0
गोल्डेन न्यूज संवाददाता
‘सुशीलको नेतृत्वमा बनाऔँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाली काँग्रेसको ऐतिहासिक १३आँै महाधिवेशन काठमाडौँमा आज बिहीबारदेखि सुरु हुँदैछ । १२औंैँ महाधिवेशन सम्पन्न भएको करिब पाँच वर्षपछि लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नेपालको संविधान जारी भएपछि सुरु हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । १२आँँै महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडाँैमा नै सम्पन्न भएको थियो । सो महाधिवेशनले पार्टी सभापतिमा सुशील कोइरालालाई निर्वाचित गरेको थियो । स्थापनाको करिब सात दशक पूरा गर्न लाग्दासम्म अधिकांश समयावधि कोइराला परिवारबाट नेतृत्व हुँदै आएको काँग्रेसले यस अधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्नेछ । महाधिवेशनको अन्तिम तयारी हुँदै गर्दा माघ २६ सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि यो महाधिवेशनले कस्को र कस्तो नेतृत्व चयन गर्छ सर्वत्र चासोका रूपमा हेरिएको छ । महाधिवेशनको उद्घाटन कार्यवाहक सभापति रामचन्द्र पौडेलले खुलामञ्चमा भव्य समारोहमा बिहीबार दिउँसो गर्नुहुनेछ । महाधिवेशनको उद्घाटन पार्टी सभापतिबाट नै गरिने काँग्रेसको परम्परा रहिआएको छ  । महाधिवेशन फागुन २३ गतेसम्म चल्नेछ । मञ्चको तयारी अन्तिम चरणमा पुगेको छ । देशका प्रमुख राजनीतिक दलका नेताहरूको समेत सहभागिता हुने सो उद्घाटन सत्रमा विदेशबाट आएका पाहुनाले समेत भाग लिनेछन् । भारतको कलकत्ताको भवानीपुरमा विसं २००३ माघ १२ र १३ गते नेपाली राष्ट्रिय काँग्रेसका रूपमा पहिलो महाधिवेशन भएको काँग्रेस अनेकाँै राजनीतिक घटनाको नेतृत्वकर्ता र साक्षी बन्दै काठमाडौँ महाधिवेशन को संस्करणसम्म आइपुगेको हो । विसं २००६ चैत २७ गते चौथो महाधिवेशनका अवसरमा नेपाली राष्टिूय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेस एक भई नेपाली काँग्रेसको जन्म भएको हो । राणाशासन, पञ्चायती व्यवस्था र राजाको निरङ्कुश शासनविरुद्ध लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व गरेको काँग्रेसको यो महाधिवेशन सङ्घीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भएपछि भने पहिलो महाधिवेशन हो । 
काँग्रेसले इतिहासका कालखण्डमा गरेका प्रजातान्त्रिक सङ्घर्ष, यसबाट प्राप्त उपलब्धि र भावी दिशाबोधलाई सम्बोधन गरी उपसभापति रामचन्द्र पौडेलले महाधिवेशनमा प्रस्तुत गर्न नीति तथा कार्यक्रम तयार गर्नुभएको छ । नीति तथा कार्यक्रममा परिवर्तित सन्दर्भमा काँग्रेसका मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लाई पुनः परिभाषित गर्नुभएको छ । नीति तथा कार्यक्रमले पार्टी सङ्गठनलाई अझ बलियो तथा चुस्त बनाउँदै देशको आर्थिक, समाजिक कायापलट गर्ने उल्लेख भएको छ । साथै आफ्नै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनमा पार्टीले खेल्ने भूमिका बारेमा पनि संश्लेषण गरिएको छ । महाधिवेशनको तयारीका क्रममा २४० वटै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सकिएको छ । काँग्रेसको विधानानुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन् ।   