0
नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराइले एमाओवादी अध्यक्ष प्रचण्डलाई आगामी चुनावमा आफूबिरुद्ध उठेर चुनाव जित्न चुनौति दिएका छन् । नयाँ शक्ति प्रचार अभियान कास्कीले पोखरामा विहीबार गरेको पत्रकार सम्मेलनमा डा.भट्टराइले प्रचण्डलाई घुमाउरो पारामा यस्तो चुनौति दिएका हुन् । केही दिनअघि एमाओवादी अध्यक्ष प्रचण्डले भट्टराइलाई गोर्खाबाट अब चुनाव जितेर देखाउन चुनौति दिएको विषयमा पत्रकारले राखेको जिज्ञासामा डा.भट्टराईले गोर्खाली जनताले प्रचण्डलाई आफूबिरुद्ध चुनाव लडेर जित्न चुनौति दिइसकेको भन्दै त्यसमा आफ्नो समर्थन रहेकाले थप टिप्पणी आवश्यक नरहेको बताए । उनले भने,–‘गोर्खाली जनताले मसँग चुनाव लडेर जितेर देखाउन प्रचण्डलाई चुनौति दिइसकेका छन्, त्यसैले यसबारेमा मैले थप भनिरहनु आवश्यक छ जस्तो मलाई लाग्दैन ।’ भट्टराइले गोर्खामा नयाँ शक्ति सबैभन्दा ठूलो शक्तिका रुपमा स्थापित भइसकेको दाबीसमेत गरे । नयाँ शक्तिमा आकर्षण बढ्दै गएको भन्दै गोर्खामा सबैभन्दा ठूलो पार्टीमा नयाँ शक्ति दर्ज भइसकेको र चाँडै देशकै ठूलो शक्ति बन्ने उनको दाबी थियो । भट्टराइले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्तिका रुपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले मुलुक विकास र आर्थिक समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसका लागि नयाँ शक्ति निर्माण गरिएको स्पष्ट पारे । वैशाख र कात्तिकमा मात्रै चन्दा नयाँशक्ति अभियानका संयोजक डा.भट्टराईले नयाँ शक्तिले वैशाख र कात्तिकमा मात्रै चन्दा उठाउने घोषणा गरे । ६÷६ महिनाको अन्तरमा चन्दा उठाउने नयाँ श्क्तिको नीति रहेको भन्दै उनले वर्षको पहिलो महिना वैशाख र त्यसको ६ महिनाको अन्तर गर्दा कात्तिक हुने भएकाले वैशाख र कात्तिकमा चन्दा उठाउने उनले प्रष्ट्याए । आर्थिक संकलन सम्बन्धि नीति सार्वजनिक गरिसकिएको भन्दै उनले आर्थिक संकलन खुल्ला र पारदर्शी बनाइने प्रतिबद्धता जनाए । चन्दा उठाउन पार्टीका कोहि पनि एक्लाएक्लै नहिँड्ने बताउँदै उनले संस्थाबाट एक वर्षमा २० लाख र व्यक्तिबाट ५० हजारभन्दा बढी चन्दा नलिने नीति लिइएको जानकारी दिए । साथै १० हजार बढी चन्दा लिनुपरे बैंकमार्फत मात्रै लिइने उनले बताए ।





Post a Comment

 
Top