0
पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अकल्पनीय ढंगले महाराजगन्जस्थित आफ्नै निवासमा मंगलबार बिहान निधन भएको छ । लामो समयदेखि जिब्रोको क्यान्सरबाट पीडित रहेका कोइराला पछिल्लो समय निमोनियाको ज्वरोले थलिएका थिए । कोइरालाको अकस्मात् निधन भएको खबरले कांग्रेसजन मात्र होइन, सिंगो मुलुक नै मर्माहत भएको छ । कांग्रेसको १३औँ महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसले आफ्नो अभिभावक गुमाएको छ । कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीहरु धेरै भएकाले पार्टीको आन्तरिक व्यवस्थापन मिलाउन उनले पुनः सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेका थिए । कांग्रेसमा कोइराला विरासतको निरन्तरताका लागि सुशिल नै उपयुक्त र सबैभन्दा अनुभवी राजनीतिज्ञ मानिएका थिए । विसं १९९६ साउन २८ गते माता कुमुदिनी र पिता बोधप्रसादका ज्येष्ठ सुपुत्रका रुपमा विराटनगरमा जन्मिएका कोइराला विसं २०७० माघ २७ गते ३७औँ प्रधानमन्त्रीमा निर्वाचित भए । उनकै नेतृत्वकालमा मुलुकले संविधानसभामार्फत ऐतिहासिक नयाँ संविधान प्राप्त गर्न सफल भयो । सुशिल सादगीपूर्ण रुपमा सन्त राजनीतिज्ञ मानिन्छन् । विसं २०१० देखि बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रेरित भई राजनीतिमा सक्रिय सुशिलले २०१२ सालमा वीरगन्जमा सम्पन्न छैटौँ महाधिवेशनदेखि अविछिन्न रुपमा कांग्रेसको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श अंगीकार गर्दै आए । विसं २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै भद्र आन्दोलनमा सरिक भएका कोइराला २०१७ देखि २०३७ सालसम्म भारत निर्वासनमा बिताएका थिए । २०३७ सालमा जनमत संग्र्रह हुनुअघि गिरिजाप्रसाद कोइरालासँगै आममाफी पाएका उनी बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय रहे । २०४२ सालको सत्याग्रहमा सक्रिय कोइराला २०४६ सालको जनआन्दोलनमा समेत अग्रपंक्तिमा थिए । ०५९ सालमा शाही ‘कु’ पश्चात् शान्तिपूर्ण आन्दोलन र सातदलीय आन्दोलनमा सक्रिय रहेका उनी ०६२÷६३ को आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ वर्षभन्दा बढी जेलजीवन बिताएका थिए । ०४५ देखि केन्द्रीय सदस्य हुँदै विदेश विभाग प्रमुख, ०५३ मा भएको नवौँ महाधिवेशनबाट महामन्त्री, ०५५ मा उपसभापति भए । ०६४ मा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्दै १२औँ महाधिवेशनबाट सभापतिमा निर्र्वािचत भएका थिए । प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा सुशिलको भौतिक शरीर नरहे पनि उनले नेपाली राजनीतिमा पु¥याएको योगदान अविष्मरणीय छ । संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी कांग्रेसको सिद्धान्तमा अविचलित र अविछिन्न रहे । लामो समयदेखि क्यान्सर रोगको उपचाररत ७६ वर्षीय अविवाहित कोइराला पार्टीको १३औँ महाधिवेशन तयारी र नेतृत्वमा अन्तिम समयसम्म जुटिरहेका थिए । उनलाई पुनः पार्टी सभापतिका प्रत्याशीका रुपमा समेत हेरिएको थियो । राष्ट्रवादी नेता कोइरालाको निधनले कांग्रेसमा अपूरणीय क्षति पुगेको छ । विसं ०४६ सालको जनआन्दोलनपछि ०४८ र ०५६ सालमा बाँके क्षेत्र नं २ बाट सांसदमा विजयी भएका कोइराला सत्ता र शक्तिभन्दा बाहिर रहँदै आए । ०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि परराष्ट्रमन्त्री र उपप्रधानमन्त्री बन्न अस्वीकार गर्दै पार्टीमै समर्पित भए । संविधानसभाको दोस्रो निर्वाचनमा बाँके ३ र चितवन ४ बाट सभासदमा विजयी बने । ६ दशकसम्म निरन्तर राजनीतिमा समर्पित कोइराला, इमानदारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठानेर सधैँ प्रशंसनीय रहे । समकालीन नेताहरुमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने नेता सम्भवतः उनीमात्रै हुन् । उनको सम्पत्तिको नाउँमा तीनवटा मोबाइल रहेको खबर सार्वजनिक भयो । विश्वकै गरिब प्रधानमन्त्रीको उपमा पाएका सुशीलले महाप्रस्थान गरेका छन् । उनको दिवगंत आत्माले शान्ति पाओस्, सादगीपूर्ण नेता सुशिलप्रति हार्दिक श्रद्धाञ्जली !

Post a Comment

 
Top