0
गोल्डेन न्यूज संवाददाता
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । भृकुटीमण्डपमा जारी बन्दसत्रमा पार्टीका महामन्त्री प्रकाशमान सिंहले प्रतिवेदन पेश गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले जानकारी दिए । यस्तै नीति तथा कार्यक्रम निर्माणका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेलको संयोजकत्वमा बनेको समितिले तयार पारेको नीति तथा कार्यक्रम पनि बन्द सत्रमा प्रस्तुत भएको छ । पौडेलले तयार पारेको नीति तथा कार्यक्रम केन्द्रीय सदश्य महेश आचार्यले प्रस्तुत गरेका छन्। कोषाध्यक्ष चित्रलेखा यादवको आर्थिक प्रतिवेदन पनि शुक्रबार नै पेस भएको छ । महाधिवेशनमा प्रदेश कांग्रेस कस्तो बनाउने भन्ने बहस हुने रिजालले बताए । महाधिवेशनपछि पार्टीलाई संघीय संरचना अनुसार रुपान्तरण गरिने रिजालले मिडिया सेन्टरमा पत्रकारहरुलाई बताए । उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमिति र विधानलाई पनि बढी समावेशी बनाउने विषयमा छलफल हुने रिजालले बताए । रिजालले महामन्त्रीको प्रतिवेदनमा अरु पार्टीकोजस्तो समूहगत छलफल नहुने बताए । ‘हाम्रो समूहमा छलफल गर्ने चलन  छैन,’ उनले भने, ‘नेताहरुले मन्तव्य राखेरै संशोधन राख्नुहुन्छ ।’ उनले सानो समिति बनाएर दस्तावेज परिमार्जन गरिने बताए । बन्द सत्रमा देश तथा विदेशस्थित जनसम्पर्क समितिबाट ३ हजार १ सय ७५ प्रतिनिधि सहभागी छन् । 

महाधिवेशनको बन्द सत्र शनिबार नै सकिनेछ भने आइतबारदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु हुनेछ । यसैबीच नेपाली कांग्रेसको महामन्त्री कृष्णप्रसाद सिटौलाले आज बिहान पार्टी कार्यालय सानेपा पुगेर आफ्नो प्यानलसहितको उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा गगन थापा र कोषध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।कांग्रेसको जारी १३ औं महाधिवेसनमा सभापतिका लागि त्री–पक्षिय प्रतिष्पर्दा हुने यसअघि नै तय भइसकेको छ । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्ण सिटौलाले प्यानलसहित उम्मेदवारी दर्ता गराइसकेका छन् भने देउवाले पनि बिहीबारैै उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा पौडेलले शुक्रबार बिहान ९ बजेर १८ मा आफ्नो प्यानलको उम्मेद्वारी दर्ता गराएका हुन् । संस्थापन पक्षका उम्मेदवार पौडेलको प्यानलबाट शशांक कोइरालाले महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् भने कोषाध्यक्षमा सीतादेवी यादवले उम्मेद्वारी दर्ता गराएकी छिन्। पौडेलका प्रस्तावकमा महामन्त्री प्रकाशमान सिंह रहे समर्थकमा सुजाता कोइराला, रामशरण महत, पद्मनारायण चौधरीसहित ७ जना रहेका छन् । नेता अर्जुननर्सिंह केसीले पनि महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्ष पदमा नेता कृष्ण कार्कीले पनि उम्मेदवारी दर्ता गराएका छन् । अहिलेसम्ममा नेपाली काग्रेसको केन्द्रीय सदस्यमा खुलातर्फ ७५ जनाले र प्रदेशतर्फ ८० जनाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


Post a Comment

 
Top