0
गोल्डेन न्यूज संवाददाता
पोखरा १५ की १८ वर्षीय यरुना पुन ‘नेहा’ हत्यामा संलग्न सहित प्रहरीले सार्वजनिक गरेको घटनाविवरणमा चित्त नबुझेको भन्दै पीडितले अनुसन्धानको दायरा बढाउन प्रहरीलाई आग्रह गरेका छन् । सोमवार प्रहरीले पत्रकार सम्मेलन गरी नेहाको हत्यामा संलग्न भनिएका शतिस भनिने कीतन खड्गीलाई सार्वजनिक गरेको थियो । प्रहरीले सार्वजनिक गरेको घटनाविवरण पूर्ण नभएको भन्दै पिडित पक्षले दवावमूलक कार्यक्रम सहित आफ्ना माग सार्वजनिक गरेका छन् । पुन समाज नेपाल नगर समिति पोखराले बुधवार पत्रकार सम्मेलन गरी घटनाको गहिरो अनुसन्धान गर्न र सार्वजनिक गरिएका अभियुक्तमाथि कडा कार्बाहीको माग गरेका छन् । मृतक युवतीको शव बैज्ञानिक परीक्षण गर्नुको साथै पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सजाय दिनुपर्ने, घटनास्थलमा शबसँगै फेला परेका कपडाको बैज्ञानिक परीक्षण गर्नुपर्ने र अपराधीलाई कानून अनुसार आजीवन कारावासको सजाय हुनुपर्ने उनीहरुको माग छ । पत्रकार सम्मेलनमा बोल्दै पुन समाज नेपालका वरिष्ठ केन्द्रिय उपाध्यक्ष खिमन पुनले प्रहरीले सार्वजनिक गरेको अनुसन्धान रिपोर्टमा पूर्णरुपले चित्त नबुझेकाले दवावमुलक कार्यक्रम गर्न लागिएको बताए । घटनामा कीर्तन एक्लैको संलग्नता नभई अन्य ब्यक्तिहरु हुनसक्ने र नेहामाथि सामुहिक बलात्कार पनि भएको हुनसक्ने आफन्तको आशंका रहेकाले सोहि अनुसार अनुसन्धान गर्न उनले आग्रह समेत गरे । पुन समाजका कास्की जिल्ला अध्यक्ष क्या.बलबहादुर पुनले घटनास्थलको प्रकृति हेर्दापनि अन्य स्थानबाट बलात्कार पछि हत्या गरी सो स्थानमा ल्याएर फालिएको आशंका गरिएकाले गहिरो अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरे । प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउनुपर्ने र घटनामा अन्य ब्यक्तिहरु संलग्न भएको हुनसक्ने उनले आशंका ब्यक्त गरे । पीडित पक्षले दवावको लागि भन्दै बिहीबार पोखरामा ¥याली निकाल्ने जनाएका छन् । मध्यान्ह १२ बजे मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रहरी कार्यालय, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सिर्जनाचोक, राष्ट्रबैंक चोक हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर कोणसभा गर्ने उनीहरुले जनाएका छन् । यसैबिच प्रहरी उपरीक्षक हरि बहादुर पालले अनुसन्धान प्रक्रिया पूरा नभएकाले अनुसन्धानमा बाधा पुग्ने कुनैपनि गतिबिधि नगर्न आग्रह गरेका छन्। विभिन्न सामाजिक सञ्जालमा भ्रमपूर्ण सामाग्री नराख्न आग्रह गर्दै उनले त्यस्ता ब्यक्तिहरु उपर पनि अनुसन्धान हुने बताए । घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेपनि पूर्ण विवरण भने आईनसकेको उनले बताए । प्रहरीले यसवारे गहिरो अनुसन्धान गरिरहेको र अन्य कोहि ब्यक्ति संलग्न भएपनि कार्बाहीको दायरामा ल्याउने उनले प्रतिबद्धता जनाए ।






Post a Comment

 
Top