0
डेभिट श्रेष्ठ
नेपाल र नेपाली जनतालाई स्वतन्त्र अधिकारसम्पन्न र सुनिश्चित गर्न कांग्रेस पार्टीले नेपालको प्रजातान्त्रिक इतिहासमा विभिन्न कालखण्ड पूरा गर्दै सात दशक लामो इतिहासको पृष्ठभूमि बोकेकाले समय सापेक्षित विभिन्न जनआन्दोलन २००७, २०३६, २०४६ र २०६२÷६३ मा निरंकुशताविरुद्धको लडाइँको सधैं नेतृत्व गरी मुलुकलाई राजनीतिक दासत्वमुक्त बनाएको छ । १०४ वर्ष पुरानो निरंकुश जहानियाँँ राणा शासनलाई २००७ मा कांग्रेसको सबल नेतृत्वले मुख्य भूमिका गरी हटाएको थियो । २००७ सालमै नेपालमा जनप्रतिनिधिद्वारा लिखित संविधान नेपाली जनचाहना, इच्छा र आकांक्षाको आवाज उठेको थियो । २०७२ सालमा कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले संघीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान २०७२ जारी गरी नेपाली जनताको चाहनालाई पूरा गरेको छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवद्वारा जारी गरिएको नेपालको संविधान सोही मितिदेखि नेपाली जनता र नेपालको रक्षा गर्नेगरी घोषणा गरिएकाले देश–विदेशमा रहने सम्पूर्ण नेपालीको समान हक–अधिकार र जन्मसिद्ध नैसर्गिक अधिकार धर्म, जातजाति, लिंग, वर्ग र क्षेत्रलाई प्रदान गर्ने संसदमा राष्ट्रपतिले घोषणा गरेका थिए ।
कांग्रेस नेतृत्वको सरकारले घोषणा गरेको संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा आएकाले नयाँँ नेपालको संविधानका पिता भनिने स्व. सुशील कोइरालाले गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान–२०७२ कार्यान्वयन गर्ने जिम्मेवारी पनि कांग्रेसलाई हुनुपर्छ भन्ने मान्यता आत्मसात् गर्दै लोकतान्त्रिक पद्धति मजबुत बनाउन संविधानको रक्षार्थ आफू पराजित हुने निश्चित हँुदाहुँदै पनि प्रधानमन्त्रीको उम्मेदवार बनेको बताउँथे । दुर्भाग्यवश सुशील कोइराला अहिले भौतिक रूपमा नेपाली जनताको अगाडिबाट अस्ताइसकेका छन् ।
कोइरालाको अनुपस्थितिमा कांग्रेस १३औं महाधिवेशनको तयारीमा जुटेको छ । देश–विदेशमा कांग्रेस महाधिवेशनको रौनक देखिएको छ । विवाद पनि सतहमै देखिएका छन् । लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धाबाट नयाँँ नेतृत्वले स्थान पाउनु, स्वच्छ नेतृत्व विकासमा दक्ष, कार्यकुशल, क्षमतावान् व्यक्ति नयाँँ कार्यक्रम र योजनासहितको ‘भिजनरी’ नेतृत्वको विकास हुनुपर्छ भन्ने कांग्रेसजनको बुलन्द आवाज चर्किरहेको छ ।
स्वदेश तथा विदेशमा गरी पार्टीका करिब आधा ९५ लाख सदस्य क्रियाशील रहेको कांग्रेसको अधिकारिक वेबसाइटमा विष्तृत विवरणसहित उल्लेख छ । समय–समयमा विधान संशोधन गरी नेपालका हरेक जातजाति, धर्म, वर्ग, लिंग र क्षेत्रको सामाजिक समानुपातिक नेतृत्व हुनुपर्छ भन्ने मान्यताले १२आंै अधिवेशनबाट विदेशमा रहने कांगेसका क्रियाशील नेता तथा कार्यक्रर्ता आबद्ध उसको विदेशस्थित भ्रातृसंगठन नेपाली जनसम्पर्क समितिलाई पार्टीको महाधिवेशनमा सहभागी हुन पाउने प्रावधान गरेको छ । विदेशमा रहने गैरआवासीय नेपाली कस्तो किसिमको विदेश बसाइको ‘स्टाटस’ व्यक्ति कांग्रेसको क्रियाशील सदस्य हुन पाउने वा नपाउने भन्नेबारे उल्लेख गरेको छैन । कांग्रेसको विधानमा साधारण