0
भीष्मराज ओझा
लोकतान्त्रिक मूल्य मान्यताका हिमायती सुशील कोइरालाले मुलुक र जनताका लागि गरेको अतुलनीय योगदानले नेपाली जनमानसमा उनको चिरकाल पर्यन्त सम्झना दिलाइरहने छ । नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएपछि उनी अब हामीमाझ केही दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ रहेका कोइरालाको सोमबार राति १२ः५० बजे महाराजगञ्ज स्थित आफ्नै निवासमा आकस्मिक निधन भएको थियो । लोकतान्त्रिक आन्दोलनमा लामो समय उनले निर्वाह गरेको भूमिका सदैव स्मरणीय रहिरहनेछ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउनु भएका श्रद्धेय कोइराला काँग्रेसका लागि मात्र होइन, सिंगो देशका निम्ति बोली र व्यवहारमा एकरुपता भएको उदाहरणीय नेता थिए । उनलाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको संक्रमणकालीन राजनीतिको बेला संविधानसभाबाट जारी गर्ने अभियानको मुख्य नेताको रुपमा चिरपर्यन्त सम्झनेछन् । संविधान निर्माण पछि पनि संविधानको कार्यान्वयन र यसको निरन्तर परिमार्जनद्वारा संविधानको व्यापक स्वीकारोक्ति बढाउन कोइरालाले संविधान संशोधन प्रक्रियाको समेत नेतृत्व गरे । उनले आन्दोलनरत सबै पक्षलाई एकता, सहमति र सहकार्यको बाटोमा संलग्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे । मधेसमा आन्दोलनरत पक्षलाई निरन्तर संवाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेश र तराईका जनताका भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म उनले निर्वाह गरेको भूमिका अविस्मरणीय छ । आजीवन निष्ठा, नैतिकता र सरल जीवन पद्धति अङ्गालेका कोइराला विसं १९९६ साउन २८ गते मोरङको विराटनगरमा जन्मिका थिए । आजीवन अविवाहित रहेका कोइराला ठाकुरराम हाइस्कुल वीरगन्जमा अध्ययनरत रहँदा कांँग्रेसले अङ्गीकार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा प्रवेश गरेका थिए । विसं २००७ देखि नै राजनीतिमा संलग्न तथा सक्रिय कोइरालाले प्रधानमन्त्रीबाहेक कुनै पनि सार्वजनिक लाभको पद ग्रहण गरेनन् । विसं २०७०  माघ २७ गते प्रधानमन्त्री बनेका कोइरालाले आफ्नो २० महिने प्रधानमन्त्रीत्व कालमा पनि थोरै तर स्मरणयोग्य कार्य गरे । 
कोइराला नेतृत्वको सरकारले वैशाख १२ को भूकम्पछिको पुनःनिर्माणका लागि सहयोग जुटाउन गत असार १० गते राजधानीमा ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना गरेको थियो । सो सम्मेलनमा कोइराला सरकारप्रतिको अन्तर्राष्ट्रिय दातृ निकायको विश्वासबाट करिब रु ४.४ खर्ब सहयोगको प्रतिबद्धता आएको थियो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न महत्वपूर्ण मानिएका सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका साथै पदाधिकारीको नियुक्ति कोइराला सरकारको उपलब्धि मान्न सकिन्छ । त्यस्तै, लामो समयदेखि भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुन नसकेको अवस्थामा उनकै पालामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमन भयो भने लामो समयको अन्तरालमा नेपालमा नै दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को १८आंैँ सम्मेलन सम्पन्न भयो । यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना र अरूण तेस्रो जलविद्युत् आयोजनाको भारतसँग परियोजना विकास सम्झौता (पिडिए)लाई सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । त्यसैगरी, नेपाल र भारतको सीमामा रहेको महाकाली नदीमा निर्माण हुने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको सम्बन्धमा २२ वर्षपछि पञ्चेश्वर विकास प्राधिकरण गठन गरी काम अगाडि बढाइएको थियो । विसं २०६७ मा काँग्रेसको १२औँ महाधिवशेनबाट सभापतिमा निर्वाचित कोइरालाकै नेतृत्वमा पहिलो संविधानसभामा खुम्चिएको काँगे्रस दोस्रो संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएपछि उनको उचाइ बढेको थियो ।कोइराला निवास महाराजगञ्ज, पार्टी कार्यालय सानेपा, दशरथ रङ्गशाला र आर्यघाटमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न दुई दिनसम्म देखिएको हजाराँैको नरनारीको घुइँचोले उनीप्रतिको जनमानसको प्रगाढ आस्था रहेको बुझ्न सकिन्छ । उनको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्ष तथा सत्मार्ग वर्तमान राजनीतिक नेतृत्वले आत्मसात् गर्नसक्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ । रासस

Post a Comment

 
Top