0
होमप्रसाद लम्साल
६९ वर्ष पुरानो पार्टी नेपाली कांग्रेसको नेतृत्व हत्याउन अहिले बरिष्ठ नेता शेरवहादुर देउवा र कार्यबाहक सभापति रामचन्द्र पौडेल दौडमा छन्। उमेर समुहका हिसावले वरिष्ठ नेता शेर बहादुर देउवा र कार्यबाहक सभापति रामचन्द्र पौडेल उस्तै हुन्। सभापतिका अरु केही प्रत्यासी देखिए पनि अन्त्यमा नेतृत्व हत्याउने दौडमा यी दुईजनावीच नै प्रतिस्पर्धा हुने देखिएको छ। देउवा र पौडेल सभापतिको चुनावी मैदानमा पुग्दै गर्दासँगै छोरा पुस्ताका नेताहरु महामन्त्री बन्न खोज्दैछन्। बहुसंख्यक नाति पुस्ता महाधिवेशन प्रतिनिधि आएका बेला उनीहरुको रोजाई कस्तो हुने हो त्यो हेर्न त महाधिवेशन नै कुर्नुपर्नेछ। बृद्धको कोटीमा नपुगी राजनीति गर्न नै बन्देज जस्तै रहेको कांग्रेसमा यो पटक बहुमत नाति पुस्ता महाधिवेशन प्रतिनिधि भएर आए पनि केही हजुरबा पुस्ताका नेताहरु तर्सिएका छन्। नेता जो सुकै होस हजुरबा पुस्ता वा नातिपुस्ता तर विचारमा युवा हुनु पर्दछ। यतिखेर कांग्रेसमा नेता धेरै छन् तर नयाँ विचार र नीति बनाउन खोज्ने नेताको खडेरी नै परेको भन्दा हुन्छ। यस्तो बेला सधै विपी कोइरालाको विचार र विरासतले पार्टी बाँची रहला त? त्यो सम्भव छैन। समयानुकुल नहिड्नेहरु पछि पर्छन्। विगत केही महाधिवेशन कर्मकाण्डी मात्रै बन्दै गएकोले यतिखेर नयाँ सोच र नीति बनाउने नेताको खोजी भैरहेको हो। महाधिवेशनको पूर्वसन्ध्यामा सार्वजनिक भएको कांग्रेसको नीति तथा कार्यक्रम केवल कर्मकाण्डीमात्रै भएपछि सतहमा नै विरोध हुन पुग्यो। त्यसैको जवाफमा कांग्रेसका केही युवा नेताले तयार पारेको नीतिको खाकाले नयाँ सन्देश दिन खोजिएको छ। त्यो नयाँ सन्देश पार्टीले आफ्नो सम्पति नबनाउने हो भने केवल पत्रिकामा छापिएको एक लेख भन्दा बढी हैसियत नहोला। कम्तिमा अबको कांग्रेसलाई जिउँदो राख्ने हो भने नयाँ विचार र नीति चाहिन्छ नै। अन्यथा कांग्रेसलाई आफ्नो विरासत जोगाउन हम्मे पर्नेछ।
मुलुकको पुरानो र सबै भन्दा ठूलो पार्टी भएकोले पनि अब आउने नेतृत्व कस्तो होला भन्ने कुरामा राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो हुनु स्वभाविक पनि छ। यसबीचमा कांग्रेसका जम्मा ६ जना सभापति भए। तीमध्ये कोइराला परिवारका चार दाजुभाइले ४८ वर्ष र कोइराला परिवार इतरका दुईजनाले २१ वर्ष पार्टी प्रमुखको जिम्मेवारी लिए। एकै परिवारका चार कोइरालाले दुई तिहाइभन्दा बढी समय पार्टी सम्हाले भने सुवर्णशमशेर राणाले २ वर्ष र कृष्णप्रसाद भट्टराईले १९ वर्ष सभापति भए। यो इतिहास हेर्दा नेपाली कांग्रेसमा विरासतको राजनीतिले राम्रै जरा गाडेको भएपनि त्यो जरा यसपाला उखेलिने निश्चित हुँदै गएको छ। लोकतान्त्रिक पार्टीमा पारिवारिक विरासत गौण हुन्छ, राष्ट्र र समाजले अपेक्षा गरेको नेतृत्वले जिम्मेवारी पाउनु पर्दछ।
विपी कोइरालाले टंकप्रसाद आचार्यलाई सभापति बनाएर आफू कार्यबाहक सभापति हुँदै स्थापना गरेको नेपाली कांग्रेसको नेतृत्व परिवर्तनको संघारमा छ। त्यसपछि  सुवर्णशमशेर जवरा र कृष्णप्रसाद भट्टराईको कार्यकालबाहेक दुई कार्यकाल कोइराला परिवारबाट कांग्रेस नेतृत्व बाहिरिएको थिएन। विपीपछि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले १५ वर्ष र सुशील कोइराला ५ वर्ष पार्टीको नेतृत्वमा रहे। सुशीलको निधनसंगै कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिरिने निश्चित भएको छ। कांग्रेसको नेतृत्वमा को आउँला र कस्तो नेतृत्व आउँला भन्नेबारे केही दिन कुर्नैपर्छ।