तथा क्रियाशील सदस्य ग्रहण गर्न नेपाली नागरिकले मात्र पाउने व्यवस्था गरेको छ । कांग्रेसको साधारण वा क्रियाशील सदस्य पार्टी नेतृत्वको जिम्मेवारीदेखि नेपालको संवैधानिक महत्वपूर्ण पद, नीति नियम निर्माण गर्ने अथवा संविधानको रक्षार्थ राष्ट्रपति वा राष्ट्रको कार्यकारिणी प्रमुख प्रधानमन्त्रीको स्थानसम्म पुग्न सक्छ । त्यसैले कांग्रेसको १३आंै महाधिवेशनमा पार्टीको नेतृत्व चयन गर्ने अधिकार पनि नेपाली नागरिकलाई मात्र हुनुपर्छ ।
विदेशमा रहेका कांग्रेसका नेता तथा कार्यकर्ता गैरआवासीय नेपालीलाई कांग्रेसको भ्रातृसंगठन नेपाली जनसम्पर्क समितिमा आबद्ध भएर संगठित भएका छन् । नेपालमा रहँदा कांग्रेसमा सक्रिय भूमिकामा रहेकाहरू देशको बदलिदो भूराजनीतिक परिवर्तनका बाबजुद पनि विदेशबाटै कांग्रेसको राजनीति गर्ने गर्छन् । धेरै वर्ष युरोप, अमेरिका, अस्ट्रेलिया बस्नेले नेपाली नागरिकतालाई परित्याग गरी आफू बसेको देशको नागरिकता लिइसकेका छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका कतिपय देशमा दोहोरो नागरिकता राख्ने प्रावधानसँगै नेपाली नागरिकतालाई परित्याग गर्न आवश्यक पर्दैन । नेपाल सरकारलाई यसको जानकारीसमेत दिइएको हँुदैन । यस्तो अवस्थामा नेपालीमूलका विदेशी नागरिकले नेपालमा रहँदा नेपाली नागरिकता र विदेश रहँदा सम्बन्धित देशको नागरिकता प्रयोग गर्दै आएको जानकारीमा आइरहेकै छ । तर, नेपालको नयाँ संविधान संघीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान–२०७२ ले नेपालमा दोहरो नागरिकताको व्यवस्था गरेको छैन ।
नेपालको संविधानले व्यवस्था गरेको हक–अधिकार
गणतान्त्रिक संघीय नेपालको लोकतान्त्रिक संविधान–२०७२ को भाग–२ नागरिकता शीर्षकमा धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने सकिने, पृष्ठ नम्बर ९२ मा लेखिएको छ । विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्यराष्ट्रबाहेकका देशमा बसोबास गरेको साबिकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउनेगरी गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिनेछ । नेपालको संविधानबमोजिम गैरआवासीय नेपालीलाई प्रदान गरिने नागरिकतामा सामाजिक, आर्थिक र सांस्कृतिक उल्लेख गरेको छ । तर, राजनीतिक अधिकारसहितको नेपालमा दोहोरो नागरिकताको प्रावधान नभएको स्पष्ट उल्लेख गरेको छ ।
कांग्रेसको आसन्न १३आंै महाधिवेशनमा क्रियाशील सदस्य नेपालीमूलका विदेशी नागरिकसमेत रहेका छन् । विदेशी नागरिकता प्राप्त गरेका नेपालीको बोलवाला छ । विदेशमा वितरण गरिएको क्रियाशील सदस्यताको फाराममा स्पष्टसँग नखुलाइएको हुनाले विदेशमा बस्ने नेपाली भाषामात्र बोल्ने हुने हो वा नेपाली नागरिक नै हुनुपर्ने हो वा नेपालीमूलको विदेशी नागरिक हो, यसमा स्पष्टता छैन । कांग्रेसको विधानमा नेपाली नागरिकमात्र उसको साधारण वा क्रियाशील सदस्य बन्न पाउने भए पनि व्यवहारमा त्यसो गरिएको छैन । संघीय गणतन्त्र नेपालको लोकतान्त्रिक संविधान–२०७२ र कांग्रेसको विधानविपरीत विदेशमा कांग्रेसको क्रियाशील सदस्यता जो कसैको नाममा पनि बनाउने गरिन्छ ।
विदेशमा कसरी कांग्रेसको क्रियाशील सदस्य बनाइन्छ ?
