0
गोल्डेन न्यूज संवाददाता
किसानको साथीका रुपमा लिइने लाटोकोसेरो तथा हुचिल संरक्षणमा योगदान गर्ने लक्ष्यका साथ शुक्रबारदेखि कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा लाटोकोसेरो हुचिल महोत्सव हुने भएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति, पार्चे तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाको आयोजनामा दुई दिने महोत्सव गर्न लागिएको हो। प्रकृतिका साथीका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार नेपालमा लाटोकोसेरोको संरक्षणका लागि उत्सव मनाउन थालिएको पाँच वर्ष भएको र यसअघि धादिङ, चितवन, नवलपरासी र गोरखामा सम्पन्न भइसकेको छ । यस्तो महोत्सव नेपाल बाहिर अमेरिका र इटालीमा पनि मनाइने गरेको आचार्यले जानकारी दिए। किसानले लगाएको बालीनाली नोक्सान गर्ने मुसा, किरा फट्याङ्ग्रा, सर्प जस्ता वस्तु खाइदिने भएकोले लाटोकोसेरोलाई किसानको साथी पनि भनिन्छ। ‘यो प्रजाती लोप हुनथालेका कारण चेतना अभिवृद्धि होस् भनेर महोत्सव आयोजना गरिएको हो’ उनले बताए। स्थानीयवासी एवम् सिक्लेस युवा क्लबका सचिव देवीजङ्ग गुरुङका अनुसार सिक्लेसमा विगतमा लाटोकोसेरो धेरै नै पाइने गरे पनि पछिल्लो समयमा विस्तारै लोपोन्मुख हुन थालेको छ । महोत्सवसँगै लाटोकोसेरोको संरक्षण र पर्यटकीय क्षेत्र सिक्लेसको पर्यटन प्रवद्र्धन हुने विश्वास आयोजकले लिएको छ । ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले विभिन्न ३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट बर्सेनी कम्तिमा दुई हजार वटासम्म लाटोकोसेरो तथा हुचिल मारिने गरेको भेटिएको छ। अध्ययनबाट २५ प्रतिशत विद्यार्थीले गुलेली प्रयोग गरी लाटोकोसेरो मार्ने गरेको देखिएको छ। मुसाको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग पु¥याउने तथा पर्यावरणीय संरक्षणमा विशेष योगदान गर्ने भएका कारण यसलाई किसानको साथी भन्ने गरिएको पक्षीविद् डा.हेमसागर बराल बताउँछन् । लाटोकोसेरोको महत्व प्रकृति र पर्यावरणमा विशिष्ट किसिमको छ, यो अन्यपक्षी भन्दा वुद्धिमता भएको मान्निछ,’उनले भने,–‘प्रकृति र पर्यावरणमा यसले महत्वपूर्ण भूमिका खेलेकाले यसलाई मानिसको छाता प्रजातीका रुपमा लिने गरिएको छ ।’ घाँसे मैदानमा भन्दा अलि उच्च भू–भागमा बस्ने मासहारी लाटोकोसेरोे विश्वका सबै महादेशमा पाइने बरालको भनाइ छ । लाटोकोसेरो प्रायःराति तथा बिहान सक्रिय हुने गर्दछ। प्राचीनकालमा लाटोकोसेरोलाई मानिसले समय पत्ता लगाउने माध्यमका रुपमा पनि लिने गरेका थिए । समुन्द्री सतहबाट दुईहजार मिटरको उचाइमा रहेको सिम्क्लेस लाटोकोसेरोलगायतका पक्षीका लागि उर्वरभूमि रहेको छ। दृश्यावलोकन एवम् पदयात्राका लागि समेत महत्वपूर्णस्थल भएका कारण यो ठाउँमा महोत्सव आयोजना गरिएको आयोजक समितिका सचिव गेहेन्द्र गुरुङ बताउँछन्। महोत्सवका अवसरमा विद्यालय स्तरीय लाटोकोसेरो चित्रकला प्रतियोगिता, लाटोकोसेरोको जानकारी भएका सूचना तथा चित्र, फोटो प्रदर्शनी गरिने संरक्षण क्षेत्र व्यवस्थापन समिति पार्चेका अध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो । आठवटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ भने गहुँको छ्वालीबाट, चुराबाट तथा माटोबाट बनाइएका लाटोकोसेरो प्रदर्शनमा राखिने छ । आयोजकले लाटोकोसेरोको एक फिट अग्लो रोबोटसमेत प्रदर्शन गर्ने तयारी गरेको छ । महोत्सवको अन्तिम दिन चारजना नेपाली संरक्षणकर्मीलाई प्रकृति संरक्षण पुरस्कारसमेत प्रदान गरिने भएको अनुसन्धान, प्रकृतिका साथीका निर्देशक यादव घिमिरेले जानकारी दिए। महोत्सवमा सेतीदोभान– ८ स्याङ्जामा मन्मेर हाल कारकादो, ७ बाँके बस्दै आएका रमेशकुमार थापा, कपिलवस्तु नगरपालिका– २ आनन्दवागका मनोज पौडेल, चितवन नारायणी नगरपालिका–५ का हठन चौधरी र बर्दियाको ठाकुरद्वाराका राम शाहीलाई जनही २५ हजार रुपैयाँ नगद, ताम्रपत्र, र खादाले सम्मान गरिने भएको छ । पछिल्लो समयमा औषधि, झारफुकलगायतका प्रयोजनका लागि भारत, चीनलगायतका विभिन्न खाडी मुलुकमा लाटोकोसेरोको चोरी निकासीको क्रम बढेका कारण यसको संरक्षण अपरिहार्य भएको भन्दै संरक्षणमा सहयोग पु¥याउन महोत्सव आयोजना गरिएको हो। नेपालमा कानूनी रुपमा नै लाटोकोसेरोलाई पाल्न, दुःख दिन, बेचबिखन गर्न नपाइने व्यवस्था भए पनि सर्वसाधारणलाई जानकारी नभएका कारण त्यसको जानकारीका लागि पनि महोत्सव उपयोगी हुने विश्वास गरिएको छ।













Post a Comment

 
Top