त्यसैगरी भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ र वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । पछिल्लो पटक क्षेत्रीय अधिवेशन सकिएका र विवाद रहेका गरी १० जिल्लामा महाधिवेशन पछि मात्र जिल्ला अधिवेशन हुनेछ । महाधिवेशनमा भाग लिन प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको छ । यी प्रतिनिधिले समसामयिक राजनीतिक, सङ्गठन, विदेश लगायतका काँग्रेसले लिने नीति तथा कार्यक्रम पारित गर्नेछन् । उसो त नीतिमा भन्दा नेतृत्वमा बढी समय खर्चिने प्रतिनिधिले आगामी चार वर्षका लागि नयाँ नेतृत्वको भाग्योदयसमेत गरिदिनेछन् । अघिल्लो महाधिवेशनले व्यापक रूपमा समावेशीकरण गरेको ८५ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन पदाधिकारीसहित ६४ जनाको निर्वाचन हुने कार्यक्रम रहेको छ । यस महाधिवेशनमा पार्टीले महिला, दलित, आदिवासी जनजाति, अल्पङ्ख्यक, सीमान्तकृत समुदायलाई व्यापक रूपमा समावेशीकरणसमेत गरेको छ । महाधिवेशनको बन्दसत्र भृकुटी मण्डपमा हुने हुनेछ । निर्वाचन प्रक्रिया फागुन २३ गते हुने कार्यक्रम रहेको छ । राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ । बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्बिर र नारा लेखिएका ब्यानर टाँसिएका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्ने हुनाले सभापति, महामन्त्री तथा कोषाध्यक्षजस्ता शीर्ष तहमा हालसम्म कसैले पनि उम्मेदवारी सार्वजानिक गरेका छैनन् । तर कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि अलग–अलग समूहमा उम्मेदवारी दिने निश्चित देखिन्छ । सर्वसम्मत रूपमा सहमति नभएपछि उनीहरू चुनावी प्रतिस्पर्धामा होमिन लागेका छन् । काँग्रेसको दोस्रो महाधिवेशन २००४ मा बनारसमा, तेस्रो महाविधेशन २००५ मा भारतको दरभङ्गामा, चौथो भारतकै कलकत्तामा २००६ चैत २७ मा पाँचौँ अधिवेशन २००९ साल जेठमा जनकपुरमा सम्पन्न भएको थियो । यसैगरी छैटौँ महाधिवेशन २०१२ माघमा वीरगन्ज, विशेष अधिवेशन २०१४ मा विराटनगर र सातौँ महाधिवेशन २०१७ साल वैशाखमा काठमाडौमा भएका थिए । साताँै महाधिवेशन ३१ वर्षपछि आठौँ महाधिवेशन २०४८ मा फागुनमा झापामा, नवौँ महाधिवेशन २०५३ मा काठमाडौँ, दशाँै महाधिवेशन २०५७ मा पोखरा, ११आँै महाधिवेशन २०६२ भदौ १४ देखि १७ गतेसम्म काठमाडौँ र १२आँै महाधिवेशन २०६७ साल असोज १ देखि ५ गतेसम्म काठमाडाँैमा नै सम्पन्न भएको थियो । सहकार्यबाट नीति र नेतृत्व यसैबीच नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनबाट काँग्रेसले समृद्धिका लागि सहकार्यको नीति र नेतृत्व बनाउने सहयात्री दलहरूले अपेक्षा गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी र पुरानो पार्टी हुनुको नाताले काँग्रेसले लिने नीति र छान्ने नेतृत्वले अन्य पार्टी र मुलुकलाई समेत असर पर्ने भएकाले सहकार्य गर्ने नेतृत्व छान्न धेरैले सुझाव दिएका छन् । संविधानको कार्यान्वयन र पुनः निर्माणमार्फत मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने कुरामा काँग्रेस नेतृत्व पछाडि प¥यो भने मुलुक नै पछाडि पर्ने भएकाले काँग्रेसको नीति र नेतृत्व सबैका लागि सरोकारको विषय भएको नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञवाली बताछन्। उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निकै ठूलो भूमिका खेलेको पार्टीले आगामी दिनमा पनि नेतृत्वदायी र अग्रणी भूमिका खेल्नुपर्ने भएकाले त्यस्तै जिम्मेवार नेतृत्व छान्नुपर्नेमा जोड दिए ।  “सबै मिलेर अगाडि बढ्ने नीति र नेतृत्व ल्याओस् काँग्रेसले, सहमति र सहकार्यको बाटोलाई नछोडोस्”, ज्ञवालीले भने–“लोकतान्त्रिक प्रक्रियामा हुने स्वाभाविक अन्तरविरोधलाई नबढाओस्, महाधिवेशनबाट जे निचोड निस्कन्छ, त्यसलाई सबैले मानून् हाम्रो शुभेच्छा यही हो ।” एकीकृत नेकपा (माओवादी)ले पनि जनता र राष्टूलाई केन्द्रमा राखेर काँग्रेसले नयाँ नीति बनाउने अपेक्षा गरेको छ । साथै नेतृत्व पनि राष्ट्रवादी र सहकार्य पक्षधर होस् भन्ने एमाओवादीको चाहना छ । पार्टीका प्रवक्ता दीनानाथ शर्माले मुलुकलाई अग्रगामी दिशामा लैजान चाहने नीति बनोस् र त्यसलाई कार्यान्वयन गर्न सक्ने अठोट भएको नेतृत्व चयन होस् भन्ने शुभकामना व्यक्त गरे । “मुलुकलाई अगाडि बढाउने सक्रियता काँग्रेसको नयाँ नेतृत्वमा अझ बढी हुनुपर्छ”, उनले भने । मधेसी मोर्चाका नेता महेन्द्रराय यादव भने काँग्रेसप्रति सकारात्मक देखिनु हुन्न । मधेसमा आन्दोलन भइरहनुको पछाडि काँग्रेस पनि मुख्य दोषी भएको उनको भनाइ छ । “काँग्रेसले लोकतन्त्रका नाममा हल्ला मात्रै गरिरहेको छ, लोकतन्त्रवादी भएको भए मधेसीको हालत अहिले यस्तो हुने थियो ?”, उनले प्रश्न गरे । मुलुकको चौथो ठूलो दल राप्रपा नेपालले काँग्रेसको महाधिवेशनले प्रजातन्त्रलाई संस्थागत गर्न सहयोग होस् भन्ने अपेक्षा गरेको छ । पार्टीका प्रवक्ता दिलनाथ गिरीले मुलुकमा प्रजातन्त्र ल्याउन काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको भए पनि प्रजातन्त्रलाई संस्थागत गर्न नसकेकाले संस्थागत गर्नेतर्फ काँग्रेसले जोड दिनुपर्ने सुझाव दिन्छन् । “गर्भबाटै विवाद लिएर आएको नयाँ संविधानलाई सबैको साझा संविधानका रूपमा स्थापित गर्नका लागि तीन दलीय आलोपालो प्रणालीको मानसिकता हटाउने नीति र नेतृत्व काँग्रेसमा आउनु पर्छ”, गिरीले भने । यही फागुन २० देखि २३ गतेसम्म हुन लागेको काँग्रेसको १३औँ महाधिवेशनलाई अन्य साना पार्टीले पनि उत्सुकतापूर्वक हेरेका छन् । उनीहरूले मुलुकमा अहिले भइरहेको सङ्कटको अन्त्य, संविधान कार्यान्वयन, पुनःनिर्माणको अभियान र सबै दलको अस्तित्वलाई स्वीकार्ने नेतृत्व काँग्रेसमा अहिले आवश्यक रहेको ठानेका छन् । नेपाल मजदुर किसान पार्टीको चाहना भने अरूको भन्दा फरक पाइएको छ । काँग्रेसको महाधिवशनले भारतीय हस्तक्षेप र एकाधिकारवादका विरुद्धमा उभिने अठोट गर्नुपर्ने बताउछन्,–पार्टीका नेता तथा सांसद डिल्लीप्रसाद काफ्ले । उनले प्रजातान्त्रिक समाजवादको सपनासहित स्थापना भएको पार्टीले आफ्नो आदर्श सिद्धान्तलाई फेरि सशक्त तरिकाले उठाउन आवश्यकता रहेकामा जोड दिए । व्यवस्थापिका–संसद्मा रहेका सबै दललाई काँग्रेसले भोलि खुल्ला मञ्चमा हुने उद्घाटन समारोहमा अतिथिका रूपमा आमन्त्रण गरेको छ । अधिकांश पार्टीका नेताहरूले उपस्थित हुने बताएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

Post a Comment

 
Top