कांग्रेसले १२आंै महाधिवेशन देखि पाँच सय क्रियाशील सदस्य भएको देशमा तीनजना महासमिति सदस्य र चारजना महाधिवेशन प्रतिनिधिलाई महाधिवेशनमा सहभागी गरी एक चुनाव क्षेत्रबराबरको मान्यता दिने गरेको छ । कतिपय देशमा नेपालीको जनसंख्या पाँच सयभन्दा पनि कम छन् । स्कान्डोनाभियन देशहरूमा नेपालीको जनसंख्या नगन्य छ । नर्वे, स्वीडने, फिनल्यान्ड र डेनमार्कमा नेपालीको जनसंख्या चार÷पाच सयभन्दा तल छ । सबै नेपालीको सहभापगिता हँुदा पनि एनआरएनएको सदस्य पाँच सय छैन । त्यस्तै जर्मनी, स्पेन, पोर्चुगल, बेल्जियम, नेदरल्यान्ड र बेलायतको पनि हालत एउटै छ । 
नेपाली जनसम्पर्क समितिका सभापतिहरूले आफ्नै घरको कोठामा बसेर नेपालीको नाम संकलन गरी कांग्रेसको क्रियाशील सस्दस्यको फाराम भर्ने चलन भएकाले क्रियाशील सदस्यमा हस्ताक्षर पनि उस्तै–उस्तै हुन्छन् । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट सम्बन्धित व्यक्तिको तस्बिर र ठेगाना संकलन गरिने भएकाले सम्बन्धित व्यक्तिको ठेगाना स्पष्ट हुँदैन साथै सम्पर्क नम्बर पनि हँुदैन । नम्बर भएको खण्डमा सम्पर्कै हुन सक्दैन । कांग्रेसको क्रियाशील सदस्यलाई यसबारे जानकारी नै गराइएको हुँदैन । किनकि यिनीहरू सबै कांग्रेसका फर्जी क्रियाशील सदस्य भएकाले पार्टीको केन्द्रीय कार्यालयबारे थाहै हुँदैन । कानुनी भाषामा भन्दा जालसाजी गरेको बुझिन्छ । यस्तो काम गर्न युरोप तथा अमेरिकाको कानुनविपरीत भएकाले कसैले पनि कानुनको सहयोग लिएका खण्डमा दोषीलाई सम्बन्धित देशको कानुन बमोजिम कडा कारबाही हुन सक्छ ।
क्रियाशील सदस्यको छानबिन समिति
कांग्रेसको महाधिवेशन चार वर्षमा हुन पर्ने थियो तर हुन सकेन । समय अवधि बढाउँदै लगियो । तर पनि औपचारिकता पूरा गर्नुपर्ने भएकाले क्रियाशील सदस्यको छानबिन समिति कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वकानुनमन्त्री नरहरि आचार्यको संयोजकत्वमा एउटा समिति बनाएको थियो । नेपालको गाउँ, नगरबाट कांग्रेसको क्रियाशील सदस्यबारे धेरै विवाद भएको थियो । जिल्ला पार्टी कार्यालय, केन्द्रीय पार्टी कार्यालयदेखि लिएर शीर्षनेताका घर–आँगनसम्म कार्यकर्ता तथा नेताको विरोध तथा रिलेअनशन बसेको कांग्रेसजनले अझै भुलेका छैनन् । गुटबन्दीका कारण पार्टीका इमानदार सच्चा सेनानीलाई क्रियाशील सदस्यबाट वञ्चित गरियो भन्ने माग थियो । आखिर पार्टीको केन्द्रीय कार्यसमिति बैठक र शीर्ष नेताको निर्णयले यो समस्या समाधान भएको थियो । विदेशमा रहेका नेपाली जनसम्पर्क समितिको जम्मा क्रियाशील सदस्य संख्या करिब १२ हजार छ । करिब १२ हजार क्रियाशील सदस्य र विभिन्न देशमा रहेका नेपाली जनसम्पर्क समितिबाट एउटै उजुरी परेको थिएन । किनकि करिब १२ हजार क्रियाशील सदस्यमध्ये ७५५ क्रियाशील सदस्य फर्जी र विदेशी नागरिकता लिएका नेपालीमूलका विदेशी नागरिक क्रियाशील सदस्य भएकाले कुनै विवाद नभएको हो भन्ने स्पष्ट हुन्छ । छानबिन समितिलाई दिएको दबाब र पूर्वाग्रही महत्वकांक्षीका कारण न त क्रियाशील सदस्यको हस्ताक्षर नै जाँच गरियो न त ठेगाना नै हेरियो । केवल औपचारिकतामात्र पूरा गरेर क्रियाशील सदस्य छानबिन समितिले पास गरेको स्पस्ट हुन्छ ।
