0
गोल्डेन न्यूज संवाददाता
कांग्रेसमा केन्द्रीय पदाधिकारी थप्ने प्रयास सफल नभएपछि संस्थापन पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने सम्भावना कम भएको छ । सहमतिका लागि आइतबार निर्णायक छलफल गर्ने भनिए पनि सभापतिका आकांक्षी कृष्णप्रसाद सिटौला र सुजाता कोइराला कार्यवाहक सभापति रामचन्द्र पौडेलले बोलाएको बैठकमै गएनन् । शशांक निवासमा बसेको बैठकमा पौडेलले दुवैलाई आउन बारम्बार आग्रह गरेका थिए । 
संस्थापन पक्षमा सर्वसम्मत उम्मेदवारको टुंगो नलागेपछि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले पनि सोमबार गर्ने भनिएको उम्मेदवारी घोषणा ढिलाइ गर्ने भएको छ । देउवा पक्षको शनिबार बानेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले टिम घोषणा गर्ने तयारी गरेको थियो । संस्थापन पक्षका असन्तुष्ट नेतालाई आफ्नो पक्षमा तान्ने प्रयासस्वरूप देउवा पक्षले उम्मेदवारी घोषणामा ढिलाइ गरेको हो । देउवा पक्षीय नेता विमलेन्द्र निधिले आन्तरिक छलफल बाँकी नै रहेकाले सोमबार घोषणा गर्न नभ्याइने जनाए ।
देउवा पक्षले कोइराला परिवारका शशांक या शेखर कोइरालालाई आफ्नो टिममा ल्याउने प्रयास जारी राखेको छ । शशांक र निधिबीच शनिबार भएको छलफलमा दुई पक्षबीच संवादलाई निरन्तरता दिने समझदारी भएको थियो । निधिले शशांकलाई पार्टी एक बनाउन देउवा पक्षबाट महामन्त्रीमा उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले बतायो । देउवा समूहको प्राथमिकता शशांकलाई नै आफ्नो टिमको महामन्त्रीमा ल्याउन सकिन्छ कि भन्ने छ । त्यसो गर्दा पार्टी एक भएको सन्देश दिन सकिने, पार्टी सञ्चालनमा सहज हुने र नेतृत्वका लागि मत पनि बढ्ने तर्क देउवा पक्षको छ । 
शशांकले देउवा पक्षका नेताहरूसँग आफू नआए पनि प्रतिस्पर्धालाई हार्दिक र स्वस्थ बनाउन आग्रह गरेका छन् । शशांक नगएको अवस्थामा शेखर र सिटौलालाई ल्याउने प्रयास पनि देउवा पक्षले गरिरहेको छ । कान्तिपुरसँग शनिबार कुरा गर्दै सिटौलाले संस्थापन पक्ष नछाड्ने बताएका थिए । देउवा पक्षीय नेता प्रकाशशरण महतले सहमतिका लागि संस्थापन पक्षका महत्त्वपूर्ण र प्रभावशाली व्यक्तिहरूलाई ल्याउने प्रयास जारी रहेको बताए । ‘उताका (संस्थापन) का महत्त्वपूर्ण नेता आए पार्टीमा यो पक्ष र ऊ पक्ष भन्ने समाप्त पनि हुन्छ र मत पनि थपिन्छ भन्ने उद्देश्य हो,’ महतले भने, ‘हाम्रो टिममा सिनियर र प्रभावशाली व्यक्ति हुँदाहुँदा पनि आकांक्षी नभएको कारण पनि यही हो ।’ उनले पार्टी एक बनाउने किसिमले टिम बनाउने कोसिस जारी रहेको बताए । 
संस्थापन पक्षबीच उम्मेदवार तय गर्न शनिबार बसेको करिब ४ घण्टा लामो बैठक बिनानिष्कर्ष टुंगिएको थियो । बैठकमा सभापतिका लागि महामन्त्री प्रकाशमान सिंहले दाबी जारी राखेका छन् । उनले आफ्नो नेतृत्वमा महामन्त्री शशांकसहितको टोली बनाएर अघि बढ्दा बलियो हुने तर्क गर्दै आएका छन् । तर, उनलाई उपसभापतिमा व्यवस्थापन गरेर महामन्त्रीमा शशांकलाई अघि बढाउने तयारी पौडेलको छ । अर्का नेता रामशरण महतलाई मनोनीत महामन्त्री बनाउने प्रतिबद्धता जनाइएको पौडेल निकट स्रोतले बतायो । सभापतिका आकांक्षी भए पनि महतले संस्थापन पक्षमा सहमति कायम गर्न मनोनीत महामन्त्रीमा बस्न तयार रहेको संकेत दिएका थिए ।
पौडेलले कोषाध्यक्षमा मधेसी समुदायबाट उम्मेदवार तय गर्नुपर्नेमा जोड दिएका छन् । कतिपयले सिटौला नआउने भए पनि गगन थापालाई कोषाध्यक्षको उम्मेदवार बनाएर समेट्नुपर्ने सुझाव दिएका थिए । यसो गर्दा सिटौलाले संस्थापन पक्षबाट धेरै मत काट्न नसक्ने अनुमान छ । थापाले सिटौला क्याम्पबाट महामन्त्रीको उम्मेदवारी दिने बताउँदै आएका छन् । कोइराला परिवारबाटै सुजाता कोइरालाले पनि सभापतिको उम्मदेवारी दिने बताउँदै आएकी छन् । उनलाई सरकार या संसदीय समितिमा व्यवस्थापन गर्ने गरी मनाउने प्रयास सुरु भएको छ । उनले शशांकलाई नभएर आफूलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएकी छन् । महामन्त्रीका लागि शेखरको दाबी पनि कायमै छ । ‘रामचन्द्रजीले बोलाउनुभएको थियो । भोलि बैठक राख्नुहोस्, म भोलि आउँछु, आज (आइतबार) आउन सक्दिनँ भने,’ सुजाताले भनिन्,‘मेरो तयारी सभापतिमै छ ।’ नीति तथा कार्यक्रम अनुमोदन कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले नीति तथा कार्यक्रम परिमार्जनसहित अनुमोदन गरेको छ । महामन्त्री सिटौलाले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन पनि बैठकले सर्वसम्मतिबाट अनुमोदन गरेको छ । मुलुक संघीय प्रदेशमा प्रवेश गरे पनि पार्टी संरचना यसअघि जस्तै हुने भएको छ । बैठकले यसअघि अञ्चलबाट प्रतिनिधित्व हुने एकरएक जनाको ठाउँमा यस पटक प्रदेशबाट दुईरदुई जना प्रतिनिधित्व हुने निर्णयमात्रै गरेको छ । केन्द्रीय कार्यसमितिको आकार यसअघिकै ८५ सदस्यीय नै कायम भएको छ । बैठकमा महिला केन्द्रीय सदस्यहरूले प्रदेशबाट कम्तीमा एकरएक जना महिला प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै निर्णयको विरोध गरेका थिए । महिला केन्द्रीय सदस्यहरूको विरोधको बाबजुद बैठकले केन्द्रीय समितिको आकार नबढ्ने निर्णय गरेको हो ।

