0
गोल्डेन न्यूज संवाददाता
पोखरामा संचालन भएको विन्ध्यवासिनी बसका सवारी साधनमाथि शुक्रबार पोखराको पृथ्वीचोकमा तोडफोड भएको छ । स्थानीय पुराना बस व्यवसायीहरुको समूहले सो बसमाथि तोडफोड गरेको विन्ध्यवासिनी बस व्यवसायी समितिका अध्यक्ष समबहादुर गुरुङले बताए। ग१ख ५९७३ नम्बरको गाडीमा व्यवसायीले तोडफोड गर्दा बसको अगाडिको सीसा फुटेको छ । त्यसैगरी आन्दोलनकारीले ग१ख ५९७२ नम्बरको चावी खोसेको समितिका अध्यक्ष गुरुङले जानकारी दिए । उनले नयाँ बस सञ्चालन गरेर नै वार्तामा बस्ने गाडी रोकेर वार्ता बस्नुको कुनै औचित्य नहुने बताए । बसमाथि तोडफोड गरेको आरोपमा कास्की प्रहरीले पाँचजना व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामकृष्ण भण्डारी, नरपति सुनार, राजु गौतम, माधव गौतम र रामकृष्ण भण्डारी रहेका छन् । भण्डारी जिल्ला प्रहरी कार्यालय कास्कीमा छन् भने अन्य ४ जना वडा प्रहरी कार्यालय वैदाममा रहेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव एवं संघर्ष समितिका संयोजक योगेन्द्र केसीले जानकारी दिए । नयाँ बस समितिका खारेजीको माग गर्दै संघर्ष समितिले आफ्ना पक्राउ परेका व्यवसायीलाई तत्काल छोड्न माग गर्दै आज शनिबारदेखि पोखरामा कुनैपनि यातायातका साधन चल्न नदिने चेतावनी दिईएको छ ।

नयाँ बस सञ्चालन भएको विरोधमा पुराना व्यवसायीले गरेको चक्काजामको कारण शुक्रबार पोखराको यातायात अस्तब्यस्त भयो । पोखरा नगरमा चल्ने बसहरु नचल्दा पोखराका यात्रुले निकै सास्ती व्यहोर्नुप¥यो । विन्धवासिनी यातायातको बस संचालन भएको विरोधमा पोखरा बस व्यवसायी समिति, ट्याक्सी व्यवसायी समिति, पृथ्वी राजमार्ग बस सञ्चालक समिति सहित पुराना ब्यवसायी आन्दोलित भएपछि पोखराको सार्वजनिक सवारी ठप्प भएको हो । शुक्रवार बिहानैदेखि पोखरा नगर क्षेत्रमा चल्ने बस सहित ट्याक्सी र पोखराबाट बाहिरिने सवारी समेत अबरुद्ध भए । व्यवसायीले पोखराको मुख्यचोक पृथ्बीचोकमा बस तेर्साएर सवारी संचालनमा अवरोध पु¥याएका थिए । विना जानकारी नयाँ समितिलाई रुट ईजाजत दिएकाले बिरोधमा उत्रनुपरेको गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात व्यवसायी समन्वय समितिले जनाएको छ । पृथ्बी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईका अनुसार पोखराबाट अन्य स्थानको लागि छुट्ने सवारी पनि बन्द भएका छन् । 

पोखरामा थप नयाँ बस आवश्यक नहेको भन्दै बिरोध गरिरहेका अन्य ब्यबसायीले रुट ईजाजत खारेजीको माग गर्दै पहिलो चरणको आन्दोलन घोषणा गरिसकेका छन् । उनीहरुले माघ २९ गतेसम्म कालो झण्डा राख्ने, यातायात, प्रशासन कार्यालय घेराउदेखि चक्काजाम सम्ममा आन्दोलन घोषणा गरेका उनीहरुले नयाँ बसको ईजाजत खारेज नभए दोस्रो चरणको आन्दोलनमा जाने  चेतावनी दिएका छन् । यसैगरी पोखरामा नयाँ बस सञ्चालनको विरोधमा उत्रिएका यातायात व्यवसायीले शनिवारदेखि गण्डकी अञ्चलभर सार्वजनिक सवारी सञ्चालन नगर्ने घोषणा गरेका छन् । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ गण्डकीको शुक्रबार बसेको आकस्मिक बैंठकले अञ्चलभरका सार्वजनिक सवारी ठप्प पार्ने निर्णय गरेको हो । समितिले विज्ञप्ति जारी गर्दै अञ्चलभरका सबै सार्वजनिक सवारी बन्द गर्न र आवश्यक परे सवारीसाधन सहित सडकमा ओर्लन सदस्य संस्थाहरुलाई निर्देशन दिएको छ । पोखरा नगर क्षेत्रभित्र सञ्चालन गर्ने गरी विन्धवासिनी यातायात बस ब्यवसायी समितिका तीन वटा बसले रुट ईजाजत प्राप्त गरेपछि त्यसको विरोधमा पुराना ब्यवसायी आन्दोलित भएका हुन् । पोखरामा थप नयाँ बसको आवश्यकता नरहेको र भएका समितिले यात्रुको आवश्यकता अनुसारको सेवा दिईरहेकाले नयाँ समितिको रुट ईजाजत खारेज हुनुपर्ने उनीहरुको माग छ । शुक्रवारबाट सेवा सुरु गरेको नयाँ बसलाई अवरोध गर्ने क्रममा पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि दिनभर पोखराको सार्वजनिक सवारी ठप्प भएको थियो । व्यवसायीले सडकका चोकचोकमा सवारी तेर्साएर अवरोध गरेपछि पोखरा नगर क्षेत्रमा चल्ने र पोखरा हुदै बाहिरिने सवारी प्रभावित भएका थिए । शनिवारदेखि सवारी साधन सहित चक्काजाम गर्ने र मोटरसाईकल बाहेक अन्य कुनै सवारी सञ्चालनमा आउन नदिने समितिका सहसंयोजक योगेन्द्र बहादुर केसीले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनपछि यातायात ब्यवस्था विभागको पत्रका आधारमा यातायात ब्यवस्था कार्यालय गण्डकीले माघ १८ गते नयाँ समितिलाई बस सञ्चालनको रुट ईजाजत प्रदान गरेको थियो ।

