0
देशको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको उदघाटन सत्र विहीबार खुल्लामञ्चमा सकिएको छ । पार्टी सभापति हाँक्ने दाबीका साथ उम्मेदवारी घोषणा गरेका नेतात्रय रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले खुल्लामञ्चबाटै भाषणमार्फत् केही सन्देश दिने प्रयास गरेका छन् ।
कसको भाषण कस्तो ? प्रायः भाषणमा पोख्त मानिँदैनन् कांग्रेस नेताहरु । १३ औं महाधिवेशन उद्घाटन समारोहमा सभापतिका तीन दाबेदारहरुले गरेका भाषणले पनि यसलाई पुष्टि ग¥यो । खचाखच भरिएको खुलामञ्चमा भाषण गर्न पाउनु सभापतिका आकांक्षीहरुका लागि कार्यकर्ताको मन जित्ने सुन्दर मौका थियो । तर, उनीहरुले यसलाई ‘क्यास’ गर्न चुके । तीनैजनाको भाषणले सहभागीहरुमा जोश भर्न र उत्साह सञ्चार गर्न सकेको देखिएन ।
तीन दावेदारमध्ये कृष्ण सिटौलाले सबैभन्दा पहिले बोलेका थिए । उनको भाषण केही हदसम्म तार्किक भए पनि ‘बडी ल्याङ्वेज’ ले साथ दिएन । उनमा यति ठूलो जनसमुदाय अगाडि भाषण गर्दाको जोश थिएन, निद्रामा बोलिरहेझैं देखिन्थे । तर, सिटौलाको भाषणमा दमै नभएको चाँहि होइन । यद्यपि प्रस्तुति फितलो हुँदा उनले ताली र हुटिङ खासै पाउन सकेनन् ।
सभापतिका अर्का आकांक्षी शेरबहादुर देउवाको भाषण लगभग रित्तो नै थियो । उनले नयाँ र रोचक कुरा केही पनि भनेनन् । कुनै तयारीबिनै बोलिरहेका छन् भन्ने उनको भाषणबाटै प्रष्ट हुन्थ्यो । सायद भाषण आफ्नो बलियो पक्ष होइन, भन्ने महसुस गरेर पनि होला देउवा धेरैबेर बोल्दा पनि बोलेनन् । उनको भाषणबाट हेडलाइन फुराउन समेत पत्रकारलाई धौधौ परेको छ । कार्यक्रमको अन्तिममा बोलेका कार्यवाहक सभापति रामचन्द्र पौडेलको प्रस्तुति अरुभन्दा फरक रह्यो । उनले केही हदसम्म जोश भर्न खोजेका थिए ।
तर, यदाकदा नाटकीय र आवश्यकताभन्दा बढी भावुकता देखाउन पुगे पौडेलले । ‘मलाई कहिलेकाहीँ आत्महत्या गरौं झैं लाग्छ‘ भन्ने एउटै लाइनले गर्दा पौडेलले गरेको सारा भाषणलाई ‘न्यूट्रलाइज्ड’ गरिदियो ।
त्यसमाथि पौडेलले भाषण गर्ने पालो आउँदासम्म खुलामञ्चको भिड पातलो भइसकेको थियो । मैदानमा भएकाहरु पनि थकित मुद्रामा थिए । संस्थापन पक्षको प्रतिनिधित्व गर्ने दुई उम्मेदवार पौडेल र सिटौलाले दिवंगत सभापति सुशील कोइरालाको प्रशंसा गर्ने प्रतिस्पर्धा नै गरे । दुबैको उद्देश्य कोइराला समर्थकको भोट हत्याउनेमा केन्द्रित देखिन्थ्यो । अर्का उम्मेदवार देउवामा कोइराला परिवारको सहानुभूतिको आशा नभएकाले नै होला, उनले कोइरालाको प्रशंसामा धेरै शब्द खर्च गरेनन् । सामान्यरुपमा श्रद्धाञ्जली दिए । सिटौला र पौडेलले कांग्रेसभित्र आत्मालोचोना, समीक्षा र चारित्रिक शुद्धतामा जोड दिएको देखियो । यस्तो शुद्धीकरणको नारामार्फत् उनीहरुले कांग्रेसमा व्याप्त भ्रष्टाचारको दोष देउवापक्षका नेताहरुलाई लगाउन खोजिरहेजस्तो देखिन्थ्यो । तर, देउवा पक्षबाट खुल्लामञ्चमा यसको प्रतिवाद भएन । सिटौलाको जोड १२ बूँदे समसझारीपछिको राजनीतिक लाइनलाई ‘क्यास’ गर्नेमा देखियो । सिटौलाले विदेश पलायन भएका नेपालीको भावना समेट्ने प्रयास गरे । रामचन्द्रले अबको कांग्रेस नेतृत्व जनताले पत्याउनेखालको र सदाचारी हुनुपर्ने भन्दै अब आर्थिक क्रान्तिमा लाग्ने बताए । मधेसलाई पनि संविधान फेरि संशोधन गरेर सम्बोधन गर्ने पौडेलले बताए । शेरबहादुर देउवाले पनि दलित, जनजाति, आदिवासी, महिला सबैको नाम लिँदै उनीहरुका असन्तुष्टि सम्बोधन गर्ने बचन खुल्लामञ्चबाट दिए ।
