0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नंं १५ की १९ वर्षीया यरुना पुन ‘नेहा’ हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेपनि अनुसन्धान प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विहीवार पोखरामा प्रदर्शन भएको छ । पक्राउ परेका अभियुक्त कृतन खड्गीको बयानका आधारमा प्रहरीले सार्वजनिक गरेको घटनाविवरण प्रति पनि उनीहरुले असन्तुष्टी जनाएका छन् । प्रहरीको सार्वजनिक गरेको घटनाविवरण पूर्ण नभएको र हत्यामा अन्य व्यक्तिहरु पनि संलग्न भएको उनीहरुको दाबी छ । युवतीमाथि सामुहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै उनीहरुले प्रहरीको अनुसन्धान माथि नै प्रश्न उठाएका छन् । दवाव स्वरुप मानवअधिकार चोकबाट सुरु भएको ¥याली चिप्लेढुङ्गा, गैह्रापाटन, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सिर्जनाचोक, राष्ट्रबैंकचोक हुँदै जिल्ला प्रशासन अघि गएर टुङ्गिएको थियो । पुन समाज पोखराको अगुवाईमा भएको ¥यालीमा अधिकारर्की, विद्यार्थी, आमा समूहलगायतको उपस्थिति थियो । उनीहरुले हत्यारालाई कारबाही गर, पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर, सुरक्षित समाज निर्माण गर, महिला हिंसा अन्त्य गरलगायतका नारा लेखिएको प्लेकार्ड तथा ब्यानर बोकेका थिए । ¥यालीपछि पुन समाज पोखरा र महिला मानवअधिकार रक्षक सञ्जालले जिल्ला प्रशासन कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान विवरण गलत भएकाले पुन अनुसन्धान गरी घटनामा संलग्न अन्यलाई पनि कानुनी दायरामा ल्याउन माग गरेका छन् । मृतक युवतीको शव वैज्ञानिक परीक्षण गर्नुको साथै पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, अनुसन्धानपछि थप अभियुक्त पक्राउ गरी सजाय दिनुपर्ने, घटनास्थलमा शवसँगै फेला परेका कपडाको वैज्ञानिक परीक्षण गर्नुपर्ने र अपराधीलाई कानून अनुसार आजीवन कारावासको सजाय हुनुपर्ने उनीहरुको माग छ ।
ज्ञापनपत्र बुझाउँदै पुन समाजका कास्की अध्यक्ष क्या. बलबहादुर पुनले घटनास्थलको प्रकृति हेर्दापनि अन्य स्थानबाट बलात्कारपछि हत्या गरी सो स्थानमा ल्याएर फालिएको आशंका गरिएकाले गहिरो अनुसन्धान गर्न आग्रह गरे । प्रहरीले अभियुक्तलाई उन्मुक्ति दिने, मृतकको चरित्र हत्याउने र घटनालाई फित्तला बनाउने गरी अनुसन्धान गरेको उनको आरोप छ । घटनामा संलग्न सबै अभियुक्त पक्राउ परेर कारवाही सुनिश्चितता नभएसम्म शव नउठाउने पीडितको अडान छ । युवतीको शव घर नजिकै हत्या गरि फालिएको अवस्थामा माघ १९ गते विहान भेटिएको थियो । घटनामा संलग्न अभियुक्तलाई प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो । शव अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा छ ।





Post a Comment

 
Top