यसैबीच उपभोक्ता मञ्च कास्कीले एक पोखरामा यातायात व्यवसायीहरूले गरेको सडक अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले आफ्ना माग पूरा गराउन उपभोक्तालाई सास्ती दिने तरिकाप्रति आपत्ति समेत जनाएको  छ । मञ्चका अध्यक्ष कपिलनाथ कोइरालाले शुक्रबार एक विज्ञप्ति जारी गरी कुनैपनि व्यवसाय स्वच्छ बजार प्रतिस्पर्धाका आधारमा चल्नुपर्ने बताए । ‘प्रतिस्पर्धात्मक बजारमा मात्र उपभोक्तालाई  छनौट गर्ने अधिकार हुन्छ।’–विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा उपभोक्ता अधिकारलाई संरक्षण गर्ने कानूनी दायित्व प्रशासनको भएकाले  उपभोक्ता संरक्षण ऐन २०५४ र प्रतिश्पर्धा प्रवद्र्धन तथा व्यवसाय संरक्षण ऐन २०६३ अनुसार कानुनी शासन कायम गरी उपभोक्ता हित रक्षा गर्न गराउन हामी सम्बन्धित निकायसँग जोडदार आग्रह गर्दछौँ उल्लेख गरिएको छ । यसैगरी स्वतन्त्र पत्रकार संघ, नागरिक समाज पोखरा, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सचेतना समाज पोखराले पनि विन्ध्यवासिनी बस संचालन हुँदा अन्य समितिले विरोध गरेकोमा अपत्ति जनाएको छ ।

स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोला, नागरिक समाज पोखराका अध्यक्ष रामबहादुर पौडेल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालकी अध्यक्ष शशी तुलाचन र सचेतना समाज पोखराका अध्यक्ष सुरेन्द्र थापा मगरले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गरी विन्ध्यवासिनी यातायात समितिको विरोधमा सडक नै अवरुद्ध पारेर नागरिकलाई दुःख दिएको भन्दै आपत्ति जनाएको हो । 
संयुक्त विज्ञप्तिमा भनिएको छ–‘हालै केही यातायात व्यवसायीले नेपाल सरकार, यातायात व्यवस्था विभागबाट सिर्जित घटनाक्रमलाई लिएर आफ्नो असन्तुष्टि जनाउँदै पोखराका विभिन्न क्षेत्रमा सडक अवरुद्ध गरि जनजीवन अस्तव्यत पार्न कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ देशको विद्यमान कानून विपरित भएका यस्ता गतिविधिमा स्थानीय प्रशासन मूकदर्शक बन्नु विडम्वनाको  भएको विज्ञप्तिमा भनिएको छ । ‘महाभूकम्पको घाउ सुक्न नपाउँदै मधेश आन्दोलन र भारतीय नाकाबन्दीबाट देश र जनता प्रताडित भइरहेको अवस्थामा चक्काजाम लगायतका सडक अवरोधका कार्यक्रमले समाजमा एकाधिकारवादको पक्षपोषणा मात्र नभइ अराजकता, दण्डहीनता, भय र अशान्तिको वातावरण सृजना हुने भएकाले यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दछौं ।’ साथै विज्ञप्तिमार्फत विद्यमान कुनैपनि समस्याको समाधान वार्ता र छलफलद्वारा टुङ्ग्याउन अपिल गर्दै देश र जनतालाई दुःख दिने कार्य तत्काल अन्त्य गर्न तथा कानूनी राज्य र मानवअधिकारको मर्यादा राख्न समेत जोडदार माग गरिएको छ । यता कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले स्वतन्त्र बजारमा प्रतिस्पर्धा गर्ने अधिकार भएकोले मिलेर पोखरामा बस सञ्चालन गर्नुपर्ने बताए । उनले यात्रुको हितलाई ध्यान दिएर व्यवसाय सञ्चालन गरिनुपर्ने बताएका छन् ।

Post a Comment

 
Top