0
गोल्डेन न्यूज संवाददाता
आधुनिक युगमा पनि यो समाजबाट अझै अन्धविश्वास र कुरीति हट्न सकेको छैन । जसको उदाहरण हालै तनहुँको घाँसीकुवा गाविस वडा नं १ निवासी ५१ वर्षीय कृष्णमाया कसाईलाई लिन सकिन्छ । बोक्सीले दुःख दिएको भन्दै मानिसलाई अन्धविश्वासमा पारेर ठगी गरिरहेकी कसाईलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।  जिल्लाको आँवुखैरेनी–६ बस्ने ३७ वर्षीय कृष्णबहादुर गुरुङलाई कसाईले बोक्सीले दुःख दिएको छ म ठीक पार्छु भेटी चढाउनुपर्छ भन्दै नगद र गरगहना गरी रु एक लाख ६० हजार ९०० बराबर ठगी गरेको प्रहरीले जनाएको छ । कसाईले बिरामी गुरुङलाई आफ्नै घरमा फागुन १० देखि १५ गतेसम्म बन्धक बनाएर फोनसमेत गर्न नदिएर राखेको प्रहरी अनुसन्धानवाट खुलेको छ । उक्त स्थानबाट प्रहरीले नगद रु ८४ हजार, सुनको सिक्री एक थान, पञ्चरत्ने बाला एक थान, मोबाइल एक थान, रुद्राक्ष माला आठ थान, हँसिया एक थान, त्रिशुल एक थान बरामद गरेको छ । कृष्णमायालाई आइतबार शरीर बन्धक राखी ठगी गरेको शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानकार्य भइरहेको प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिए ।

Post a Comment

 
Top