प्रचण्ड र केपी ओलीको मनोविज्ञान ः एमाओवादी नेता प्रचण्डले कांग्रेसबारे गहिरो चासो देखाए । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चाँहि कांग्रेसबाट केही अपेक्षा देखाए । खुल्लामञ्चभरि खचाखच उपस्थितिका वीच आयोजना गरिएको महाधिवेशन उदघाटन समारोहमा अतिथिका रुपमा उपस्थित एमाओवादी अध्यक्ष प्रचण्ड गिरिजाप्रसाद कोइरालासँगै शान्ति सम्झौतामा हस्ताक्षर गर्ने नेता हुन् । प्रचण्डले दुई वर्षमा आफ्नो पार्टीलाई पहिलो नम्बरमा पु¥याउने दाबी गरिरहेका छन् । तर, विहीबार नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टीको महाधिवेशनको उत्साह देखेर सम्भवतः प्रचण्ड निकै तरंगित भए। आफूभित्रको तरंगलाई प्रचण्डले मन्तव्यका क्रममा समेत चुहाए । कांग्रेसले अबको नीति कस्तो लिन्छ र नेताहरुले के–कस्ता अभिव्यक्ति दिन्छन् भनेर आफूले चासोपूर्वक हेरिरहेको र यही कारणले कार्यक्रमको अन्तिमसम्म मञ्चमा बस्ने निधो गरेको प्रचण्डले बताए । कांग्रेस कार्यकर्ता र भारतीय नेताले पनि प्रचण्डलाई भाउ दिए, कसैले मञ्चबाट नाम लिएर त कसैले ताली बजाएर ।
सबैलाई थाहा छ, प्रचण्ड महत्वाकांक्षी नेता हुन् । तथापि एउटा प्रतिस्पर्धी पार्टीको नेताका रुपमा प्रचण्डले मात्रै होइन कि कांग्रेसका शुभेच्छुक र आलोचक सबै नेपालीले विहीबार खुल्ला मञ्चमा कांग्रेसका शीर्ष नेताहरु के बोल्छन् भनेर ध्यान दिएकै थिए ।
कांग्रेसको मुख्य प्रतिद्वन्द्वी मानिने नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीचाँहि अलि बढी निश्चिन्त देखिन्थे । बुधबार मात्र एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए कि एमाले जुन चुनावमा जान्छ, उसले बहुमत ल्याउँछ । यही निश्चिन्तताका कारणले हुनुपर्छ, ओली कांग्रेसको भीडलाई देखेर प्रचण्डजति गम्भीर देखिएनन् । कांग्रेस इमान र जमानमा अडिनेखालको पार्टी बनोस् भन्नेमात्रै प्रधानमन्त्रीले शुभकामना दिए ।
भारतीयहरु छक्कै परे
नेपाली कांग्रेसको महाधिवेशन उदघाटनस्थल एक प्रकारले नेपाल–भारत सम्बन्धको विवेचना गर्ने थलोजस्तै बन्यो । भारतबाट बीजेपी, कांग्रेसआइ, कम्युनिष्ट पार्टी र क्षेत्रीय पार्टीका नेताहरुसमेत खुल्लामञ्चमा थिए । यो मञ्चलाई प्रयोग गर्दै प्रचण्डले नाकाबन्दी किन गरेको भनेर भारतीय नेतालाई दह्रो प्रश्न तेस्र्याउँदा कांग्रेस कार्यकर्ताले ताली बजाएका थिए ।
उता, भारतीय कम्युनिष्ट पार्टीका नेता जोगेन्द्र शर्माले खुलेर नाकाबन्दीको विरोध गरे, जसबाट उनले कांग्रेस कार्यकर्ताको समर्थन र ताली बटुले । उनले नेपाल र भारतवीचको सम्बन्ध ‘बडेभाइ र छोटेभाइ’ को नभई समान रहेको बताए । रोचक त के भयो भने भारतीय नेताहरुले नेपालमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा देख्दा आश्चर्य व्यक्त गरे । यसरी अचम्मित हुनेमा विहारका मुख्यमन्त्री नीतिश कुमार मात्रै थिएनन्, बीजेपी नेता भगतसिंह कोशियारीसमेत थिए । कांग्रेसको सभामा एमालेका अध्यक्ष ओली र एमाओवादीका अध्यक्ष प्रचण्डलाई देख्दा भारतीय नेताहरुलाई अचम्मै लागेछ । भारतमा विपक्षी नेताहरु एकअर्कामा हिलो छ्यापाछ्याप गरिरहेको देखेका भारतीय नेताहरु काठमाडौंमा नेपाली नेतावीच राजनीतिक मिलाप र सभ्यता देखेर छक्क परेका हुन् ।
बीजेपी नेता कोशियारीले नेपाल ज्ञानभूमि रहेको र यहाँबाट विचार र विज्ञानको विकास होस् भने । हुन पनि विपक्षी दलका नेतासँग गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने भारतीय नेताहरुले काठमाडौंबाट सिकेकै हुनुपर्छ । यो दृश्य हेर्दा भारतभन्दा राजनीतिक संस्कारमा नेपाल अगाडि रहेको भारतीय नेताहरुले अनुभूति गरेकै हुनुपर्छ ।




Post a Comment

 
Top