विभिन्न देशका विशिष्ट व्यक्तिलाई निमन्त्रणा

नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न देशका विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा निमन्त्रणा गरिएको छ। महाधिवेशनको उद्घाटनसत्र यही फागुन २० गते खुलामञ्चमा आयोजना हुँदैछ । सो समारोहमा भाग लिन सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुषमा स्वराज, भाजपा नेता भगतसिंह कोसियारी तथा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धी लगायत नेतालाई निमन्त्रणा गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् राष्ट्रपति सि जिनपिङ र पार्टीका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओलाई पनि महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनका लागि निमन्त्रणा पठाइएको काँग्रेस विदेश विभागका प्रमुख सुजाता कोइरालाले जानकारी दिए । यसैगरी भारतीय बहुजन समाज पार्टीका अध्यक्ष कुमारी मायावती, भाकपा (माक्र्सवादी) का महासचिव सीताराम यचुरी, राष्ट्रवादी काँग्रेस पार्टीका अध्यक्ष शरद पवार, महासचिव डिपी त्रिपाठी र भाकपाका महासचिव शुभराम सुधकर रेडीलाई आमन्त्रण गरिएको छ । यस्तै भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नीतिश कुमार, उत्तराखण्डका मुख्यमन्त्री हरीश रावत, बङ्गालका मुख्यमन्त्री ममता बनर्जी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र जनता दल (युनाइटेड) का अध्यक्ष शरद यादवलाई निमन्त्रणा गरिएको कोइरालाले बताए । म्यानमाकी प्रजातन्त्रवादी नेत्री आङ्साङ सुकी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष जर्ज पपन्द्रेयु र महासचिव लुइस आयलालाई पनि महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको छ । उद्घाटन सत्रमा बङ्गलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स, भुटान लगायत देशका नेतालाई समेत आमन्त्रण गरिएको छ ।






Post a Comment

 
Top