0
राजधानीको न्यूरो अस्पतालमा उपचाररत नेपाली कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको मुखबाट बोली निस्कन थालेको र शारीरिक क्रियाकलाप सन्तोषजनक रहेको अस्पताल स्रोतले बतायो । कांग्रेस सभापति सुशील कोइरालाको निधनपछि श्रद्धान्जली दिन कोइराला निवास महाराजगञ्जमा पुगेका आचार्य त्यहिँ अस्वस्थ भएका थिए । श्रद्धान्जली दिएर बाहिरिने क्रममा बेहोस भएपछि उनलाई पहिले महाराजगञ्जस्थित गंगालाल र त्यसपछि बाँसबारीस्थित न्यूरो अस्पताल लगिएको थियो । हाइपरटेन्सनका कारण उनको मस्तिष्कको बायाँ भागमा रगत जमेकाले शरीरको दायाँ भाग पक्षघात भएका सिटीस्क्यानबाट देखिएको थियो । न्यूरो हस्पिटलको भीआइपी कक्षमा उपचाररत आचार्य पछिल्ला दुई दिनमा बिस्तारै आवाज निकाल्न थालेको स्रोतले जानकारी दियो । उनले केहि शब्दहरु बोल्न थालेका छन् । चिकित्सकहरुले यसलाई ‘आश्चर्यजनक सुधार’ का रुपमा लिएका छन् र आवाज पूर्णरुपमा फर्किनसक्ने विश्वास व्यक्त गरेका छन् । हाल उनको ‘स्पिच थेरापी’ र फिजियोथेरापी भइरहेको छ । पक्षघात भएको शरीरको दाया भागमा पनि केहि सुधार आएको अस्पताल स्रोतले बतायो । फिजियो थेरापी तथा स्पिचथेरापी जारी राख्ने गरी अस्पतालले उनलाई चाँडै डिस्चार्ज गर्ने तयारी गरेको छ । दुई दिनअघि आचार्यलाई भेट्न पुगेका कांग्रेस नेता भिमसेनदास प्रधानले स्वास्थ्यमा क्रमिक सुधार आएको अनलाइनखबरलाई बताए । उनले भने,–‘उहाँको चेतना पूर्णरुपमा खुलेको छ । मलाई भेट्दा आँसु खसालेर रुनुभयो । म पनि भावुक भएँ ।’



Post a Comment

 
Top