0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव इन्टरनेशनल ३२५ बी १ नेपालको चौथो महाधिवेशन पोखरामा हुने भएको छ । आगामी वैशाख ४ गते हुने महाधिवेशका लागि जाऔं है पोखरा भन्ने अभियान तय गरिएको छ ।  महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ । महाधिवेशनबाट वर्तमान भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी डिष्ट्रिक्ट गभर्नर बन्ने निश्चित छ । महाधिवेशन तयारीका लागि लायन्स क्वल अफ पोखरा गोल्डेन चौतारी र लायन्स क्लव अफ पोखरा सेती गण्डकीले जिम्मेवारी लिएका छन् । महाधिवेशन मूल आयोजक समितिको संयोजकमा गोल्डेन चौतारी लायन्सका दिनवन्धु पौडेल र सह–संयोजकमा सेतीगण्डकी लायन्सकी सुचित्रा थापा रहेका छन् । महाधिवेशन मूल अयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलन दिइएको जानकारी अनुसार महाधिवेशनमा करिब २ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् भने करिब ७२ लाख खर्च लाग्ने दावी गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले महाधिवेशले पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनसंगै आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले महाधिवेशनलाई प्रभावकारी एवं सफलतापूर्वक सम्पन्न गर्न संचार जगतको महत्वपूर्ण भूमिका हुने भएकाले सहयोगको अपेक्षा गरे । उनले यस वर्ष लायन्सहरुको अधिकांश गतिविधि भूकम्प पीडितका लागि सहयोग केन्द्रित भएको बताए । गभर्नर थापाले दिएको जानकारी अनुसार भूकम्प पीडितका लागि नेपाल पुलिस र आर्मीपछि सबैभन्दा धेरै सहयोग गर्ने संस्था लायन्स भएको स्पष्ट पारे । लायन्सले जति सहयोग पु¥याए पनि सरकारले लायन्सको कार्यको मूल्याङ्कन गर्न नसकेको गुनासो गरे । भूकम्पपीडितका लागि लायन्स डिष्ट्रिक्ट बी १ ले एक लायन्स एक थाना न्यानो कपडा अभियान संचालन गरि सहयोग पु¥याएको थियो । उक्त अभियानमा करिब ५७ लाख रुपैयाँ बराबरको ८ हजार २ सय थान व्लाङ्केट संकलन गरि भूकम्प पीडितलाई प्रदान गरिएको बताइन्छ ।अर्को प्रसङ्गमा गभर्नर थापाले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लायन्स हर्टकेयर सेन्टरको स्थापना छिट्टै हुने बताए । हर्टकेयरका लागि आवश्यक पर्ने अत्याधुनिक मेशिन १ महिनाभित्रै आइपुग्ने र सबै काम अघि बढ्ने उनले जानकारी दिए । यस्तै लेखनाथमा संचालित लायन्स सामुदायिक अस्पतालमा प्रसुति सेवा र बाल उपचार केन्द्रलाई व्यवस्थित ढङ्गले संचालन गर्ने प्रक्रिया अघि बढिसकेको गभर्नर थापाले जाजकारी दिए । उनका अनुसार क्लवको हालै थाइल्याण्डको फुकेटमा सम्पन्न क्याविनेट मिटिङले तनहुँमा रहेको भानुभक्त क्याम्पसमा विज्ञान प्रयोगशाला संचालन गर्नका लागि अन्तर्राष्ट्रिय लायन्ससंग १ लाख रुपैयाँ डलर माग गर्ने निर्णय गरिएको छ । पोखरामा हुने लायन्स महाधिवेशन पोखरा र पश्चिमाञ्चल कै इज्जतसंग जोडिएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्नु पश्चिमाञ्चलवासीकै दायित्व भएको डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्यले बताए । महाधिवेशनलाई सबै लियो, लायन्स, संचारजगत र नागरिकको सहयोग अति आवश्यक भएको उनले स्पष्ट पारे । पत्रकार सम्मेलनमा महाधिवेशन संयोजक दिनवन्धु पौडेल, सह–संयोजक सुचित्रा थापा र लक्ष्मीनारायण देवकोटाले महाधिवेशको तयारी बारे जानकारी गराएका थिए ।  सन् १९१७ मा स्थापित लायन्स क्लव विश्वको सबैभन्दा ठूलो सामाजिक संस्था भएको बताइन्छ । लायन्सका संस्थापक मेल्भिन जोन हुन् । हाल २१० वटा मुलुकमा लायन्सको सञ्जाल रहेको र ४६ हजार क्लव मार्फत १४ लाख  नागरिक लायन्सका सदस्य रहेका छन् । नेपालमा भने सन् १९७१ सालदेखि लायन्सको विस्तार गरिएको हो । लायन्सको नेपालका संस्थापक पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइराला हुन् । हाल नेपालमा ६ सय ७० क्लव र करिब १८ हजार ५ सय सदस्य लायन्समा आवद्ध छन् । यस्तै गण्डकी धवलागिरिमा मात्र ७३ लायन्स क्लव र ३ हजार ३ सय ६४ जना सदस्य रहेको डिष्ट्रिक्टका मिडिया चिफ को–अर्डिनेटर सुदीपराज ढुङ्गानाले गोल्डेन न्यूज दैकिनलाई बताए । पोखरामा शिक्षाविद् जर्ज जोनको सक्रियतामा लायन्सको विस्तार गरेको उनले बताए ।  



Post a Comment

 
Top