0
गोल्डेन न्यूज संवाददाता
अर्कैको नाममा नक्कली नागरिकता बनाएर कीर्ते गरी जग्गा बेच्ने जेल चलान भएका छन् । जिल्ला अदालत कास्कीले कीर्ते गरी जग्गा बेच्ने काभ्रे बल्थली–२ घर भई काठमाडौं बस्ने कृष्णबहादुर श्रेष्ठलाई जरीवाना सहित जेल चलान गरेको हो । स्याङ्जा जगतभन्ज्याङ ४ का रंगप्रसाद श्रेष्ठको नामको नक्कली नागरिकता बनाई पोखरा ८ जाल्पारोडको ९ आना जग्गा कीर्ते गरेर ९५ लाखमा बेच्ने कृष्ण बहादुरलाई ६ बर्ष कैद र चार लाख ७५ हजार जरीवाना गरिएको छ । जिल्ला न्यायाधिश नरिश्वर भण्डारीको इजलासले मंगलवार फैसला गर्दै जग्गा कारोवारमा संलग्न स्याङ्जा वाडखोला घर भई पोखरा बस्दै आएकी अनिता शर्मालाई एक बर्ष कैद र चार लाख ५० हजार जरिवाना तोकेको छ । श्रेस्तेदार दिनवन्धु बरालले दिएको जानकारी अनुसार कीर्ते काममा संलग्न भिम बहादुर कोइरालालाई ६ महिना कैद र चार लाख ५० हजार जरिवाना, केशब प्रसाद भट्टराई, लक्ष्मी पौडेल र खेम नारायण पौडेललाई जनही एक महिना कैद र चार लाख ५० हजार जरिवाना गरिएको छ । अन्य प्रतिवादी सीता गुरुङ, कल्पना वराल, मन्जु गुरुङ, लिल वहादुर कार्की, हेम कुमार तिमल्सिना, मदन कुमार पौडेल, कृष्ण पनेरु, शिव प्रसाद पौडेल, दिपक शर्मा र ईन्द्र शर्माले सफाई पाएका छन् । कृष्णबहादुरले २०७० असोज २१ गते रंगप्रसादको नाममा नक्कली नागरिकता बनाएर जग्गा वेचेको खुलेको थियो । श्रेष्ठसहितको गिरोहले बेचेको जग्गा किनेका साला भिनाजु जाल्पारोडकै रामबहादुर केसी र पर्वत तिलहारका रत्नबहादुर खत्रीले रंगप्रसादलाई फिर्ता गरिदिएका थिए ।


Post a Comment

 
Top