0
गंगाधर पराजुली
पोखरा २५ माघ ।
नेपाली कांग्रेस कास्कीको सभापतिमा कृष्ण केसी निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचन परिणाम
अनुसार केसीले ३६९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी शुक्रराज शर्माले ३२८ मत प्राप्त गरे । यसैगरी सचिवमा सुदीपमोहन भट्टराईले २३७ मत प्राप्त गरि विजयी भए उनका निकटतम प्रतिद्वन्दी विष्णुप्रसाद पौडेलले २३० र दुर्गा तिमिल्सिनाले १९७ मत ल्याए । त्यसै गरि कोषाध्यक्षमा लक्ष्मी पाण्डेले ३ ४७ मत ल्याउदै विजयी भएकी छन् । उनका प्रतिद्वन्दी बोधबहादुर कार्कीले ३२४ मतमात्र प्राप्त गरेका थिए ।
कृष्ण केसी आफू संस्थापन पक्षको रहेपनि उनको विरुद्धमा संस्थापन पक्षका नेता भनिएका कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद जीवन परियार र निवर्तमान सभापति एवं सांसद यज्ञबहादुर थापासहित उनीहरुका ुसमर्थक खुलेर लागेका थिए। त्यतिमात्र नभएर सभापतिको चाहना गरेपनि उम्मेदवारी दिन नसकेका र आसन्न महाधिवेशनमा  संस्थापनको तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्न खोजेका देवराज चालिसे समेत केसीको विरुद्ध थिए । हाल देउवा पक्षमा लागेका पूर्व राज्य मन्त्री महादेव गुरुङ सहित केही देउवा पक्षका नेताहरुले समेत केसीको विरोध गरि शुक्रराज शर्मालाई खुला समर्थन गरेको भएपनि शर्मा ४१ मतले पछाडि परे । कास्की कांग्रेसमा वर्चस्व कायम गरेका भनिने शर्माको पराजयले संस्थापन पक्षका नेता थापा, परियार र चालिसेलाई मात्र नभइ देउवा पक्षका महादेव र शोभियतबहादुर अधिकारीलाई समेत चुनौती दिएको छ ।
केसीलाई संस्थापन पक्षका मानिने पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट तथा देउवा पक्षका नेता खेमराज पौडेल र प्रकाश बहादुर गुरुङ लगायतले भने खुलेर समर्थन गरेका थिए । 
आइतबार केसी र शर्माले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि आफूलाई देउवा पक्षका मानिने गुरु बराल र अर्का युवा कृष्ण कार्कीले समेत उम्मेदवारी स्थगित गरे । त्यसपछि विभिन्न खाले कोठे बैठक हुँदै अन्तिम समीकरण बनेको थियो । जसअनुसार शुक्रराज शर्माले देवराज चालिसेसंग समर्थन लिएर चालिसे निकट विष्णु पौडेललाई सचिवमा र यज्ञबहादुर थापाको समर्थन लिएर थापाका आफन्त बोधराज कार्कीलाई कोषाध्यक्षमा उम्मेदवार तय गरेका थिए । त्यसअघि क्षेत्र नं. १ मा सभापतिको चाहना गरेको सुदीपमोहन भट्टराईलाई सांसद थापा र परियारले रोकेर प्रकाश खनाललाई क्षेत्रीय सभापतिको उम्मेदवार बनाएका थिए । थापा र परियारको प्रयासका बाबजूद क्षेत्रीय सभापतिमा खनाल वीर्जमान गुरुङसंग पराजित भए । आफूलाई क्षेत्रीय सभापतिमा उम्मेदवारी दिन रोक लगाएपछि सुदीपमोहनले जिल्ला सचिवमा उम्मेदवार बन्ने घोषणा गरेकोमा त्यसलाई थापा र परियारले रोक्न सकेनन् तर शुक्रराज शर्मालाई जिताउने शर्तमा थापा र परियार सहित उनीहरुका समर्थक प्रकाश खनाल समेतले चालिसेको उम्मेदवार मानिएका विष्णु पौडेललाई जिताउन हर सम्भव प्रयास गरेका थिए । तर नेविसंघको राजनीतिमा क्रियाशीलता देखाएका र पछिल्लो पटक क्षेत्रीय सभापतिका लागि तयारी गरेका भट्टराईले अन्य २ जनालाई परास्त गर्न सके । भट्टराई केसी र शर्माको प्यानल भन्दा बाहिर रहेर निर्वाचनमा होमिएका थिए । 
जिल्ला अधिवेशनका क्रममा ४ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने सदस्यहरु मध्ये क्षेत्र नं. १ बाट ओमप्रकाश गुरुङ, विन्दु भण्डारी,रामबाबु भण्डारी, देवेन्द्र रानाभाट र नारायणकुमार श्रेष्ठ रहेका छन्। त्यस क्षेत्रबाट गौरी सापकोटा महिला सदस्यमा निर्वाचित भएकी छन् । 
क्षेत्र नं. २ बाट खुल्ला तर्फ हरि आचार्य, नविन सिग्देल, मदनबहादुर खत्री, मिनबहादुर गिरी र उमेश पराजुली तथा महिलातर्फ अनिता तिमिल्सिना क्षेत्र नं. ३ बाट खुल्लातर्फ रङ्गीला आचार्य, भीम गौतम, दामोदर अधिकारी, युवराज लामिछाने युवक, रामराज लामिछाने र महिलातर्फ नम्रता बराल निर्वाचित भए । यसैगरी क्षेत्र नं. ४ बाट विष्णुबहादुर क्षेत्री, शंकर ढुङ्गाना, अम्मरबहादुर कार्की, कृष्ण तिमिल्सिना र भरतराज अधिकारी खुल्लातर्फबाट एवं विजया चञ्चला रेग्मी महिलातर्फबाट निर्वाचित भएका छन् । 
पार्टीको जिल्ला सभापतिमा निर्वाचित भएपछि केसीले गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै निर्वाचनमा विजयी हुन नसकेका साथीहरुलाई संगै लिएर पार्टीको सुदृढीकरणमा लाग्ने बताए । पार्टीलाई एकतावद्ध र सुदृढ बनाउन आफ्नो नेतृत्वको टीमले सदैव प्रयास गर्ने उनले स्पष्ट पारे । नवनिर्वाचित सभापति केसी पार्टीको निवर्तमान जिल्ला सचिव पनि हुन् । 
पार्टीको जिल्ला अधिवेशनमा जिल्ला सदस्यका उम्मेदवार बनेका निवर्तमान सह–सचिव मुकुन्द बाँस्तोला सहितका केही नेताहरु पराजित भएका छन् । यसैगरी नेपाली कांग्रेस पोखरा उपमहानगर समितिका निवर्तमान सभापति विष्णुहरि बराल, वडा नं. ६ का पूर्व सभापति दीपकवीर कुँवर, वडा नं. ५ का पूर्व सभापति भरतराज पौडेल, पार्टीका पूर्व क्षेत्रीय सचिव रघुनाथ पराजुली, तरुण दलका पूर्व जिल्ला सभापति लक्ष्मी बहादुर भट्टराई, महिला संघकी क्षेत्रीय सभापति शारदा गिरी लगायतका नेताहरु पनि जिल्ला सदस्यमा पराजित भए ।

Post a Comment

 
Top