0
गंगाधर पराजुली
पोखरा २३ माघ ।
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन हुन अब १ दिनमात्र बाँकी छ । गाउँ, नगर र क्षेत्रीय अधिवेशन सकिएपछि सबैको ध्यान जिल्ला अधिवेशनमा केन्द्रित भएको छ । कास्कीमा पनि कसलाई सभापति बनाउने र को बन्ने ? भन्ने चर्चाले व्यापकता पाएको छ । विेशषगरि सभापति पदका आकांक्षीहरु अहिले पार्टीको केन्द्रीय नेताहरुको आर्शिवाद लिन र मतदाता प्रतिनिधिहरुको भोट लिन विभिन्न रणनीति तयार गर्नमै व्यस्त छन् । गुट–उपगुटका आन्तरिक तथा अन्तर्गुट बैठक चलिरहेका छन् ।
कास्कीमा सभापतिका आकांक्षी मानिएको शुक्रराज शर्मा, कृष्ण केसी, गुरु बराल, कृष्ण कार्की आ–आफ्नै ढङ्गले मतदाता समक्ष प्रस्तुत भइरहेका छन् । सभापतिको दौडमा मौन जस्तै बसेका देवराज चालिसे पनि क्षेत्रीय अधिवेशन पछि आफ्नो पक्षमा माहोल बन्न सक्ने अनुमान गर्दै विभिन्न गुट–उपगुटका नेतासंग आन्तरिक छलफलमा व्यस्त छन् । उनलाई पार्टीको संस्थापन वा देउवा समूह मध्ये कसले साथ दिने भन्ने एकिन नभएकोले उनको उम्मेदवारीमाथि अधिकांशले शंका व्यक्त गरिरहेका छन् । चालिसेको चर्चा कार्यकर्ता माझ चलेपनि उनी जोखिम मोलेर राजनीति गर्न चाहँदैनन् । त्यसैले उनले सभापतिमा उम्मेदवारी दिने सम्भावना अत्यन्त कम रहेको कतिपयको भनाइ छ । अघिल्लो अधिवेशनमा पनि शुक्रराजसंग आफूलाई सभापतिमा समर्थन गरिदिन बारम्बार आग्रह गरेको तर शुक्रराजले अन्तिम अवस्थामा पोषनाथलाई उम्मेदवार बनाउने भएपछि चालिसेले शुक्रराजकै रिसमा यज्ञबहादुर थापालाई समर्थन गर्न पुगेका थिए । तर उनी आफै उम्मेदवार बन्न भने आँट गरेनन्।  यसपटक पनि चालिसेको समर्थन पाउने उम्मेदवारलाई चुनाव जित्न सजिलो हुने कतिपय बताउछन् ।
विशेषगरि सिधा प्रतिस्पर्धामा शुक्रराज शर्मा र कृष्ण केसीलाई लिइने गरेको भएपनि क्षेत्रीय अधिवेशनको परिणामले शर्मा उत्साहित देखिएका छैनन् । क्षेत्र नं. १ मा शुक्रराजका सहितको टीमले उठाएका प्रकाश खनाललार्य वीर्जमान गुरुङले हराउनु, क्षेत्र नं. ३ मा पनि शुक्रराजले समर्थन गरेका पुण्डरी बराललाई विजयराज आचार्यले सभापतिमा हराउनुले मात्र नभइ क्षेत्र नं. २ मा शुक्रराजको समर्थन प्राप्त माधव बाँस्तोलालाई पुष्पेन्द्र पाण्डेले कडा टक्कर दिएको र क्षेत्र नं. ४ मा पनि शर्माको भतिजा पोषनाथलाई मनोज गुरुङले त्यस्तै टक्कर दिएकोले पनि शुक्रराज उत्साहित हुन नसकेका हुन् ।
कास्कीमा संस्थापन पक्षका कांग्रेस कार्यकर्ताको मत लिएर चुनाव जित्ने दाउमा लागेका शुक्रराजले पछिल्लो समयमा केन्द्रमा शेरबहादुर देउवालाई समर्थन गर्ने निश्कर्षमा पुगेपछि उनलाई मत दिन खाज्ने संस्थापनका नेता कार्यकर्ता सशंकित भएका छन् । क्षेत्र नं. ४ को निर्वाचनमा मतदान हुनुअघि पोषनाथको विपक्षमा माहौल देखिएपछि शुक्रराजले वरिष्ठ नेता शेरबहादुर देउवालाई टेलिफोन गरि हार गुहार गरेका थिए । उनले महाधिवेशनमा आफूले सकेको समर्थन गर्ने विश्वास देउवालाई दिलाउँदै त्यसका लागि मनोज गुरुङको उम्मेदवारी फिर्ता गराइदिन आग्रह गरेको कास्कीका देउवा पक्षका नेताहरुले बताएका छन् । त्यस लगत्तै नेता देउवाले पनि कांग्रेसका पुराना नेता खेमराज पौडेललाई टेलिफोन गरि मनोज गुरुङको उम्मेदवारीका बारेमा चासो राखेको बताइन्छ । यसै सन्दर्भमा नेता खेमराज पौडेलले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै आफूलाई नेता देउवाले टेलिफोन गरि गुरुङको उम्मेदवारी फिर्ता गराउने सम्बन्धमा कुरा गरेको भएपनि आफूले उम्मेदवारी फिर्ता गर्न धेरै ढिलो भैसकेको र कार्यकर्ताको चाहना अनुसार नै गुरुङले उम्मेदवारी दिएको कारण फिर्ता नहुने जवाफ दिएको बताए ।