महाधिवेशन प्रतिनिधि चयनमा सधैं विवाद ः अस्ट्रेलिया र अमेरिकामा क्रियाशील सदस्यबाट सस्दस्यता दस्तुर लिने गरिँदैन । किनकि सामाजिक सञ्जाल र ट्वीटरबाट बनाइएका क्रियाशील सदस्यसँग कहाँ दस्तुर खोज्न जाने प्रत्येक देशले पाँच सय क्रियाशील सदस्यको रकम करिब १० लाख नेपाली रुपैयाँ महाधिवेशनमा सहभागी हुन जाने महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यबाट कांग्रेस केन्द्रीय कार्यालयमा चुक्ता गरिन्छ । युरोपियन देशमा बसोबास गर्ने प्रतिव्यक्तिले दुई हजार युरो तिरेका छन् भने बेलायतबाट प्रतिव्यक्ति १ हजार दुई सय पाउन्ड जम्मा गरिएको छ । त्यस्तै अमेरिका र अस्ट्रेलियामा दुई हजार डलर प्रतिव्यक्तिले तिरेका छन् । कांग्रेसको आसन्न १३आंै महाधिवेशनमा भाग लिन जाने पैसा भएका व्यक्तिले मात्र मौका पाएका छन् । तर, उनीहरू ७५५ सबै विदेशी राहदानी लिइसकेका नेपालीमूलका विदेशी नागरिक छन् । नेपालमा बस्दा कांग्रेसका कार्यकर्ता तथा नेता भई पार्टीमा क्रियाशील भएका व्यक्ति छन् । विदेशी नागरिकता लिएर वर्षांै विदेशमा बस्दा पनि नेपालको माया र कांग्रेसको सिद्धान्त र पार्टीका प्रजातान्त्रिक आदर्श अझै ज्वलन्त भएको बताउँदै पार्टीको महाधिवेशनमा प्रतिनिधि भएर जान चाहने सोच भएको देखिन्छ । तर, सहभागीको संख्या जम्मा सातजना भएकाले पूर्वाग्रही र महत्वाकांक्षीले विवाद गरेको हो भन्ने गर्दै आएको कुरा नेपाली जनसम्पर्क समितिका नेतृत्वले स्वीकार्छन् । विदेशमा भएका नेपाली जनसम्पर्क समितिमा १३औं महाधिवेशनको नजिकै आउँदा प्रतिनिधि छनोट गर्दा धेरै विवाद भएकाले कांग्रेस केन्द्रीय कार्यालय मुख्य सचिव ऋषिकेश तिवारीले प्रत्यक देशमा क्रियाशील सदस्यलाई भेलामा बोलाई सबैको सहमति वा लोकतान्त्रिक पद्धतिबाट महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्य चयन गर्नु भन्ने निर्देशन गरेका थिए । केन्द्रीय कार्यालयबाट आएको यस्तो परिपत्र तथा निर्देशनलाई कुनै नेपाली जनसम्पर्क समितिले पालना गर्न सकेनन् किनकि उनीहरूसित वास्तविक क्रियाशील सदस्य पाँच सय छैनन्, त्यसैले भेला बोलाउन सकेनन् । असन्तुष्ट पक्षलाई यो एउटा मुख्य कारण पनि अहिले बनेको छ । सबैजसो नेपाली जनसम्पर्क समितिमा सहमतिबाट ६÷७ जनाको समूह बसेर भागबन्डाका आधारमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गरिएको छ । कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको भ्रातृसंगठन नेपाली जनसम्पर्क समितिले लोकतन्त्रको शिर झुकाइ दिएका छन् ।
फर्जी क्रियाशील र विदेशी नागरिकको सहभागिता
