0
गोल्डेन न्यूज संवाददाता
बैशाख १२ को भूकम्प जाँदा गोरखा, खरिबोटकी ७ वर्षिया आशिका गुरुङ्ग भत्किएको आफ्नैं घरभित्र पुरिएकी थिइन् । उनका बुवा लालबहादुर र आमा रनमायापनि घरमै पुरिएका । सानो शरिर भएकाले आशिका जसोतसो खोतालखुतुल गर्दै बाहिर निस्किइन् । र उनले गाउँलेलाई हारगुहार गरिन् । गाउँलेले उनका बाबुआमालाई त्यहाँबाट सकुसलै उद्धार गरे । बाबुको घाँटि भाँच्चिएको रहेछ । आमाको हातखुट्टा । गाउँलेको सहयोगमा उनले बाबुआमालाई बचाइन् मात्र भोलिपल्ट आएको होलिकोप्टरमा राखेर उपचारका लागि पोखरा पनि ल्याइन् । उनको यो कथाले समाजसेवी गणेशबहादुर भट्टराईको मन छोयो । उनले ति बालिकालाई हिरोको उपाधी दिंदै उनलाई उच्च शिक्षासम्म सहयोग गर्ने घोषणा गरे । पाँच कक्षासम्म बार्षिक ६ हजार, पाँचपछि १० हजार र एसएलसीपछि पोखरामै ल्याएर पढाउने भन्दै उनलाई १ वर्षको आर्थिक सहयोग प्रदान गरे । त्यस्तै आवर आविष्कार स्टेशनरी एण्ड स्पोर्टस् किट्स नागढुङ्गाका प्रोपाइटर बिनोद लामिछानेले पनि उनलाई आवश्यक वार्षिक रुपमा स्टेशनरी सहयोग गर्ने घोषणा गरे । यसैगरी पर्यटन राहत तथा उद्धार समितिले गोरखाको खरिबोट गाविस–२ स्थित केप्रुङ्गका भूकम्प प्रभावितहरुलाई न्यानो लुगा, खाद्यान्न तथा औषधि वितरण गरेको छ । २०७२ बैशाखमा आएको महाभूकम्पमा परि गाउँका ७३ घर पूर्णरुपमा क्षति भएका थिए घरमा पुरिएर हेमकुमारी गुरुङ्गको मृत्यु भएको थियो । समितिले गाउँमा ३ लाख बराबरको त्रिपाल, कम्मल, खाद्यान्न तथा औषधि वितरण गरेको हो । समितिका संयोजक गणेशबहादुर भट्टराईको पहलमा संकलित राहत सामग्री आइतबार गाउँमै आयोजित एक कार्यक्रमका विच वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै संयोजक भट्टराईले भूकम्पका कारण पोखराले ठूलो भौतिक क्षति नव्यहोरेपनि पर्यटन उद्योगलाई भने ठूलै मार परेको बताए । भूकम्पको केन्द्रविन्दु गोरखा ठूलो पिडामा रहेको बताउँदै यस ठाउँलाई सहयोग गर्न पाउँदा खुसि लागेको बताए । ‘एक नेपाली पिडामा पर्दा अर्को नेपालीले मानवियता प्रदर्शन गर्नुपर्दछ’–उनले भने । राहत संकलनमा जर्मनका पिटर जिगरले नगद २ लाख रुपैयाँ सहयोग गरेका थिए । सगरमाथा हेर्न नेपाल आएका उनी अहिले यतै बसेका छन् । कार्यक्रममा बोल्दै वडा संयोजक चित्रबहादुर गुरुङ्गले हालसम्म सरकारी सहयोग १० हजार रुपैयाँ प्राप्त भएको जानकारी दिए । स्थानीय समाजसेवी भिमलाल तामाङ्गले दैवि प्रकोप जहाँ पनि पर्न सक्छ बताउँदै पोखराले ठूलो गुण लगाएको बताए ।


Post a Comment

 
Top