0
गोल्डेन न्यूज संवाददाता
लागूऔषध नियन्त्रण ब्यूरो पोखराले पछिल्लो १५ दिनमा ३० किलो भन्दा बढी चरेश वरामद गरेको छ । माघ २१ गते पोखराको सराङकोटबाट १५ किलो ५ सय ग्राम चरेशसहित पाँच जना पक्राउ गरेको प्रहरीले बुधवार पुनः चार जनालाई १५ किलो चरेश सहित पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको विवरण अनुसार पक्राउ पर्नेमा मकवानपुर आग्रा २ का २९ वर्षीय चन्द्र कुमार लो, सोहि गाविस ३ का ३९ वर्षीय मान बहादुर लो, वडा नम्बर २ का ३१ वर्षीय बाबुलाल गोले र सोहि स्थानका २० वर्षीय सन्तोष खत्री रहेका छन् । उनीहहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरी टोलीले बुधवार पृथ्बीचोकबाट पक्राउ गरेको हो । गोले र खत्रीको साथबाट प्रतिब्यक्ति ७ किलो ५ सय ग्रामको दरले चरेश वरामद भएको प्रहरी निरीक्षक रविन्द्र गुरुङले जानकारी दिए । चन्द्र बहादुर र मान बहादुर मुख्य कारोवारी भएपनि गोले र खत्रीलाई भरियाको रुपमा प्रयोग गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई चरेश पोखरा सम्म ल्याएवापत प्रति ब्यक्ति १० हजार रुपैयाँ दिने प्रलोभन दिएको प्रहरी समक्ष बयान दिएका छन् । उनीहरुले मकवानपुरबाट पोखरा सम्म चरेश ल्याउने र बिक्री गर्ने गरेको सुचनाको आधार प्रहरीले पक्राउ गर्न सफल भएको हो । पोखराका अन्य लागूऔषध सँगै चरेशको पनि कारोवार हुने गरेको सुराकी पाएको प्रहरीले त्यस विरुद्धको अभियान तीब्र पारेको छ । पक्राउ परेका बिरुद्ध लागुऔषध मुद्धामा कार्बाही अघि बढाउने प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत १० केजी भन्दा बढी चरेश उत्पादन, तयारी र खरिद बिक्रीमा संलग्नलाई २ देखि १० बर्ष कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

Post a Comment

 
Top