सुजाता कोइरालाले कुनै पदमा एडजष्ट हुनका लागि बाहेक कोइराला परिवारका  शेखर र शशांकले महामन्त्रीमा  उम्मेदवारी घोषणा गरेका छन्। विपी पुत्र भएकोले होला यतिखेर डा शशांक कोइरालाको मुख ताक्ने र विचार बुझ्नका लागि उनको निवासमा भिडभाड बढ्न थालेको छ। विरासतका राजनीति हुनुहन्न भने पनि कांग्रेस कार्यकर्ताहरु अझै राजनीतिमा उनी भन्दा कयौं वरिष्ठ हुँदा हुँदै पनि शशांकको मुख ताक्न पुग्नुले विरासतको राजनीतिलाई निरन्तरता दिन खोजिएको भान हुन्छ। अबको राजनीति कसको परिवारमा जन्मेको भन्दा पनि योग्यता क्षमताका आधारमा हुनु पर्दछ । राणादेखि शाही शासनकाविरुद्ध लडेको कांग्रेसले कस्तो नीति धारण गर्ला भन्ने कुराले मुलुकको अर्थतन्त्रदेखि राजनीतिक रुपमा निकै अर्थ राख्दछ। महाधिवेसन नजिकिंदै गर्दा सञ्चारमाध्यममा आएका सुझावदेखि वौद्धिक बर्गले उठाएका कुरा तिनै हुन्। कांग्रेसले लिँदै आएको तीन खम्बे नीति राष्ट्रियता, प्रजातन्त्र र समाजवादका बारेमा पार्टी्भित्र पुर्नव्याख्याको माग बढीरहे पनि प्रस्तावित पार्टीको नीति र कार्यक्रममा यसको पुर्नव्याख्या गरिएको छैन। बदलिदो समाज अनुसार नीति तथा कार्यक्रम आउन नसकेको भन्दै अहिले आएको नीति तथा कार्यक्रम काम चलाउ मात्रै हो भन्न सकिन्छ त्यसैले त पार्टी्भित्रको एक पक्षले त्यसलाई अस्विकार गर्ने रणनीति लिएको छ।
समाजवादका कुरा गर्दा कांग्रेसमा कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, भीमबहादुर तामाङसंगै कांग्रेसभित्रको समाजवाद अस्ताएको छ। 
किनकि बीपीको समाजवाद गान्धीवादबाट प्रभावित थियो र समाजवादी बन्नु भनेको नेताको चरित्र, लवाइ—खवाइ र रहनसहनका साथै व्यवहारमा देखिनुपर्छ । शुशिल कोईरालाको निधनसंगै अव नेता तथा कार्यकर्ताको जीवन शैली हेर्दा त्यो पार्टीबाट समाजवाद निकै दुर भैसकेको अनुमान गर्न सकिन्छ। वीपीको नाममा राजनीति गर्दै आएको कांग्रेसले अव साच्चिकै वीपीको समाजवाद व्यवहारमा लागू गर्ने हो भने कि त्यो समाजवादलाई पुर्नव्याख्या गर्नु पर्दछ की भने जीवन शैली नै परिवर्तन गर्नु पर्दछ अन्यथा समाजवाद केवल मागी खाने भाँडो मात्र बन्नु हुन्न।
समाजवादको व्याख्या गर्दा कांग्रेसले समीक्षा गर्नु पर्ने कुरा पहिलो, पूँजी निर्माण र उत्पादकत्व बढाउन खुला बजार, उदारवादी अर्थतन्त्र र निजी क्षेत्रको विकासका लागि कांग्रेसको नीति तथा कार्यक्रम के हो? सामाजिक न्यायको अवधारणा अनुसार पिछडिएको क्षेत्र र वर्गको सशक्तीकरणमा कांग्रेस कहाँ चुक्यो? संघीय संरचनामा गएका बेला कांग्रेसको सबै प्रदेशलाई सन्तुलनमा राख्ने विकास नीति के हो? छिमेकी चीन र भारत एक्काइसौं शताब्दीका दुई आर्थिक शक्ति बनिरहेका बेला नेपालको विकासका प्राथमिकता के हुने? नारामा मात्र सीमित हुने विकास नीतिलाई कांग्रेस फेरि सरकारमा गयो भने कार्यान्वयन हुन्छ भनेर विश्वास गर्ने आधार के? त्यसैले पनि काँग्र्रेसले आफ्नो प्रष्ट धारणा पर्नु यो महाधिवेसनको अर्कौ चुनौति पनि हो।
यो महाधिवेशन नयाँ सविधानको कार्यन्वयन र संघीय संरचना व्यवहारिक कार्यन्वयनको दोसाँधमा रहेकोले पनि निकै महत्वका साथ हेरिएको छ । कांग्रेसले लिने नीति र व्यवहारमा तादम्यता देखियो भने वौद्धिक वर्गको आकर्षण पनि बढ्नेछ ।
पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको एकपछि अर्को पुस्तामा जाँदा यसको सैद्धान्तिक धरातल खस्किँदै गएको छ। अघिल्ला महाधिवेशनमा पारित गरेको विषय वस्तुको कुनै समिक्ष नै भएको छ। १३ औं महाधिवेशनमा मुख्य रुपमा शिक्षा, स्वास्थ्य, आवास, खाद्य सुरक्षा र रोजगार मर्या्दित जीवनका पाँच आधार हुन भन्दै तय गरेको यी विषय सायदै त्यसपछिका कुनै बैठकमा छलफलसम्म भएन। विचार र दृष्टिकोणका हिसावले पछिल्ला महाधिवेसन कर्मकाण्डीय हिसाबले नाम मात्रको हुने गरेको छ। अहिलेसम्मको तौरतरिका हेर्दा तेह्रौ महाधिवेसन पनि यस्तै हुने निश्चित छ।
नेतृत्व दाबी गर्ने र अझ ठूलो पदमा जान चाहनेहरुले आफू कार्यसमितिमा रहँदा यो कार्यनीति सफल पार्न के के गर्नु भयो? के त्यो सबै काम सभापतिको मात्रै हो र? पाँच वर्षे कायकालमा के के सफलता मिल्यो? जबाफ दिनु पर्छकी पर्दैन काँग्रेसीजनहरुले। संगठन सुदृढीकरणका २८ वटा कार्य योजना महाधिबेशनले पारित गरेको थियो। सायद यी कुराहरु धेरैले बिर्सिए। कांग्रेसले आफ्नो विधानमा प्रत्येक बर्ष महासमिति बैठक गर्नुपर्ने उल्लेख छ तर त्यो गएको पाँच वर्षे कार्यकालमा एकपटक मात्रै भयो। हरेक क्षेत्रले क्षेत्रिय सम्मेलन गर्ने भन्ने उल्लेख छ त्यो पनि गरिएन, केन्द्रिय समितिको बैठक बस्नसमेत कन्जुस्याई भनौ वा के न्यूनतम् अवस्थामा मात्रै औपचारिकता दिनका लागि मात्रै बसियो। कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा कहिल्यै छलफलबाट विषय वस्तुको टुंगो लागेको खासै देखिन्न। के २१ औ शताब्दिको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यस्तै हुनुपर्ने हो? यतिखेर कांग्रेसको नर्सरी ध्वस्त छ। त्यहाँ नत बेर्नाहरु छन् नत विउ नै। २०६३ मा काँगे्रस एकीकरणपछि संगठनका हिसावले कांग्रेसको भातृसंस्थाहरु प्राय अस्तित्वमा छैनन भन्दा हुन्छ। यो हेर्दा कांग्रेसले नयाँलाई तत्काल पार्टीमा भर्ना लिन नचाहेको पुष्टि हुन्छ। कुनै पनि पार्टीको नेतृत्व जन्माउने थलो भनेको उसको भातृसंगठन नै हो तर कांग्रेसको प्राय भातृ संस्थाहरु अस्तित्वविहीन छन्। तैपनि यो पटकको महाधिवेशनमा कांग्रेसमा युवाहरु वढी नै छानिएका छन्। भातृ संस्थाहरु निष्कृय रहँदा राजनीतिक छवी भएकाहरु आआफ्नो क्षेत्रबाट उनै गणेश प्रवृतिका नेताहरु हराउँदै प्रतिनिधि छानिएका छन्।
पार्टीमा बढेको चाकडी प्रथाले धमिराले खाएको काठ हुँदैछ कांग्रेस। पार्टीको संयन्त्रको कुनै पनि नेतृत्वमा पुग्न नेताको घरमा विहान बेलुका पुग्नै पर्ने नयाँ रोगले कांग्रेस ग्रस्त छ। सुरा सन्दरीको कुरा सामान्य बन्दै गएपछि क्षमता भएका देश विदेशको ज्ञान लिएर राजनीति गर्न खोज्नेहरु पलायन हँदै गर्दा ठूलो पार्टीका देखिएको विचलनले भोलीको मुलुक हाँक्नेहरु कस्ता होलान चिन्ताजनक अवस्था छ। त्यसैले यतिखेर नाम मात्रका यूवा होइन विचारले युवा नेतृत्व आजको आवश्यकता हो। कांग्रेसको नेतृत्वको शैली, नीति र उसको संगठनको ढाँचा हेर्दा उसको अधोगति शुरु भएको छ। यहि नियति दोहोरिने हो भने कांग्रेस पतनको बाटो अग्रसर देखिन्छ ।
महाधिवेशनबाट अबको कांग्रेसको चुनौति बुझेका, नीति र कार्यक्रमले कांग्रेसलाई बचाउन सक्ने भिजन भएका नेता जिताउन सक्नु पर्दछ। कांग्रेसलाई नयाँ भिजनसहितको नेतृत्व आवश्यकता छ।
(स्रोत ः सेतोपाटी)

Post a Comment

 
Top