0
गोल्डेन न्यूज संवाददाता
वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ ‘लालबहादु–चण्डेश्वरी ढेवाजु सङ्गीत स्मृति पुरस्कार’बाट सम्मानित हुने भएका छन्। स्व.लालबहादुर–चण्डेश्वरी ढेवाजुका परिवारद्वारा स्थापित तथा सङ्गीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित ५१ हजार १ सय एक रूपैयाँ राशिको राष्ट्रिय पुरस्कार यस पटक गायक श्रेष्ठलाई प्रदान गरिने भएको हो। विगत पाँच दशकदेखि नेपाली गीत, सङ्गीतको क्षेत्रमा श्रेष्ठले पु¥याएको योगदानको कदर गर्दै पुरस्कार श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छनोट समिति संयोजक, साहित्यकार तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए। श्रेष्ठ संयोजक र कृष्णकहादुर श्रेष्ठ, हरिदेवी कोइराला, रामगोपाल ढेवाजु, सङ्गीत प्रशिक्षण केन्द्रका अध्यक्ष सुरेन्द्रमान बिजुक्छे सदस्य रहेको छनोट समितिले श्रेष्ठलाई फागुन २४ गते पोखरामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरूभक्तले पुरस्कारद्वारा सम्मान गर्ने कार्यक्रम छ। नेपाली गीत–सङ्गीत क्षेत्रमा दिइने यो राष्ट्रिय स्तरको पुरस्कार हो’–छनोट समिति संयोजक श्रेष्ठले भने–‘नेपाली सङ्गीत क्षेत्रमा श्रेष्ठले महत्वपूर्ण योगदान पु¥याएका छन्, उनको योगदानको सम्मान गर्दै यो पुरस्कार प्रदान गर्ने निर्णय गरेका हौं।’ २०६४ अघिसम्म स्थानीय स्तरमा प्रदान गरिने पुरस्कारलाई २०६९ सालमा राष्ट्रिय स्तरको बनाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक तथा वरिष्ठ सङ्गीतकार अम्वर गुरूङलाई प्रदान गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष बुजुक्छेले जानकारी दिए। तीन–तीन वर्षमा दिइने पुरस्कार प्रदान गर्न ढेवाजु परिवारले पाँच लाख रूपैयाँको अक्षयकोष स्थापना गरेका छन्। १४ वर्षको उमेरमै ‘म पत्थरको देउता होइन’ गीत रेकर्ड गराएका श्रेष्ठलाई पुराना र नयाँ पुस्ताको संयोजन गर्ने गायकको रूपमा पनि लिने गरिएको छ। बुबा जयनारायण र आमा इन्दिरा श्रेष्ठको कोखबाट सन् १९५० डिसेम्वर ६ मा धरानमा जन्मिएका श्रेष्ठका ‘मेरो आँखामा बादल छाइरह्यो’, ‘कति कमजोर रहेछ भाग्य’, ‘हर रात सपनीमा’, ‘मेरी मायालु’, ‘हुँ यात्री एउटा’ जस्ता दजनौं गीत लोकप्रिय छन्। यो पुरस्कारबाट यसअगाडि सरोजगोपाल वज्राचार्य, बाबा राणा, कल्याण शेरचन, श्यामलाल श्रेष्ठ, अमृत गुरूङ, रामभक्त जोजिजू र धनबहादुर गायक सम्मानित भइसकेको अध्यक्ष विजुक्छेले जानकारी दिए।






Post a Comment

 
Top