0
श्रमजीवी पत्रकारको छाता सङ्गठन पत्रकार महासङ्घ कास्की शाखाको बहुउद्देश्यीय सुविधा सम्पन्न पक्की भवन रु एक करोड ४५ लाख ७१ हजार ३१५ को लागतमा निर्माण सम्पन्न भएको छ । नेपाल सरकार, स्थानीय निकाय, औद्योगिक प्रतिष्ठान, पोख्रेली विभिन्न सङ्घसंस्था, उद्योगी व्यवसायी एवम् व्यक्तिबाट सङ्कलित आर्थिक सहयोगबाट भवन निर्माण गरिएको हो । भवनको ३०० क्षमताको सभाहलसहित पोसाक परिवर्तन कक्ष, महासङ्घको कार्यालय, तालिम, बैठक, प्रशासनिक कक्ष, सूचना केन्द्र सहितका छुट्टाछुट्टै पाँच कक्ष रहेको शाखा अध्यक्ष रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार भवन निर्माणका लागि सूचना तथा सञ्चार मन्त्रालयबाट रु १४ लाख, पोखरा उपमहानगरपालिकाबाट रु ३५ लाख ५२ हजार, लक्ष्मी हाउस पोखराबाट रु १६ लाख ५१ हजार १५१, जिल्ला विकास समिति कास्कीबाट रु पाँच लाख २५ हजार र लेखनाथ नगरपालिकाबाट पाँच लाख ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको थियो । त्यसैगरी छुनुमुनु मिडिया हाउसबाट रु तीन लाख पाँच हजार, सहारा क्लब पोखरा युके हङकङबाट तीन लाख रुपैयाँ, पत्रकार राजु भण्डारीबाट तीन लाख रुपैयाँ, जगदम्बिका सिग्देलबाट तीन लाख रुपैयाँ र उद्योगपति सूर्यबहादुर केसीबाट रु दुई लाख २५ हजार प्राप्त भएको उनले जानकारी दिए । भवन निर्माणका लागि हालसम्म ५०० भन्दा बढी विभिन्न सङ्घसंस्था र व्यक्तिबाट आर्थिक सहयोग जुटेको थियो । पाँच वर्षअघि पत्रकारबाटै रु तीन लाख ५० हजार सङ्कलन गरेर निर्माण कार्य सुरु गरिएको सो भवन निर्माणका लागि कास्की जिल्लाबाट प्रत्यक्ष एवम् समानुपातिकतर्पm बाट निर्वाचित सभासद्ले संसद् विकास कोषमार्पmत रु नौ लाख उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे पनि हालसम्म चार लाख रुपैयाँ मात्र प्राप्त भएको शाखा सचिव त्रिभुवन पौडेलले बताए ।  पोखरा उपत्यका नगर विकास समितिले पोखरा–७ ढाँडमा उपलब्ध गराएको डेढ रोपनी जग्गामा सो भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको अग्रस्थानमा पोखराका पहिलो पत्रकार चित्राङ सिग्देलको अर्धकदको सालिक, शिलालेख, गार्डेन र पार्किङ स्थल निर्माण गरिएको छ । सञ्चार माध्यमको मोफसलको राजधानीको रूपमा विकसित पोखरा उपत्यकामा हाल १२ वटा दैनिक पत्रिका, डेढ दर्जनभन्दा बढी एफएम रेडियो चार वटा स्थानीय टेलिभिजन र अन्य साप्ताहिक तथा अर्ध मासिक एवम् मासिक पत्रिका प्रकाशन तथा प्रसारण हुँदै आएका छन् । महासङ्घको कास्की शाखामा हाल ३०० जनाभन्दा बढी  सदस्य आबद्ध रहेका छन् । रासस

Post a Comment

 
Top