0
नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि १ सय ६२ जनाको उम्मेद्वारी परेको छ।  निर्वाचन समितिले विहिवार विहान ८ बजेदेखि मनोनयनको समय तोकेकामा साँझसम्म सभापति र कोषाध्यक्षको पद्मा सहित १ सय ६२ जनाको उम्मेद्वारी परेको हो। सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाको मात्र उम्मेद्वारी दर्ता भएको छ। यस्तै, कोषाध्यक्षमा देउवा प्यानलकै चित्रलेखा यादवले उम्मेद्वारी दर्ता गराएक छन् । देउवा प्यानलका महामन्त्रीका उम्मेद्वार अर्जुननरसिंह केसीले भने उम्मेद्वारी दर्ता गराएका छैनन् । यस्तै, कार्यवाहक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको प्यानलका उम्मेद्वारले पनि मनोनयन दर्ता नगराएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए। पहिलो दिन २५ जना खुला केन्द्रीय सदस्यका लागि ४८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। खुला केन्द्रीय सदस्यमा खुमबहादुर खड्काले पहिलो नम्बरमा उम्मेद्वारी दर्ता गराएका छन्।  महेश आचार्य, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, डा. प्रकाशशरण महत, प्रदिप गिरी, चन्द्र भण्डारी, प्रदिप पौडेल, एन पी साउद, तारानाथ रानाभाट, रमेश लेखक, मनमोहन भट्टराई, ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मणप्रसाद घिमिरे, डा. शेखर कोइराला, गोविन्दराज जोशी र विनयध्वज चन्दले खुलातर्फबाट उम्मेद्वारी दर्ता गराएका छन्। 
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल, सांसद्हरु राजन केसी, रामहरि खतिवडा र बद्री पाण्डेले पनि खुलाबाटै उम्मेद्वारी दर्ता गराएका छन्। यस्तै, एउटा प्रदेशबाट २ जनाका दरले केन्द्रीय सदस्य चयन गरिनेमा १ नम्बर प्रदेशमा ९, ३ नम्बर प्रदेशमा १० तथा ५ र ७ नम्बर प्रदेशमा ८र८ जनाको उम्मेद्वारी परेको छ। २, ४ र ६ नम्बर प्रदेशमा ३र३ जनाले मात्रै उम्मेद्वारी दर्ता गराएका छन्।  महिलातर्फको ६ सीटमा प्रतिमा गौतम, डा. डिला संग्रौला, पुष्पा भुषाल, अम्बिका बस्नेत, इश्वरी न्यौपाने लगायतका २२ जना महिला नेतृको उम्मेद्वारी परेको छ। निर्वाचन समितिले उम्मेद्वारी दर्ताको समय शुक्रबार अपरान्ह १२ बजेसम्म तोकेको छ।
सुजताद्वारा फिर्ता 
यसैबीच नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापति पदमा समर्थन गर्दै आफ्नोे उम्मेदवारी फिर्ता लिएका छन् । बिहीबार आफ्नै निवास मण्डिखाटारमा कार्यवाहक सभापति पौडेल, नेता डा रामशरण महत, डा शशाङ्क कोइराला, डा शेखर कोइराला लगायतका नेताको उपस्थितिमा नेत्री कोइरालाले सभापतिको उम्मेदवारी दिने धोषणा फिर्ता लिएकी हुन् । उनले मंगलबार आफू सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन । कार्यवाहक सभापति पौडेलले सबैको राय र परामर्शले यो मुलुकका लागि काँग्रेसको परम्परालाई अक्षुण्ण राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पौडेलले पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजानका लागि एकताको खाँचो रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने स्पष्ट पारे। उनले भने–“म २०१७ सालदेखि निरन्तर पार्टीमा समर्पण रहेको व्यक्ति हुँ पार्टीको वरिष्ठ व्यक्ति पनि हुँ मलाई सहयोग गर्नुहोस् पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्छु ।” नेत्री कोइरालाले पार्टीभित्र गिरिजाबाबुप्रति आस्था राख्ने व्यक्तिले अब पार्टी कता जाने हो भन्ने चिन्ता प्रकट गरेकोे र पार्टीका साथीहरू निराश नहुन भनेर आफूले उम्मेदवारी फिर्ता लिएको बताइन । उनले भनिन्–“मेरो कारणले पार्टी सङ्कटमा पर्नु हुँदैन त्यसैले मैले आफ्नो उम्मेदवारी फिर्ता लिन्छु ।” कोइरालाले बिपीको मेलमिलाप र गिरिजाबाबुको सहमति सहकार्य एकतालाई अगाडि लैजान आफू कटिबद्ध भएर लाग्ने स्पष्ट पारिन् ।
यता, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टी कार्यालय सानेपामा आयोजित उम्मेदवारी घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा महामन्त्री पदमा नेता अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवार घोषणा गरे । उनीहरूको प्रस्तावकमा पूर्वमहामन्त्री केवी गुरुङ र पूर्वकेन्द्रीय सदस्य खुमबहादुर खड्काले समर्थन गरेका थिए । यसअघि महामन्त्रीका उम्मेदवार केसी केन्द्रीय सदस्य र कोषाध्यक्षका उम्मेदवार यादव पार्टीको कोषाध्यक्ष थिइन । वरिष्ठ नेता देउवाले सभापति पदका लागि सहमति हुन्छ कि भनेर हिजोसम्म मैले पर्खेर बसेँ तर सहमति नभएपछि आफूले सभापति पदमा उम्मेदवारी दिएको बताए । 
उनले आफू पार्टी सभापतिमा विजय भएमा एकजना कार्यकर्ताले पनि पार्टी छाड्न नपर्ने चर्चा गर्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने जानकारी दिए ।



Post a Comment

 
Top