0
गोल्डेन न्यूज संवाददाता
झट्ट सुन्दा विश्वास गर्न सकिन्न । तर पत्यार नलाग्ने एउटा घटना । तीनजना मिल्ने साथी सँगै बस्छन् । दिनभर मदिरा सेवन गर्छन् । अनि तीनैमध्येका दुईले साझ अर्को एउटाको विभत्स हत्या गर्छ त्यो पनि लाईटरको निहुँमा । घटना कास्कीको सल्यान गाविस २ झाक्रेपानीको हो । प्रहरीले दिएको  जानकारी अनुसार माघ ६ गते स्थानीय धनबहादुर नेपाली, अमरबहादुर विक र लालबहादुर नेपाली दिनभर सँगै बसेर मदिरा सेवन गरे । स्थानीय पसलहरुमा एकपछि अर्कोमा छिर्दै सँगसँगै मदिरामा रमाए । मदिराले मातेका उनीहरुले दिउँसो सडकमा गुड्ने गाडीलाई रोक्ने, अपशब्द बोल्ने समेत गरे । अन्दाजी अपरान्ह साढे चार बजे अर्को एउटा पसलबाट पुन दुई बोतल मदिरा र चाउचाउ किने अनि लर्बराउँदै बाटो लागे । बाटोमा बसेर त्यो मदिरा पनि सके । साझ झण्डै ७ बजे अमरले चुरोट सल्काउन खोजे तर लाइटर भेटेनन् । उनले लालबहादुरसँग मागे तर उनीसँग पनि थिएन । खल्ती छामछूम पारे अनि भने–‘खै मसँग पनि छैन ।’ त्यसपछि धन बहादुरलाई सोधे । धनबहादुरले पनि खल्ती छामछुम गरे भेटेनन् र भने–‘पसलमै छुटेछ ।’ त्यसपछि अमरले लाईटर किन छोडेको भन्दै अपशब्द बोले । धनबहादुरले पनि सोहि अनुसारको जवाफ फर्काए । त्यसपछि रिसाएका अमरले धनबहादुरमाथि मुक्का प्रहार गरे । त्यहि बेला लालबहादुरले ढुङ्गाले टाउकोमा हिर्काए । मदिराले मातेका उनीहरु दुबैले धनबहादुरको शिरमा ढुङ्गाले हिर्काउन थाले । उनीहरुको प्रहारबाट धनबहादुरको शिर क्षतविक्षत भयो । त्यसपछि अमर र लालबहादुर आ–आफ्नो घर गए र सुते । बिहान उज्यालो भयो । श्रीमान् घर नआएपछि धनबहादुरकी श्रीमतीले खोज्न थालिन् । सँगै गएका लाल बहादुरलाई सोधिन् तर उनले आफूहरु मात्रै घर फर्किएको र धनबहादुर नआएको बताए । श्रीमतीले खोज्न थालेपछि अमर र लालबहादुर पुनः साझ घटना भएको स्थानमा गए । तर धनबहादुरले प्राण त्यागिसकेका थिए । शव देखेपछि अत्तालिएका उनीहरु त्यहाँबाट भागे । गाँउका मानिसले शव देखेपछि प्रहरीलाई माघ ७ गते बिहान साढे ९ बजे खबर गरे । घटनास्थलमा प्रहरीले मुचुल्का उठायो र अनुसन्धान थाल्यो । कास्की प्रहरीले फरार रहेका दुई मध्ये अमरबहादुरलाई माघ १३ गते पक्राउ गर्न सफल भयो । उनी गाउँमै लुकी–छिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । लालबहादुर भने अझै फरार छन् । पक्राउ परेका अभियुक्त विरुद्ध जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए । पक्राउ परेका अमर बहादुरले दिएको बयानको आधारमा हत्या चुरोट सल्काउन लाईटर नपाएकै कारण भएको निश्कर्षमा प्रहरी पुगेको हो । यसैबीच बुधबार ढिलोगरि प्राप्त जानकारी अनुसार सल्यान गाविस–२ झाङ्क्रेपानीका २६ वर्षीय धनबहादुर नेपालीलाई कर्तव्य गरी मारेर फरार रहेका अर्का अभियुक्त २१ वर्षीय लालबहादुर नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।




Post a Comment

 
Top