0
गोल्डेन न्यूज संवाददाता
पोखरालाई आगामी ३ बर्ष भित्रमा बालमैत्री शहर बनाउने अभियानलाई सफल पार्न हरेक घर परिवारबाटै सुरुवात हुनुपर्ने शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । पोखराको नयाँबजारमा रहेको सेफ किड्स प्रि–स्कुलको दिक्षान्त समारोहमा बोल्ने वक्ताहरुले बालबालिकाको पहिलो पाठशाला घर भएकोले पोखरालाई वाल मैत्री वनाउने अभियानमा घर परिवारबाटै वालवालीहरु मैत्री वातावरण हुनु पर्नेमा जोड दिएका हुन । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. दिलबहादुर क्षेत्रीले दोश्रो शिक्षान्त समारोहको उद्घाटन गर्दै बालबालिहरुको पहिलो पाठशाला घर भएकोले पहिला घरमा वालमैत्री वातावरणको सुरुवात गर्नसके पोखरालाई बाल मैत्रीशहर बनाउने अभियानलाई सफलपार्न सकिने दाबी गरे। उनले भने–‘हामीले यो ३÷४ बर्षको उमेरमा गाई, भैसी चराउन जाने गरेका थियौं, यस्ता स्कुल भनेको हाम्रो लागि नयाँ कुरा हुन्थ्यो, हाल समय परिर्वतनसंगै धेरै परिर्वतन भएको छ । ‘बालबालिकाहरुको मनोभावना बुझेर उनीहरुले गर्न खोजेको कृयाकलापहरु गर्न दिएको खण्डमा उनीहरुले छिटो सिक्ने उनले बताए । पोखरा उप–महानगर पालिका कार्यालयका वरिष्ठ अधिकृत ओमरा पौडेलले बालबालिकाहरुको क्षेत्रमा काम गर्ने संस्थाले ७० प्रतिशत जसो सामाजिक क्षेत्रमा र ३० प्रतिशत मात्र नाफाबाट आफ्नो रोजीरोटी संचालन गर्नुपर्ने बताए । उनले भने–पोखरा क्षेत्रमा बालबालिकाको नाममा पैसा कमाउने धेरै छन उनीहरुलाई हामीले अनुगमन गरी कानूनी दायरामा ल्याउनु पर्दछ। पोखरा वडा नम्बर ९ का वडा सचिव लोकदर्शन कोईरालाले १५ प्रतिशत जसो विकास बजेट खर्च खर्च गर्नुपर्ने प्रावधान भए पनि त्यसलाई कार्यान्वयनमा आउन फलामको चिउरा चपाए सरी भएको बताए । पोखरालाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान अन्तर्गत आफूहरुले एक बर्षदेखि आफ्नो वडामा अभियान संचालन गरी प्लाष्टिकको झोलाको विकल्पमा ५ हजार झोला वितरण गरेको उनले जनाए । स्कुलका प्रमुख कार्यकारी अधिकृत टेकमान प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रिन्सिपल नारायणी कोईराला, अभिभावक वन्दना शाक्य, केशव काफ्ले, संचारकर्मी रिता पालिखे लगायतले वालवालिकाको बारेमा चर्चा गरेका थिए ।




Post a Comment

 
Top