0
गोल्डेन न्यूज संवाददाता
एमाओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पोखराका तीन क्याम्पसमा रचनात्मक विरोध कार्यक्रम गरेको छ । कालोबजारीको अन्त्य, पेट्रोलियम पदार्थको सहज उपलब्धता, सबै किसिमका यातायातमा ४५ प्रतिशत विद्यार्थी सहुलियत कार्यान्वयन र भाडा समायोजनको माग गर्दै क्रान्तिकारी विरोधमा उत्रिएको हो । पोखराको लामाचौरस्थित इन्जिनियरिङ  क्याम्पस, हरियोखर्कस्थित वन क्याम्पस र सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा क्रान्तिकारी विद्यार्थीहरु विरोधमा उत्रिको जिल्ला अध्यक्ष नारायण बडालले जानकारी दिए । उनीहरु आँखामा कालोपट्टी बाँधेर र कपासले कान बन्द गरेर विहान ९ देखि १० बजेसम्म १ घण्टा विरोधमा उत्रिएका थिए । जनताको समस्यामा सरकारले आँखा चिम्लेर र कान बन्द गरेर बसेकोले सांकेतिक रुपमा विरोधमा उत्रिएको अध्यक्ष बडालले बताए । यी मागहरु सरकारले नसुने अझै सशक्त आन्दोलनमा उत्रिने उनले जनाए । इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीका इकाई अध्यक्ष लोचन देवकोटा, वन क्याम्पसमा इकाई अध्यक्ष दिपेश शर्मा र जनप्रियमा इकाई संयोजक विप्लव भण्डारीको नेतृत्वमा विरोध कार्यक्रम सम्पन्न भएको थियो ।
जनप्रिय बहुमुखीमा ज्ञापनपत्र
एमाओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा १५ बुँदे मागपत्र पेश गरेको छ । शुक्रबार क्रान्तिकारीका क्याम्पस इकाई संयोजक विप्लव भण्डारीले क्याम्पस प्रमुख विरञ्जी गौतमलाई मागपत्र बुझाएका हुन् । क्रान्तिकारीले बिबिएस प्रथम वर्षका विद्यार्थीको भर्ना तथा मासिक शुल्कमा भएको बृद्धि तुरुन्त हटाउनुपर्ने, जनप्रियबाटै दश जोड दुई उत्तीर्ण विद्यार्थीहरुलाई बिबिएमा प्राथमिकता दिनुपर्ने, प्रत्येक संकायमा शैक्षिक सत्रको अन्त्यमा शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने माग गरेको छ । मागपत्रमा पुस्तकालयमा भएका पुराना संस्करणका पुस्तकहरुको सट्टा नयाँ संस्करणका पुस्तकहरु ल्याउनुपर्ने, नपुगेका पुस्तक थप्नुपर्ने, विद्यार्थीले तिर्ने शुल्कको अनुपातसँगै सम्पूर्ण संकायमा विद्यार्थीहरुले पाउने सुविधा बृद्धि गर्नुपर्ने, कम समय अध्यापन गराउने प्राध्यापकलाई बढि तलब, सेवासुविधा उपलब्ध गराउने परिपाटीको अन्त्य गर्नुपर्ने लगायतका माग समावेश छन् ।    
क्रान्तिकारी का जिल्ला सहसचिव समेत रहेका विप्लव भण्डारीले छात्रवृत्ति, ल्याव, भौतिक संरचना, खेलकुद, सूचना केन्द्र, सरसफाईल गायतमा सम्बन्धित रहेर मागपत्र पेश गरेको बताए । उनले उक्त मागहरुको सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिए । मागपत्र बुझ्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको आफ्नै सीमा र समस्याहरु भएकोले उचित मागहरुको सम्बोधन गर्न तयार रहेको बताएका थिए ।
पोखरा इन्जिनियरिङ्गमा तालावन्दी
पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा अखिल (क्रान्तिकारी) ले अनिश्चितकालिन तालाबन्दी गरेको छ । क्रान्तिकारीको क्याम्पस इकाई समितिले माग सम्बोधन नभएको भन्दै शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । 
क्रान्तिकारीले केही समय अघि होस्टेलमा तत्काल नामावली प्रकाशन गर्नुपर्ने, लाइब्रेरीमा पुस्तकहरुको समस्या समाधान गर्नुपर्ने, क्याम्पसलाई इन्जिनियरिङ केन्द्र बनाउने कुरामा प्रशासनले पहल गर्नुपर्ने लगायतका माग राखेको थियो । लामो समयसम्म पनि प्रशासनले आफ्नो मागप्रति वेवास्ता गरेकोले तालाबन्दी गर्नुपरेको इकाई क्रान्तिकारीका इकाई अध्यक्ष लोचन देवकोटाले बताए । उनले माग सम्बोधन भएर कार्यान्वयन नहुँदासम्म तालाबन्दी नखोल्ने जानकारी दिए ।

Post a Comment

 
Top