युरोपबाट नेपाली जनसम्पर्क समितिका सात देशले कांग्रेसको आसन्न १३आंै महाधिवेशनमा ४९ जना सहभागी हँुदैछन् । बेलायतलाई छाडेर अरू सबै देशका जनसम्पर्क समितिले फर्जी क्रियाशील सदस्य बनाएको हामीसित प्रमाण छन् । उसले सत्यतथ्य खोजतलास गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु आफ्नो कर्तव्य र जिम्मेवारी पनि हुन आउँछ । जानी राखांै कुन देशबाट के–कति फर्जी र विदेशी नागरिक क्रियाशील सदस्यमा बेल्जियम ५६५ स्पेन ८०५ डेनमार्क, ८५५, जर्मनी ७५५, नेदरल्यान्ड ८०५ र पोर्चुगल ३५५ छन् । विदेशबाट कांग्रेसको १३आंै महाधिवेशनमा भाग लिने सम्पूर्ण प्रतिनिधि गुट तथा उपगुटमा बाँडिएका छन् । त्यसैले केन्द्रीय नेताले भोट ब्यांकका रूपमा नेपाली जनसम्पर्क समितिलाई प्रयोग गर्न सक्ने भएकाले तैंचुप मैचुप छन् । अमेरिकाबाट आउने सातजनामा ६ अमेरिकाका नागरिक भइसकेका छन् । बेलायतमा विवाद कायम छ । दुई समूहमध्ये सातजना बेलायतको राहदानीवाहक हुन् भने पाँचजना बेलायती नागरिकवाहक नेपालीमूलका बेलायती हुन् । अस्ट्रेलियामा विवाद चुलिएको छ । आसन्न महाधिवेशनमा भाग लिने प्रतिनिधिमध्ये ६ जना अस्ट्रेलियन नागरिक हुन् । नेपाली मूलका अस्ट्रेलियन नागरिक कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएर सहभागी हुँदै छन् । त्यस्तै बेल्जियममा पनि विवाद छ तर बेल्जियमको नागरिक भएका नेपालीमूलका बेल्गिग नागरिक ६ जनाले कांग्रेसको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यका रूपमा भाग लिँदैछन् । स्पेनबाट सातजनामा चारजनाले स्पेनिस नागरिकता लिएका छन् । पोर्चुगलका सातमध्ये चारजना पर्चुगिज राहदानीवाहक नेपालीमूलका छन् । जर्मनीबाट सातमध्ये पाँचजना जर्मनी पासपोर्ट होल्डर नेपालीमूलका जर्मनी हुन । नेदरल्यान्डका सातमध्ये ६ जना यहाँको राहदानीवाहक नेपालीमूलका डच नागरिक छन् ।
नेपालीमूलका विदेशीलाई कसरी रोक्ने ?
कांग्रेसको आसन्न १३औं महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधि देश–विदेशबाट आउनेक्रम जारी रहेको अवस्थामा विदेशबाट नेपाल आउने विदेशी नागरिकता ग्रहण गरेका प्रतिनिधिसित सम्बन्धित देशको राहदानीमा प्रवेशाज्ञा लिएरमात्र नेपाल प्रवेश गर्नेछन् । नेपालको पैवेशद्वारमा राहदानीमा एराइभल भन्ने एउटा स्टिकर टाँसेर छाप लगाउने गरिन्छ । राहदानीमा सम्बन्धित देशको भ्यालिट भिसा र प्रवेशद्वारमा टाँसेको एराइभल स्टिकर भएको राहदानीको छानबिन गरेरमात्र विदेशबाट आउने कांग्रेसको १३औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई सहभागी गर्नुपर्छ । विदेशी नागरिकता ग्रहण गरेका सबै नेपालीमूलका विदेशीसित नेपाली नागरिकता साथमै हुने गर्छ । अमेरिका र अस्ट्रेलियाको नागरिकता लिँदा कुनै पनि व्यक्तिले आफ्नो जन्म देशको नागरिकता फिर्ता दिनुपर्ने प्रावधान नभएकाले सबै विदेशी नागरिकता लिएका नेपालीमूलका विदेशी नागरिकसित नेपाली नागरिकताको प्रमाणपत्र यथावत् भएका कारण नेपाली नागरिकताको प्रमाणपत्र देखाएर विभिन्न देशबाट नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गरी आउने प्रतिनिधिलाई सहभागी गराउनुहँुदैन । यस्तो प्रावधान कांग्रेसको विधान र संघीय गणतन्त्र नेपालीको लोकतान्त्रिक संविधान विपरीत हुनेछ ।
(स्रोत ः रातोपाटी)

Post a Comment

 
Top