यो विषयले पनि शुक्रराजले आफू चुनाव जित्नका लागि जोसकुै संग पनि हार गुहार र याचना गर्ने अवस्था देखिएको छ । तर कास्कीको राजनीतिमा शुक्रराजकै प्रवृत्तिका कारण कांग्रेसबाट अलगिएर प्रजातान्त्रिक कांग्रेसमा पुगेकाहरुका साथै लामो समय शुक्रराजले जिल्लाको नेतृत्व गर्दा उनको कार्यशीलीप्रति असन्तुष्टि प्रकट गर्दै देउवा समूहमा लागेकाहरुले शुक्रराजलाई देउवापक्षकै उम्मेदवार बनाएपनि मत नदिने सम्भावना छ । त्यसोत शुक्रराजकै कारण कास्कीको राजनीतिमा स्थापित भएका पूर्व सहायक मन्त्री प्रकाशबहादुर गुरुङ यतिबेला जुनसुक हालतमा पनि शुक्रराजलाई सभापति बन्न नदिने कसरतमा लागिरहेका छन् । पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ४ बाट कांग्रेसको उम्मेदवार बनेका प्रकाशलाई हराउन शुक्रराजले सार्वजनिक रुपमा वक्तव्य वाजी समेत गरेको र कांग्रेस कार्यकर्तालाई समेत प्रकाश गुरुङलाई भोट नदिन दवाव दिएकै कारणले गुरुङको पराजय भएको गुरुङले बुझेका छन् । त्यसको बदला लिन गुरुङले उपयुक्त समय यो महाधिवेशनलाई ठानेका छन् । यी विभिन्न कारण शुक्रराजले आफ्नो उम्मेदवारीलाई उत्साहपूर्वक घोषणा गर्न नसकेपनि शनिबार आफ्नो गुटका सीमित व्यक्तिहरु माझ अब सभापतिमा उम्मेदवारी दिनुपर्ने बाध्यता आएको बताएका थिए ।
यता, कृष्ण केसी भने आफू संस्थापन पक्षको उम्मेदवार भएको भन्दै मतदाता समक्ष गइरहेका छन् । शुक्रराजको द्वैध चरित्र कार्यकर्ता र मतदाताहरुले राम्रोसंग बुझेमा आफूलाई चुनाव जित्न सजिलो हुने विश्लेषण केसीको छ । त्यसमाथि कास्की क्षेत्र नं. १ मा शुक्रराजको पक्षमा रहेर आप्mनो विरोध गर्ने यज्ञबहादुर थापा र जीवन परियारको उम्मेदवार प्रकाश खनाललाई हराएर वीर्जमानलाई स्थापित गराएपछि केसी थप उत्साहित बनेका छन् । उनले क्षेत्र नं. १ बाट अत्यधिक र अन्य क्षेत्रबाट पनि बहुमत प्राप्त गर्ने दावी गरेका छन् । त्यसो त शुक्रराजले पनि आफ्नो  क्षेत्रमा सबैभन्दा बढी मत प्राप्त गरेका कारण आफूलाई नै धेरै मत पर्ने दावी गरेका छन् । क्षेत्र नं. १ बाट करिब १०० मतमात्र पाएपनि आफूले चुनाव जित्ने विश्लेषण शुक्रराजको रहेको छ । तर केसी भने शुक्रराजलाई आफ्नो क्षेत्रबाट ३०÷४० भन्दा बढी भोट नजाने दावी गर्छन् ।
सभापतिका अर्का आकांक्षी गुरु बराल पनि देउवा पक्षको आधिकारिक उम्मेदवार बन्ने प्रयासमा छन् । उनले शुक्रराजको द्वैध चरित्र नेताहरुले बुझेकोले संस्थापन वा देउवा पक्षको आधिकारिक उम्मेदवार शुक्रराज बन्न नसक्ने अनुमान गरेका छन् । बरालले जिल्लाको विभिन्न गाउँ र वडामा प्रत्यक्ष रुपमा मतदातालाई भेट्ने अभियानलाई तीव्र पारेका छन् । उनले पार्टीको नेतृत्वमा परिवर्तन र युवालाई जिम्मेवारी दिनुपर्ने कुरामा जोड दिदै आएका छन् ।
अर्का युवा कृष्ण कार्की पनि सभापतिको दौडमा छन् । उनले आफूलाई यज्ञबहादुर थापा र देवराज चालिसले समर्थन गर्ने निश्चित भन्दै कार्यकर्तामाझ मत मागिरहेका छन् । उल्लेखित बाहेक कास्क्ी कांग्रेसको सभापतिको रुपमा चर्चामा अरुको नाम आएपनि उम्मेदवारी पर्ने सम्भावना देखिएको छैन । नेता खेमराज पौडेल, शोभियत बहादुर अधिकारी, रामचन्द्र त्रिपाठी आदिको नाम पनि कार्यकर्ताले सभापतिको रपमा चर्चामा ल्याइरहेका छन् ।

Post a Comment

 
Top