0
गोल्डेन न्यूज संवाददाता
विचौलियाका कारण आफ्नो व्यापार व्यवसाय नै धरापमा पर्न लागेका भन्दै पोखरा उप–महानगरपालिका वडा नं. ९, नयाँबजारस्थित पोखरा सस्तो बजारका व्यवसायीहरुले बिहीबार देखि आन्दोलन शुरु गरेका छन् । २०६९ सालदेखि संगठित भइ व्यवसाय संचालन गर्दै आइरहेका उनीहरु मुख्यतः जग्गा भाडाको विषयले आन्दोलित भएका हुन् । करिब ५ रोपनी क्षेत्रफलमा रहेको सस्तो बजारमा २१७ व्यवसायी आवद्ध छन् । सस्तो बजारमा स्थापनाकाल देखि यसै विषयमा विवाद हुँदै आइरहेको थियो । सस्तो बजार रहेको जग्गा नेपाल वायु सेवा निगमको हो । उक्त जग्गामा विचौलियाले चलखेल गरेर पटक–पटक दुःख दिंदै आएको भन्दै सस्तो बजार व्यवस्थापन समितिको अगुवाइमा व्यवसायीहरुले आन्दोलन शुर गरेका हुन् । उनीहरुले बिहीबार सबै व्यवसाय बन्द गरि गेटमा कालो व्यानर टाँगेर आन्दोन शुरु गरे भने आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरे । छलफलका क्रममा व्यवसायीले आन्दोलन कुनैपनि हालतमा रोक्किनु नहुने, गोली नै खानु परेपछि तयार रहेको भन्दै उक्त जग्गा सस्तो बजारकै नाममा नपाउँदासम्म आन्दोलन जारी राख्नुपर्ने बताएका थिए । आन्दोलनका लागि तयारी छलफल गरेका व्यवसायीले क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाए । व्यवसायीले आफ्नो समस्याका बारेमा पोखरामा रहेका सबै सरकारी कार्यालमा ध्यानाकर्षण पत्र बुझाउने बताएका छन् । उनीहरुले कानूनी रुपमा निगमसंग आफै सम्झौता गरि व्यवसाय संचालन चाहेका छन् । व्यवसायीले कानूनी रुपमा निगम तयार भए जति पनि भाडा तिर्न तयार छन् । तर विचौलियाका कारण नेपाल वायु सेवा निगमले आफूहरुलाई वेवास्ता गर्दैै आएको व्यवसायीले गुनासो गरेका छन् ।  सस्तो वजार व्यवस्थापन समितिले उक्त जग्गा समितिकै नाममा पाउँ भनि केहीअघि नेपाल वायुसेवा निगममा निवेदन दिएको भएपनि कुनै प्रतिक्रिया नआएको समितिका अध्यक्ष केशव भुजेलले बताए । नेपाल वायु सेवा निगमसंग विचौलियाले गरेको सम्झौता यहि चैत्र मसान्तभित्र सकिंदैछ । सम्झौता सकिन लागेपछि वायु सेवा निगमले आगामी ५ वर्षका लागि भाडामा दिने लिलाम बढाबढको सूचना जारी गरिसकेको छ । वायु सेवाले जारी गरेको सूचनामा प्रतिमहिना कम्तिमा ३ लाख रुपैयाँ कायम हुनुपर्ने भनि स्पष्ट पारेको छ । निगमको यो सूचनाले सस्तो बजारका व्यवसायी आतङ्कित बनेका छन् । लिलाम बढावढ सूचनामा कम्तिमा ३ लाख रुपैयाँ तोकिनु र सस्तो बजार व्यवस्थापन समिति संग कुनैपनि सल्लाह नगरि सूचना जारी गर्नु निगमका कर्मचारी विचौलियाको चंगुलमा फँसेको आशंका व्यवसायीले गरेका छन् ।  यसअघि मासिक ६५ हजार रुपैयाँमात्र बुझ्दै आएको निगमले एक्कासी यति ठूलो रकममा टेण्डर आह्वान गर्दा टेण्डर हाल्ने विचौलियाले बढाबढमा काम गर्नुपर्ने भएकाले आफूहरुको व्यापारले भाडा धान्ने नसक्ने स्थितिमा पुग्ने व्यवसायीको गुनासो छ । व्यवसायीका अनुसार सस्तो बजार रहेको निगमको जग्गामा भरत गुरुङले ठूलो चलखेल गरि व्यवसायीलाई पटक–पटक अनावश्यक दुःख दिनुका साथै धम्क्याउने समेत गरेका छन् । उनी हाल एमाले निकट रहेको बताइन्छ । राजनीति र पैसाको आडमा उनले चलखेल गर्दै आएका छन् । चलखेल गरेर भरत गुरुङले नेपाल वायुसेवा निगमसंग यसअघि ३ पटक सम्झौता गरि मोटो रकम अशुली गरिसकेका छन् । उनले सस्तो बजार संचालन भएको पहिलो १ वर्ष मासिक २ लाख ५० हजार रुपैयाँ  लिएका थिए भने नेपाल वायुसेवा निगमलाई जम्मा ६५ हजार रुपैयाँ बुझाउने गरेका थिए ।दोस्रो वर्ष पनि उनै भरत गुरुङ निगमसंग सम्झौता गर्न सफल भए । दोस्रो वर्षमा उनले सस्तो बजारको भाडा बढाएर मासिक ३ लाख ७ हजार रुपैयाँका दरले अशुल्न थाले भने निगमलाई पुरानै रकम अर्थात ६५ हजार रुपैयामात्रै बुझाए । यस्तै पछिल्लो ३ वर्षपनि उनै भरत गुरुङले सम्झौता गरि सस्तो बजारको जग्गा भाडा  बढाएर ८ लाख पु¥याए भने ३० लाख रुपैयाँ धरौटी रकम समेत उठाउन सफल भए । त्यस वखत व्यवसायीले विरोध गर्दा हट्न धम्की दिंदै आप्mनो अडान कायम राखे । भाडा बढाएर ८ लाख पु¥याएका गुरुङले पछिल्लो ३ वर्षमा निगमलाई कति रकम बुझाए भन्ने जानकारी छैन । पछिल्लो केही महिनाअघि सस्तो बजार समितिले वायु सेवा निगमको केन्द्रमा डेलिगेसन गर्दा जग्गा भाडा १ लाख रुपैयाँ घटाएर ७ लाख रुपैयाँ अशुल्दै आइरहेको बताइन्छ । गुरुङले अझैपनि टेण्डर आफ्नै नाउँमा पारी सस्तो बजार रहेको जग्गाको भाडा दोब्बर बनाउन सक्ने आशंका व्यवसायीको छ ।








Post a Comment

 
Top