0
शुक्रबार फेरि अकल्पनीय रुपमा विमान दुर्घटनाको खबर सञ्चारमाध्यममा फैलियो । नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको ‘९–एन–एजेबी’ जहाज कालिकोटको चिलखायामा दुर्घटनामा प¥यो । इन्जिनमा समस्या देखिएपछि पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले आफू मरेर पनि यात्रुहरुलाई बचाए । यो दुर्लभ घटना हो, किनभने दुर्घटना हुने निश्चित भएपछि सर्वप्रथम चालकले आफ्नै ज्यान जोगाउन प्रयत्न गर्दछ । आफू बच्ने सुनिश्चित भएपछिमात्रै उसले यात्रुको जीवन बचाउँछ । यो यातायातका साधन चलाउने चालकमा बढी लागू हुन्छ । बस दुर्घटनामा सायदै चालकले ज्यान गुमाएको सुनिन्छ । जहाज दुर्घटनामा परेर यात्रु सकुशल फेला पर्नु पनि दुर्लभ विषय हो । सवारी दुर्घटना हुँदा समयमै उद्धार हुन सके धेरै यात्रुको जीवन बचाउन सकिन्छ । तर, जहाज दुर्घटना हुँदा यात्रुहरु विरलै सकुशल भेटिन्छन् । नेपालजस्तो मुलुकमा विमान अवतरण गराउन भौगोलिक कारणले पनि सहज छैन । त्यसमा पनि नेपाली आकाश असुरक्षित रहेको अवस्थामा सम्भावित दुर्घटनाबाट जोगिन धेरै गाह्रो छ । तर, शुक्रबार चालकद्वयले हरसम्भव प्रयास गरेर नौ यात्रुको जीवन जोगाउन आफ्नो जीवन बलिदान दिएर सबैको स्मरणको पात्र भएका छन् । बुधबार तारा एयरको विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका तीनसहित २३ यात्रुले ज्यान गुमाएका थिए । सो दुर्घटनाको छानबिन प्रक्रिया अघि बढिरहेको अवस्थामा शुक्रबार अर्को दुर्घटनाको खबरले सबैलाई स्तब्ध बनाएको छ । नेपालको हवाई सेवा असुरक्षित रहेको चर्चा भइरहँदा एकपछि अर्को दुर्घटनाले यात्रुहरुमा गम्भीर शंका उत्पन्न हुने गरेको छ । नेपालमा यस्ता नागरिक पनि छन, जसका लागि हवाई यात्राको विकल्प नै छैन । खाद्यान्नदेखि व्यापार, औषधोपचारलगायत हवाई यात्रामै निर्भर हुनुपर्ने बाध्यता छ । यतिखेर सकुशल गन्तव्यमा पुग्ने र फर्किने त्रास झनै बढेर गएको छ । एकातर्फ वायुसेवा सञ्चालकहरुको सुरक्षा र लगानीको कुरा छ, अर्कोतर्फ यात्रुको सकुशल यात्राको सवाल छ । नेपालजस्तो गरिब मुलुकमा सानो दुर्घटनाले पनि दीर्घकालीन असर पार्दछ । मानिसको जीवनसँग जोडिएका विमान सेवा भरपर्दो, विश्वासिलो र गन्तव्यमा अवतरण हुने सुनिश्चितता हुनैपर्दछ । वायु सेवा निगमले विमान÷जहाज कम्पनीलाई उडान भर्न अनुमति दिनुअगाडि प्राविधिक रुपमा सुरक्षित रहेको÷नरहेको सुनिश्चित गर्नु अपरिहार्य छ । नेपालमा विमान चालकको भविष्य अनिश्चित बन्दै गएको छ । पाइलट÷इन्जिनियर बन्ने सपनालाई यस्ता घटनाले पूर्ण्विराम लगाउन पनि सक्छन् । आफ्नो जिम्मेवारी वहन गर्दागर्दै दिवंगत भएका एयर काष्ठमण्डपका चालक दलले संवेदनशील भएर यात्रुमाथि न्याय गरेका छन् । जहाज अनियन्त्रित भएपछि ‘नआत्तिनुहोस्, हामी मरेर भए पनि तपाईंहरुको ज्यान बचाउँछौँ’ भनेर गरेको प्रतिबद्धता उसै गरी पूरा गरे । दुर्भाग्य, नियतिले ती महान् नेपाली सपूतहरुको जीवन रहेन । जहाजको अघिल्लो भाग ठोक्किएर च्यापिएका चालक छटपटिँदा घटनास्थलमा सबै गाउँले स्तव्ध भए । जहाज बाहिर ल्याए पनि उनको उद्धार हुन सकेन । तत्कालै अस्पताल पु¥याउन सकेको भए चालकले ज्यान गुमाउनु पर्ने थिएन । भौगोलिक विकटताका कारण दुर्घटनामा पर्नेहरुलाई समयमै उद्धार गर्न नसक्दा प्राण त्याग गर्नुपर्ने विवशता हाम्रो मुलुकमा छ । घटनास्थलमा हेलिकोप्टर आउन दुई घन्टा लागेको थियो । जब कि, दुर्घटना भइसकेपछि तत्कालै घाइतेको उपचार गर्न नसकिए परिणाम अकल्पनीय हुनसक्छ । जहाज दुर्घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नो जीवन उत्सर्ग गरी यात्रुको ज्यान बचाउने पाइलटद्वयप्रति हार्दिक श्रद्धाञ्जली !


Post a Comment

 
Top